+
+
इतिहास :

फर्केर हेर्दा विश्वकप क्रिकेट

किशोर पोखरेल किशोर पोखरेल
२०८० असोज १२ गते ६:४९

क्रिकेटको मेगा इभेन्ट मानिने विश्वकप क्रिकेट यहि अक्टोवर- ५ देखि भारतमा सुरु हुँदैछ । दश राष्ट्र सम्मिलित यो विश्वकप २०१९ को विश्वकप जस्तै सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । पहिलो चरणमा हरेक राष्ट्रले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् र उक्त चरणको शीर्ष चार राष्ट्र सेमिफाइनल प्रस्थान गर्नेछन् ।

अर्को हप्ताको बिहीबारबाट सुरु हुने विश्वकपको उद्घाटन खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । उक्त खेलमा विश्वकपका दाबेदार मानिएका दुई ठूला टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड आमने- सामने हुनेछन् । यी दुई टोली नै २०१९ को विश्वकप फाइनलमा पनि भिडेका थिए जसमा आयोजक राष्ट्र इंग्ल्याण्ड बाउण्ड्री काउन्टको आधारमा विजेता बनेको थियो ।

निकै नै उच्च लयमा देखिएको इंग्ल्याण्ड न्यूजिल्याण्डको लागि ठूलै चुनौती बन्ने पक्का छ । तर, ठूला टुर्नामेन्टहरुमा आफ्नो औकातबाट पनि धेरै माथि उठेर खेल प्रदर्शन गर्ने न्यूजिल्याण्डलाई पनि सामान्य भने लिन मिल्दैन । त्यसैले, यी दुई हेबिवेटबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । एक लाख बत्तीस हजार दर्शक क्षमता रहेको नरेन्द्र मोदी स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसोको २:३० बजे सुरु हुनेछ ।

भारतमा हुन लागेको विश्वकपमा आयोजक राष्ट्र भारतसहित पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया, पूर्व विजेता इंग्ल्याण्ड र एसियाको पावर हाउस मानिने पाकिस्तान उपाधिको प्रमुख दाबेदारको रुपमा रहेका छन् । राम्रो लयमा रहेको दक्षिण अफ्रिका र न्यूजिल्याण्ड पनि विश्वकपको दावेदार टोलीमै पर्छन् ।

घरेलु मैदान र उच्च लएमा भएका कारण भारतको सम्भावना बलियो रहेको क्रिकेट पण्डितहरु बताउँछन् । तर, विश्वकप कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने राम्रो ज्ञान भएको अस्ट्रेलिया र पछिल्लो समय एकदिवसीय क्रिकेटको स्वरुप नै बदल्देको इंग्ल्याण्ड भने भारतको लागि ठूलो पर्खाल बन्न सक्छन् ।

वेष्ट इण्डिजलाई पहिलो विश्वकप

विश्वकप क्रिकेटको पहिलो संस्करण सन् १९७५ मा इंग्ल्याण्डमा भएको थियो । उक्त प्रतियोगिताको फाइनलमा क्लिभ लायोडको नेतृत्वमा रहेको वेष्ट इण्डिजले अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै उपाधि चुमेको थियो ।

म्यान अफ दि म्याच बनेका कप्तान लायोडले नै  फाइनलमा १०२ रनको शतकीय पारी खेल्दै आफ्नो टोलीलाई उपाधि जिताएका थिए ।

६० ओभरमा खेलिएको यो विश्वकपमा आठ रास्ट्र सहभागी भएका थिए । यस प्रतियोगितामा न्यूजिल्याण्डका ग्लेन टर्नरले सबैभन्दा बढी ३३३ रन बनाएका थिए भने अष्ट्रेलियाका ग्यारी गिल्मोरले सबैभन्दा बढी ११ विकेट हात पारेका थिए । प्रतियोगितामा जम्मा १५ वटा खेलहरु भएका थिए ।

