+

गर्भावस्थामा गिजाको समस्याले अरु जोखिम ल्याउन सक्छ (भिडियो)

२०८० असोज  १४ गते १८:२८ २०८० असोज १४ गते १८:२८
गर्भावस्थामा गिजाको समस्याले अरु जोखिम ल्याउन सक्छ (भिडियो)

काठमाडौं । मुख कीटाणुहरूको प्रवेशद्वार हो । धेरै प्रकारका ब्याक्टेरिया वातावरणीय प्रदूषण, फोहोर हात वा खानामार्फत मुखमा प्रवेश गर्छन् । साथै खानाका बाँकी रहेका सूक्ष्म कणहरू पनि दाँतको बीचमा अड्किएर मुखमा सड्ने र कुहिने हुन्छ ।

स्वस्थ मुखको विशेषता भनेको स्वस्थ गिजा र दाँत हो । दैनिक एक पटक ब्रस गरेर दाँत सफा र स्वास्थ्य हुन्छ भन्ने धेरैलाई लाग्छ । तर स्वस्थ मुखको लागि दाँत मात्र होइन, गिजाको हेरचाह पनि जरुरी हुन्छ ।

गिजा दाँतको जग हो । हाम्रो दाँत हड्डीमा अड्केको हुन्छ । हामीले मुखको स्वास्थ्यलाई ध्यान दिएनौ भने गिजाको रोग लाग्न सक्छ । नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने गिजा सुन्निने, गिजाबाट रगत बग्ने, दाँत दुख्ने र श्वास गनाउने जस्ता समस्या देखा पर्छन् ।

गिजाको समस्यालाई हेलचेक्र्याइँ नगरौ

गिजाको समस्यालाई सामान्य रूपमा लिइयो र समयमा उपचार गरिएन भने ‘पेरियोडोन्टाइटस’ रोग लाग्न सक्छ ।  त्यो रोगले गिजा यति कमजोर हुन्छ कि दाँत हल्लिने र झर्ने समस्या समेत आउन सक्छ ।

गिजा अरू रोग लागेको छ कि छैन भनेर हेर्ने माध्यम पनि हो । जसको गिजा कमजोर छ उनीहरूलाई मुटुको समस्या हुन सक्छ । मधुमेह, अल्जाइमरको समस्या छ कि भनेर पनि गिजाको माध्यमबाट थाहा पाउन सकिन्छ । बाथरोग भएको मुखमा हड्डी खिइएर दाँतहरू हल्लिसकेका हुन्छन् । सबै रोगको समस्या गिजामा देखिन्छ ।

गर्भावस्थामा गिजाको समस्या

गर्भावस्थामा हार्मोनको गडबडीले गिजाको समस्या देखा पर्छ । गर्भावस्थामा देखिने दन्त समस्यालाई ‘प्रेग्नेन्सी जिंजीभाइटिस’ भनिन्छ । गिजा रातो हुने, सुन्निने र गिजाबाट रगत बग्ने लक्षण यस बेला देखिन्छ ।

गर्भावस्थामा कुनै महिलालाई गिजाको समस्या देखा देखियो र त्यसको उपचार भएन भने समयभन्दा अगावै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने समस्या समेत हुन्छ । मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ ।

धेरै महिला त बच्चा जन्मिएपछि मेरो गिजामा समस्या देखियो भन्दै आउँछन् । तर बच्चा जन्मिएपछि भन्दा पनि गर्भावस्थामा नै महिलालाई गिजाको समस्या देखिएको हुन्छ । त्यो बेला हेल्चेक्राइँ गरेर पछि समस्या बढेको हो । त्यसैले गर्भावस्थाको योजना बनाउनुअघि एक पटक दन्तरोग विशेषज्ञसँग भेट्नुपर्छ ।

कतिपय महिला गर्भावस्थामा उपचार गर्न डराउने गर्छन् । तर गर्भवती भइसकेपछि गिजाको समस्या देखियो भने पनि त्यसको उपचार गर्न मिल्छ । चिकित्सकको सल्लाहअनुसार गर्भावस्थामा प्रयोग गर्न मिल्ने उपचार गर्न सकिन्छ । गर्भावस्थाको दोस्रो चरण अर्थात् तीनदेखि ६ महिनामा उपचार गर्न सकिन्छ ।

गर्भावस्थामा दाँत तथा गिजाको समस्या निम्तिने कारण

गर्भावस्थामा गिजाको समस्या देखा पर्ने मुख्य कारण हार्मोनको गडबडी नै हो । साथै गर्भावस्थामा खाना नरुच्ने, बान्ता आउने जस्ता समस्या पनि देखा पर्छ । बान्ताका बेला आउने पेटको एसिडले दाँतमा रहेको इनामेललाई मेटाउन सक्छ, जसले दाँतको संवेदनशीलता बढाउँछ र दाँत खिइने समस्या ल्याउँछ ।

गर्भावस्थामा महिलाहरूलाई विभिन्न खानेकुरा खान मन लाग्ने हुन्छ । कसैलाई त गुलियो खानेकुरा धेरै खान मन लाग्ने पनि हुन्छन् । धेरै गुलियो खानेकुरा खानेर मुखको सरसफाइमा राम्ररी नगर्ने गर्दा पनि दाँत तथा गिजाको समस्या देखा पर्छ ।

गर्भावस्थामा हुने गिजाको समस्याबाट बच्ने उपाय

बच्चा जन्माउने योजना बनाउने बेला नै गिजाको जाँच गर्ने केही समस्या छ भने उपचार गर्नुपर्छ । यदि गर्भवती भएपछि गिजाको समस्या देखियो भने त्यसलाई हेलचेक्र्याइँ नगर्ने चिकित्सकको सल्लाह लिनुपर्छ ।

गर्भवती महिलाले प्लाक निर्माण हुनबाट जोगिनका लागि दिनको दुई पटक अनिवार्य दाँत माझ्नुपर्छ । हरेक खानेकुरा खाएपछि मुख कुल्ला गर्ने । साथै दाँतको बीचमा अड्किएको फोहोर निकाल्न डेन्टल फल्सको पनि प्रयोग गर्नुपर्छ ।

गर्भावस्थामा सन्तुलित खाना प्रोटिन, भिटामिन र क्याल्सियमयुक्त खाना खाने र गुलियो खानेकुरा कम खाइयो भने पनि गिजाको समस्याबाट बच्न सकिन्छ ।

(गिजा तथा दन्तरोग विशेषज्ञ डा. नियुक्ति अर्जेलसँग अनलाइनखबरकर्मी सुमित्रा लुटेलले गरेको कुराकानीमा आधारित)

गर्भावस्था गिजा डा. नियुक्ति अर्जेल
डा. नियुक्ति अर्जेल
लेखक
डा. नियुक्ति अर्जेल
गिजा तथा दन्तरोग विशेषज्ञ

डा. अर्जेल ललितपुरस्थित गम्स एण्ड गिगल्स क्लिनिककी सञ्चालिका समेत हुन् । उनले दन्त चिकित्सामा बीडीएस र एमडीएस गरेकी छन् । डा. अर्जेलको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११५६९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय