+

‘शिक्षकको मानसिक स्वास्थ्यबारे पनि बहस जरुरी छ’

२०८० असोज  ९ गते १७:०४ २०८० असोज ९ गते १७:०४
‘शिक्षकको मानसिक स्वास्थ्यबारे पनि बहस जरुरी छ’

काठमाडौं । पछिल्लो समय विद्यालयमा पढ्ने विद्यार्थीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निकै देखिन्छ । यसले उनीहरुको सीप, ज्ञान आर्जन गर्ने क्षमतामा प्रभाव पर्छ । बेलाबखतमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम विद्यार्थीलाई लक्षित गरी राखिएको हुन्छ ।

तर त्यही बालबालिका पढाउने शिक्षकको मानसिक स्वास्थ्यबारे खासै चासो दिइँदैन । शिक्षक पनि आफ्नो घर-व्यवहार, करिअरजस्ता व्यक्तिगत समस्याले तनावग्रस्त भएका हुन सक्छन् । जसको असर उनीहरुको काममा देखिन सक्छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको पढाइ र सिकाइमा पर्न सक्छ ।

यस्तोमा के शिक्षकलाई मानिसक स्वास्थ्यबारे तालिम आवश्यक छैन ? शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु कति जरुरी छ ?  कस्तो छ शिक्षकको मानिसक स्वास्थ्य अवस्था ? यसै सन्दर्भमा रहेर मनोचिकित्सक डा. वासुदेव कार्कीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु कति जरुरी छ ?

बालबालिका भविष्यको जग हो । शिक्षक बालबालिकाको भविष्यको सृष्टिकर्ता हुन् । त्यसैले सृष्टिकर्ता मानसिक रूपमा स्वस्थ भएन भने भविष्यको समाज समृद्ध हुँदैन। तसर्थ, बच्चा र शिक्षक दुवैको मानसिक स्वास्थ्यको ख्याल गर्नु धेरै महत्त्वपूर्ण छ ।

नेपालको सन्दर्भमा बालबालिका र विद्यार्थीलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम आउँछन् । तर शिक्षकलाई पनि केन्द्रित गराएर मानसिक स्वास्थ्यबारे चर्चा कम हुन्छन् ।

यता, अमेरिकामा केही समयअघि शिक्षकको मानसिक स्वास्थ्यबारे एउटा सर्वेक्षण भएको छ । जसअनुसार २७ प्रतिशत शिक्षक डिप्रेसनबाट ग्रसित थिए । अमेरिका जस्तो अब्बल देशमा त त्यति धेरै डिप्रेसन जस्ता मानसिक समस्याबाट शिक्षक गुज्रिरहेका छन् भने नेपालजस्तो देशमा झन् शिक्षकले पाउनुपर्ने आवश्यक सेवा-सुविधा समेत सरकारले दिन सकेको छैन । यसको उदारहण हालै मात्र भएको शिक्षक आन्दोलनलाई लिन सकिन्छ । आन्दोलनमा उपस्थित शिक्षकहरुमै अध्ययन हुने हो भने पनि ५० प्रतिशतमा डिप्रेसनजस्ता समस्या देखिन सक्छन् ।

यस्तोमा शिक्षकको मानसिक अवस्था नै ठीक छैन भने उनीहरुले दिएको शिक्षाबाट सानो कोपिलाजस्ता बालबालिकाले कसरी गुणस्तरीय शिक्षा लिन सक्छन् ? त्यसैले शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु अति जरुरी छ ।

शिक्षकहरुको आफ्नै समस्या हुन्छ । घरपरिवारको कुराले, आर्थिक कुराले वा विभिन्न कुराले पनि उनीहरुलाई तनावग्रस्त बनाइरहेको हुन्छ । यस्तो तनावको साइडइफेक्ट कक्षाकोठामा पर्छ कि पर्दैन ?