विश्वकप क्रिकेट १९७९: वेष्ट इण्डिजलाई लगातार दोस्रो उपाधि

विश्वकप क्रिकेटको दोस्रो संस्करण १९७९ मा इंग्ल्याण्डमा भएको थियो । पुन: एक पटक वेष्ट इण्डिजले फाइनलमा आयोजक राष्ट्र  इंग्ल्याण्डलाई ९२ रनले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।

क्लिभ लायोडकै कप्तानीमा यो विश्वकप पनि खेलेको वेष्ट इण्डिजका लागि फाइनलमा म्यान अफ दि म्याच बनेका  भिभियन रिचार्ड्सले नट आउट १३८ रनको शतकीय पारी खेल्दै टोलीलाई जिताएका थिए  ।

आठ राष्ट्र सहभागी यो विश्वकपमा १५ खेल खेलिएको थियो । वेष्ट इण्डिजका गोर्डन ग्रिनिज २५३ रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए भने इंग्ल्याण्डका माइक हेन्ड्रिक १० विकेटका साथ उत्कृष्ट बलर बनेका थिए ।

विश्वकप क्रिकेट १९८३: भारत बन्यो च्याम्पियन

विश्वकप क्रिकेटको यो तेस्रो संस्करण पनि इंग्ल्याण्डमा नै आयोजना भएको थियो । भारतले जितेको यस  विश्वकपमा वेष्ट इण्डिज फाइनलमा पराजित भएको थियो । टुर्नामेन्टको मध्यम मानिएको टोली भारतले बलियो मानिएको वेष्ट इण्डिजलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

फाइनलमा ३ विकेट लिएर २६ रन बनाएका भारतका मोहिन्दर अमरनाथ म्यान अफ दी म्याच चुनिएका थिए । कपिल देवको कप्तानीमा उत्रेको भारतले सबैलाई चकित तुल्याउँदै उपाधि जितेको थियो । आठ राष्ट्र सम्मिलित यो प्रतियोगितामा २७ वटा खेलहरु भएका थिए ।

प्रतियोगितामा ३८४ रन सहित इंग्ल्याण्डका डेभिड गोवेर उत्कृष्ट ब्याट्स्म्यान बनेका थिए भने १८ विकेट सहित भारतका रोजर बिन्नी उत्कृष्ट बलर बनेका थिए ।

विश्वकप क्रिकेट १९८७: ५० ओभरको पहिलो विश्वकप

विश्वकपको चौथो संस्करण १९८७ को विश्वकप पहिलो पटक इंग्ल्याण्ड बाहिर भएको विश्वकप हो जसको आयोजना एशियन राष्ट्रहरु भारत र पाकिस्तानले संयुक्त रुपमा गरेका थिए । वेष्ट इण्डिज फाइनलमा नपुगेको यो पहिलो विश्वकपको विजेता अस्ट्रेलिया बनेको थियो ।

एलन बोर्डरको कप्तानीमा विश्वकपमा होमिएको अस्ट्रेलियाले डेभिड बुनको ७५ रनको उत्कृष्ट पारीले फाइनलमा आफ्नो चिरपरिचित प्रतिद्वन्दी इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको थियो । आठ राष्ट्र सहभागी यो विश्वकपमा २७ खेलहरु भएका थिए भने पहिलो पटक विश्वकपलाई ६० बाट झारेर ५० ओभरको बनाइएको थियो ।

प्रतियोगितामा ४७१ रन सहित इंग्ल्याण्डका ग्राहम गुचले सर्वाधिक रन बनाएका थिए भने १८ विकेट सहित अष्ट्रेलियाका क्रायग म्याकडर्मट सर्वाधिक विकेट लिने बलरको पहिलो स्थानमा थिए ।

आयोजक भारत र पाकिस्तान सेमिफाइनलबाट घर फर्केका थिए भने गएको तीन वटा विश्वकपमा राज गरेर सनसनी मच्चाएको वेष्ट इण्डिजले ग्रुप स्टेज नै पार गर्न सकेको थिएन ।

विश्वकप क्रिकेट १९९२: पाकिस्तानलाई पहिलो उपाधि

विश्वकप क्रिकेटको पाचौँ संस्करणको यो विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका थिए । एशियन राष्ट्र पाकिस्तानले २२ रनले इंग्ल्याण्डलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

इमरान खानको नेतृत्वमा विश्वकप खेलेको पाकिस्तानका लागि उपाधि जिताउने मुख्य नायक भने वासिम अक्रम बनेका थिए । उनले फाइनलमा तीन विकेट लिँदै ३३ रन बनाएका थिए ।

पहिलोपटक रंगिन जर्सीको प्रयोग गरिएको यस विश्वकपबाट म्यान अफ दी सिरीजको पनि सुरुवात गरिएको थियो । ४५६ रन सहित प्रतियोगिताकै सर्वाधिक रन बनाएका न्यूजिल्याण्डका मार्टिन क्रोवे विश्वकप इतिहासमा म्यान अफ द सिरिज जित्ने पहिलो खेलाडी बने ।

यसैगरी, १८ विकेट लिएका पाकिस्तानका वासिम अक्रम सर्वाधिक विकेट लिने बलर बनेका थिए । नौ राष्ट्र सहभागी यस विश्वकपमा ३९ वटा खेलहरु भएका थिए ।

विश्वकप क्रिकेट १९९६: तीन देश आयोजक

पहिलो पटक तीनवटा राष्ट्रहरुको संयुक्त रुपमा आयोजना गरिएको यस विश्वकप फेरि पनि एशियन भूमिमा भएको थियो । भारत, पाकिस्तान र श्रीलंकामा भएको यस विश्वकपको उपाधि आयोजक राष्ट्रमध्यको एक राष्ट्र श्रीलंकाले जितेको थियो ।

पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पाएको श्रीलंकाले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो । अर्जुन रणतुंगाको कप्तानीमा विश्वकप खेलेको श्रीलंकाको लागि अविजित १०७ रन बनाएर ३ विकेट लिएका अरभिन्दा डी शिल्भा फाइनलको नायक बनेका थिए । १२ राष्ट्रहरुको सहभागिता रहेको प्रतियोगितामा ३७ वटा खेलहरु भएका थिए ।

प्रतियोगितामा ५२३ रन सहित भारतका सचिन तेन्दुलकर सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्दा १५ विकेट सहित भारतकै अनिल कुम्ब्ले सर्वाधिक विकेट लिने बलर बनेका थिए । विश्व विजेता श्रीलंकाका सनाथ जयासूर्या म्यान अफ दी सिरीज बने ।

विश्वकप क्रिकेट १९९९: पाँच राष्ट्र आयोजक

विश्वकप क्रिकेटको सातौँ संस्करण यस विश्वकपको आयोजना अहिलेसम्मकै सबैभन्दा धेरै राष्ट्रले गरेका थिए । यो विश्वकपको आयोजना इंग्ल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स, आयरल्याण्ड र वेल्स गरी पाँचवटा राष्ट्रले गरेका थिए । अधिकांश खेल इंग्ल्याण्डमा भएका थिए भने केही खेलहरु अरु चार राष्ट्रमा पनि भएका थिए ।

फाइनलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो पटक उपाधि जितेको थियो । १२ राष्ट्र सहभागी विश्वकपमा ४२ खेलहरु भएका थिए । स्टीभ वाँको कप्तानीमा रहेको अष्ट्रेलियाका लागि फाइनलमा ४ विकेट लिँदै स्वर्गीय लेजेन्ड बलर शेन वार्न नायक बनेका थिए ।

प्रतियोगिताको म्यान अफ दी सिरीज चाहिँ दक्षिण अफ्रिकाको लेन्स क्लुसेनर घोषित भएका थिए । प्रतियोगितामा भारतका राहुल द्रविडले सबैभन्दा धेरै ४६१ रन बनाएका थिए भने न्यूजिल्याण्डका जेफ अलोट र अष्ट्रेलियाका शेन वार्नले समान २०-२० विकेट लिएका थिए ।