शिक्षक आफैं तनावपूर्ण अवस्थामा छन् भने यसको साइड-इफेक्ट कक्षाकोठामा पूर्णरुपले परिरहेको हुन्छ ।  मानिसक रुपमा तनाव बोकेको व्यक्ति जसमा एन्जाइटी र डिप्रेसन भएको समेत अवस्था हुन सक्छ । तनावले उनीहरुमा निद्रा नपर्ने, झिंजो लाग्नेजस्ता लक्षण देखिन सक्छन् । जसको निद्रा रातभर नै परेको छैन, उसले कक्षाकोठामा कसरी पढाउन सक्छ ? त्यसमाथि डिप्रेसनमै गुज्रिरहेको शिक्षकमा रिस, आवेग, मनमा कुरा खेलिरहेको हुन सक्छ र कक्षाकोठामा तनावग्रस्त दिमाग लिएर गएको शिक्षकलाई एक त पढाउन मन नभइरहेको र पढाउनुपर्ने बाध्यता हुन्छ ।

अर्को, कक्षामा विद्यार्थीबाट हुने सानो भुलले पनि शिक्षकमा रिस उत्पन्न हुन सक्छ । नतिजा विद्यार्थीलाई गाली गर्ने, कुट्ने जस्ता गतिविधि हुन सक्छन् । बेलाबखतमा शिक्षकले कुटपिट गरेको घटनाको थुप्रै उदाहरण छन् । यसले शिक्षकको मात्र होइन, त्यहाँ पढ्ने विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्छ । त्यति मात्र होइन, शिक्षकले आवश्यक पर्ने जति पर्याप्त ज्ञान बाँड्न समेत नसक्ने अवस्थामा हुन सक्छन् यसको प्रभाव विद्यार्थीको पढाइमा पर्छ ।

शिक्षकहरुको मुडले बालबालिकामा कस्तो असर पर्छ ?

कतै जाँदा कोही व्यक्तिले मुस्कुराएर स्वागत गर्छ भने त्यहाँको माहोल नै छुट्टै हुन्छ । कक्षाकोठामा पनि उस्तै सिद्धान्त लागू हुन्छ । यदि शिक्षक हँसिलो, जोसिलो देखिएमा कक्षामा पट्यार मानेर बसेका विद्यार्थीमा पनि ऊर्जा, जाँगर आउँछ । उनीहरुले सजिलै पढाएको कुरा पनि ग्रहण गर्न सक्छन् । कक्षा सकिएको उनीहरुलाई महसुस हुँदैन ।

तर शिक्षकको दिमागमा अनेक तनाव चलिरहेको छ । जाँगर, ऊर्जा नै छैन र क्रोधित अनुहार लिएर आएका छन् । र, सधैं सोही ढंगले कक्षामा प्रस्तुत हुन्छन् भने विद्यार्थीलाई पढ्न मन नलाग्ने, ध्यान केन्द्रित गर्न कठिन हुने, नबुझेको कुरा सोध्न मन नलाग्ने हुन सक्छ । अझ कोही शिक्षक त घरव्यवहारको व्यक्तिगत तनावको रिस विद्यार्थीमा पोख्ने खालका हुन्छन् । यस्तोमा विद्यार्थी कक्षामा बस्न पनि त्रसित हुने गर्छन् । कक्षाको माहोल पनि नकारात्मक हुन्छ ।

सबै विद्यार्थीले आफ्ना शिक्षकलाई नै ज्ञानको भण्डार मान्छन् । बच्चाहरूले शिक्षकलाई आफ्नो रोल मोडल मानिरहेका हुन्छन् उनीहरु आफू पनि शिक्षक जस्तै हुने सपना देख्छन् । विद्यार्थीले शिक्षकको शिक्षालाई मात्र होइन व्यवहारलाई पनि अनुशरण गरिरहेका हुन्छन् । विद्यार्थीको भावनात्मक अवस्था र सिकाइ वातावरणमा प्रत्यक्ष प्रभाव शिक्षकको प्रस्तुतिमा पनि भर पर्छ ।

विद्यार्थीलाई गाली नगरे पनि, कुटपिट नगरे पनि शिक्षकले गर्ने कतिपय व्यवहारको प्रत्यक्ष असर त पर्छ नि ?