विश्वकप क्रिकेट २००३: अफ्रिकाले आयोजन गरेको पहिलो विश्वकप

आठौं संस्करणको यो विश्वकप क्रिकेट पहिलो पटक अफ्रिकी राष्ट्रहरु दक्षिण अफ्रिका, जिम्बावे र केन्याले आयोजना गरेका थिए । १४ राष्ट्रहरु सहभागी यस विश्वकपमा ५४ वटा खेलहरु भएका थिए । रिकी पोन्टिङ्गको कप्तानीमा उत्रेको अष्ट्रेलियाले फाइनलमा भारतलाई १२३ रनले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको थियो । यो विश्वकपको उपाधिसँगै तीन पटक विश्वकप जित्ने   पहिलो र एकमात्र राष्ट्र बन्न सफल बन्यो अष्ट्रेलिया ।

फाइनलमा अविजित १४० रनको पारी खेलेका कप्तान पोन्टिङ्ग म्यान अफ दी म्याच चुनिए भने भारतका सचिन तेन्दुलकर म्यान अफ दी सिरीज घोषित भए । प्रतियोगितामा भारतका सचिन तेन्दुलकरले सबैभन्दा धेरै ६७३ रन बनाएका थिए भने श्रीलंकाको चामिन्डा भासले सबैभन्दा धेरै २३ विकेट लिएका थिए ।

विश्वकप क्रिकेट २००७: १६ राष्ट्र सहभागी

नवौं संस्करणको यो विश्वकप क्रिकेट वेष्ट इण्डिजले आयोजना गरेको थियो । प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी १६ राष्ट्र सहभागी थिए भने ५१ खेलहरु भएका थिए । रिकी पोन्टिङ्गको कप्तानीमा उच्च लयमा रहेको अष्ट्रेलियाले फाइनलमा श्रीलंकालाई डी. एल. पद्धतिको आधारमा ५३ रनले पराजित गर्दै लगातार तेस्रो पटक र समग्रमा चौथो पटक उपाधि हात पार्यो ।

विश्वकप क्रिकेटको इतिहासमा लगातार तीन पटक विश्वकप जित्ने अष्ट्रेलिया एकमात्र राष्ट्र हो । १४९ रनको विष्फोटक पारी खेलेका अष्ट्रेलियाका एडम गिलक्रीष्ट म्यान अफ दी म्याच चुनिए भने सोही टीमको मेन बलरको रुपमा रहेका ग्लेन म्याग्रा म्यान अफ दी सिरीज बनेका थिए ।

अष्ट्रेलियाको दबदबा रहेको यस विश्वकपमा ६५९ रन सहित सोही राष्ट्रका म्याथ्यु हेडन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा रहँदा म्यान अफ दी सिरीज बनेका अष्ट्रेलियाकै ग्लेन म्याग्रा २६ विकेट सहित सर्वाधिक विकेट लिने बलर बनेका थिए ।

विश्वकप क्रिकेट २०११: २८ वर्षपछि भारतलाई उपाधि

दशौं संस्करणको यो विश्वकप क्रिकेट भारत, श्रीलंका र पहिलो पटक बंगलादेशमा आयोजना भएको थियो । १४ राष्ट्र सहभागी विश्वकपमा ४९  खेलहरु भएका थिए । पहिलो पटक फाइनलमा दुई एशियन राष्ट्रहरुको भिडन्त भएको यस विश्वकपमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै २८ वर्षपछि दोस्रो पटक उपाधि उचालेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको भारतका लागि फाइनलमा म्यान अफ दी म्याच कप्तान धोनी आफैं बनेका थिए ।

टिम संकटमा परेका बेला पाँचौ नम्बरमा ब्याटिङ् गर्न आएका धोनीले विष्फोटक पारी खेल्दै अविजित ९१ रन बनाएका थिए । फाइनलमै ९७ रन बनाएका गौतम गम्भीरले उनलाई बलियो साथ दिएका थिए । एकसाथ दुई मुख्य ब्याट्सम्यान वीरेन्द्र सहवाग र सचिन तेन्दुलकर गुमाएर लर्वराएको  भारतको पारी धोनी र गम्भीरले उकासेका थिए । खेल सकिन सात बल बाँकी हुँदा कप्तान धोनीले श्रीलंकाको नुवान कुलसेकारालाई छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

५०० रन बनाएका श्रीलंकाको तिलकरत्ने दिलशन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने भने समान २१ विकेट लिएका पाकिस्तानका शाहिद अफ्रिदी र भारतका जाहिर खान सर्वाधिक विकेट लिने बलर बनेका थिए । प्रतियोगिताको म्यान अफ दी सिरीज भने भारतकै युवराज सिंह घोषित भएका थिए ।

विश्वकप क्रिकेट २०१५: अष्ट्रलिया पाँचौं पटक च्याम्पियन

एघारौं संस्करणको यस विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेका थिए । प्रतियोगिताको फाइनलमा माइकल क्लार्कको नेतृत्वमा रहेको आयोजक राष्ट्र  अष्ट्रेलियाले अर्को आयोजक न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको थियो ।

३६ रन खर्चेर तीन विकेट हात पारेका अष्ट्रेलियाको जेम्स फकनर फाइनलको नायक बनेका थिए भने अष्ट्रेलियाकै अर्को बलर मिचेल स्टार्क म्यान अफ दी सिरिज घोषित भएका थिए ।

५४७ रन बनाएका न्यूजिल्याण्डका मार्टिन गुप्तिल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने भने समान २२ विकेट लिएका अष्ट्रेलियाका मिचेल स्टार्क र न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट सर्वाधिक विकेट लिने बलर बनेका थिए । अष्ट्रेलियाको मेल्बर्न क्रिकेट ग्राउन्डमा भएको यस विश्वकपको फाइनल खेल हेर्न ९३,०१३ जना दर्शकहरुको उपस्थिति थियो । १४ राष्ट्रहरुको सहभागी यस विश्वकपमा ४९ खेलहरु भएका थिए ।

विश्वकप क्रिकेट २०१९: इंग्ल्याण्डलाई पहिलो उपाधि

इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको यस विश्वकपको उपाधि पहिलो पटक इंग्ल्याण्डले जितेको थियो । फाइनल खेलमा बाउण्ड्री काउण्टको आधारमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्दै उपाधि जितेको हो । अति नै रोमाञ्चक फाइनलमा ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभर भएको थियो । सुपर ओभर पनि बराबरीमा सकिएपछि खेलको नतिजा बाउण्ड्री काउन्टबाट निकालिएको थियो ।

निर्धारित ५० ओभरको खेलमा दुबै टोलीले २४१ रन बनाएका थिए भने सुपर ओभरमा पनि दुबै टोलीले १५ रन बनाएका थिए । बाउन्ड्री काउन्ट गर्दा इंग्ल्याण्डको तर्फबाट २४ वटा बाउन्ड्री प्रहार भएको थियो भने न्यूजिल्याण्डको तर्फबाट १६ वटा बाउन्ड्री मात्र प्रहार भएको थियो ।

अझ रमाइलो पक्ष त के छ भने, निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले दुई/दुई वटा मात्र छक्का प्रहार गरेका थिए ।

दश राष्ट्र सहभागी यस विश्वकपमा ४८ खेलहरु भएका थिए । इयोन मोर्गनको कप्तानीमा  उत्रेको इंग्ल्याण्डको लागि फाइनलमा अविजित ८४ रन बनाएका बेन स्टोक्स म्यान अफ दी म्याच भए भने न्यूजिल्याण्डका कप्तान केन विलियम्सन म्यान अफ दी सिरीज बनेका थिए ।

६४८ रनका साथ भारतका रोहित शर्मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए भने २७ विकेट लिएका अष्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा धेरै विकेट लिने बलर थिए । योसँगै मिचेल स्टार्क लगातार दुईवटा विश्वकपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका थिए भने एकै संस्करणमा सबैभन्दा बढी विकेट लिने बलर पनि बनेका थिए ।

(लेखक सिन्धुली एकेडेमी बोर्डिङ्ग स्कूलक शिक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?