पहिला विद्यार्थीलाई तह लगाउन र अनुशासित हुन स-साना दण्ड दिनुपर्छ भन्ने हुन्थ्यो । गृहकार्य नगर्दा, कक्षाकोठामा हल्ला गर्दा, भनेको नमान्दा कुट्नेपिट्ने पनि हुन्थ्यो । तर अहिले विद्यार्थीलाई कुटपिट गर्न नहुने यसले बालबालिकामा थप नकारात्मक असर पर्छ भन्ने धारणा विकास भइरहेको छ । कक्षा बालमैत्री हुनुपर्छ भन्ने वोध धेरैजसो शिक्षकमा छ । तर पनि कक्षामा विद्यार्थीलाई उसले गरेको अतिरिक्त क्रियाकलापलाई लिएर प्रोत्साहन नगर्ने, प्रतिक्रिया नगर्ने, हतोत्साहित गर्ने जस्ता क्रियाकलापले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्न सक्छ । त्यति मात्र होइन, तनावग्रस्त शिक्षकले राम्रोसँग पढाउन नसक्दा विद्यार्थी पनि राम्रोसँग ज्ञान लिन सक्दैनन् ।

शिक्षक आफैमा उदास छन् भने वा दुःखी छन् भने के त्यो कुरा उसले ढाकछोप गरेर विद्यार्थीलाई राम्ररी पठनपाठन गराउन सक्छन् ?

शिक्षक आफैं उदास, दुःखी छन् भने उनले यो कुरा ढाकछोप गर्न सक्दैनन् । उनीहरुले चाहेर पनि  विद्यार्थीलाई राम्ररी पठनपाठन गराउन सक्दैनन् । शिक्षकले जति नै आफ्नो उदासीनता लुकाउन खोजे पनि उनको व्यवहारमा त्यो देखिन सक्छ ।

शिक्षकहरुमा खासगरी कस्तो मानसिक समस्या हुन सक्छ ?

शिक्षकहरुमा प्राय: देखिने मानिसक समस्या भनेको डिप्रेसन, एन्जाइटी र तनाव हो । कतिपय शिक्षकले त आफूलाई मानसिक समस्या भएको अनुभव नै गर्न सकेका हुँदैनन् । तर उनीहरुको व्यवहारमा भने मानसिक समस्याका लक्षण देखिंदै जान्छन् र समस्या हाबी भएमा व्यवहार नै परिवर्तन हुन सक्छ । जुन पछि वरपरको विद्यार्थी र सहकर्मीले पनि नोटिस गर्न सक्छन् ।

शिक्षकलाई कसरी मानसिक रुपमा स्वस्थ र भावनात्मक रुपमा बलियो बनाउने ?

उनीहरुलाई मानसिक रुपमा स्वस्थ र भावनात्मक रुपमा बलियो बनाउन स्कुल, कलेजले पाउनुपर्ने पारिश्रमिक दिने, बेलाबखतमा शिक्षकको समस्याबारे बुझ्ने, अनावश्यक प्रशासनले प्रेसर नदिने, राम्रो काम गरेको समयमा प्रोत्साहन दिने जस्ता कार्यले उनीहरुको तनाव कम हुन सक्छ ।

साथै, शिक्षकको लागि पनि स्कुलमा परामर्शदातासँगको छलफल कार्यक्रम बेलाबखतमा राख्न जरुरी छ, ताकि आफूमा भएको मानसिक तनावको बारेमा खुलेर चर्चा गर्न सकुन् ।

सरकारले पनि सबै पठनपाठन हुने ठाउँमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, आधुनिक शिक्षासम्बन्धी शिक्षकलाई तालिम दिनु आवश्यक छ । यसले शिक्षकहरुले आफ्नो पनि बौद्धिक क्षमता बढाउन सक्छन् र पढाउन लगाव पनि बढाउन सक्छ ।

पढाइ मानसिक स्वास्थ्य शिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वास्थ्यमैत्री ब्रिकेटको प्रयोग किन बढिरहेको छैन ?

स्वास्थ्यमैत्री ब्रिकेटको प्रयोग किन बढिरहेको छैन ?

भाँचिएको हड्डी जोडिने प्रक्रिया के हुन्छ ?

भाँचिएको हड्डी जोडिने प्रक्रिया के हुन्छ ?

ध्वनि प्रदूषणले मुटुमा कस्तो असर पार्छ ?

ध्वनि प्रदूषणले मुटुमा कस्तो असर पार्छ ?

ग्यास्ट्रिक हुँदा खाइने प्यानटपले कसरी काम गर्छ ?

ग्यास्ट्रिक हुँदा खाइने प्यानटपले कसरी काम गर्छ ?

उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

उच्च रक्तचापलाई खानपानबाट पनि नियन्त्रण गर्न सकिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?