+
+
पठन संस्कृति :

पढ्नै पर्छ र ?

अन्जु भट्टराई अन्जु भट्टराई
२०८० असोज १५ गते ८:०१

समय धेरै बितेको छैन, आमाबुवाहरु आफ्ना शिशुलाई ओछ्यानमा ढल्काएर लोरी गाउँथे । लोरीको माधुर्य ध्वनि र लयले संभवत: शिशुलाई शान्त अनि आनन्दित तुल्याउँदो हो । त्यसैले उनीहरु लोरी सुनिरहँदा भुसुक्कै निदाइदिन्थे ।

पश्चिमा मुलुकमा चाहिं यसरी नै शिशुलाई सुताउनका लागि कथा भन्ने प्रचलन रहेछ । ती शिशुहरुलाई सुनाउनकै लागि परी कथाहरु रचना गरिए, जसलाई ‘बेड टाइम स्टोरिज’ भन्ने गरिएको छ ।

रोमाञ्चक अनि रहस्यमयी शैलीमा भनिने यस्ता प्रेरणादायी कथाहरु सुन्दै हुर्किएकाले होला, त्यहाँका बालबालिकामा पुस्तकप्रति स्नेह र लगाव हुनेरहेछ । त्यसैले त यात्राको क्रममा होस् वा कतै घुमफिरमा, उनीहरु पुस्तक बोक्न छुटाउँदैनन् । हामी देख्न सक्छौं– कतै विश्राम गर्दा, गाडीमा यात्रा गरिरहँदा, राति सुत्ने तरखरमा उनीहरु किताब पढिरहेका हुन्छन् ।

हामीकहाँ चाहिं धेरैजसोले भनिरहेका हुन्छन्, ‘पढ्न त मन लाग्छ तर फुर्सद नै हुन्न ।’

विश्वकै धनाढ्यमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई हेरौं । उनका लागि पल–पलको मूल्य कति  होला ? तर, उनले वर्षमा औसत ५० वटा पुस्तक पढ्ने उल्लेख गरेका छन् । न्यूर्योक टाइम्सको अन्तर्वार्तामा बिल गेट्स भन्छन्, ‘सिक्नका लागि म घुम्छु, वैज्ञानिकहरु भेट्छु, विमर्श गर्छु । तर, किताबबाट धेरैभन्दा धेरै कुरा सिकिरहेको हुन्छु ।’

बिल गेट्सले लिंक्डइनमा एउटा किशोरको फोटो साझेदार गर्दै लेखेका थिए, ‘म त्यस युवालाई के सल्लाह दिन सक्छु, जो संसारभर सकारात्मक प्रभाव पार्न चाहन्छन् । मेरो सल्लाह सरल छ, खुब पढ र त्यो कौशलको खोज गर जसबाट तिमी आनन्द लिन सक्छौं ।’

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०१५ मा फेसबुकमा एउटा पोस्ट गरेका थिए, ‘विभिन्न संस्कृति, विश्वास, इतिहास र प्रौद्योगिकबारेमा जान्नका लागि हरेक दोस्रो हप्ता एउटा न एउटा किताब पढ्नेछु ।’

भनिन्छ, विश्वको सर्वाधिक धनाढ्य एलन मस्क युवा अवस्थामा खुब विज्ञान–कथाको उपन्यास पढ्थे । उनले रकेट कम्पनीको सम्बन्धमा आफ्नो विशाल ज्ञानको श्रेय किताबलाई दिएका छन् । ‘तपाईं कसरी यतिधेरै कुराहरु जान्नुहुन्छ’ भनी सोधिएको प्रश्नमा मस्कको संक्षिप्त जवाफ थियो, ‘किनभने मैले धेरै पुस्तक पढेको छु ।’

ओपरा विनफ्रे असाध्यै गरिब परिवारमा जन्मिएका थिइन् । सानैमा आमाले छाडेपछि बेसाहारा बनेकी उनीमाथि ९ बर्षको उमेरमा बलात्कार भएको थियो । त्यसयता उनले कैयौं पटक कष्ट झेल्नु परेको थियो ।

उनै ओपरा आज विश्वकै चर्चित टेलिभिजन प्रस्तोता मानिन्छ । साथै उनी सर्वत्र माग भएकी प्रेरक वत्ता पनि हुन् । त्यही आलोकमा टेकेर उनले अबौं सम्पति मात्र कमाइनन्, उत्तिकै अग्लो प्रतिष्ठा पनि । उनलाई अमेरिकाको सबैभन्दा ठूलो नागरिक सम्मान ‘द प्रेसिडेंन्शियल मेडल अफ फ्रीडम’ दिइएको थियो । त्यो दुःखको कुण्डबाट सफलताको यो उचाईसम्म कसले पुर्यायो ? ओपराले जवाफ दिएकी छिन्, ‘किताब ।’

उनले भनेकी छिन्, ‘किताबले मलाई त्यो डरलाग्दो संसारबाट बाहिर निस्केर सपना देख्न र आजको पावरहाउस बन्न सहयोग गरेको छ ।’

घुमफिरको क्रममा मैले देखेकी छु, युरोप–अमेरिकातिर हरेकजसो टोलमा, समाजमा पुस्तकालय स्थपना गरिएको हुन्छ । फुर्सद मिल्नसाथ उनीहरु पुस्तकालय जाने गर्छन् । टोल–टोलमा, गाउँ–गाउँमा, ठाउँ–ठाउँमा पुस्तकालय राखिने जुन प्रणाली छ, पठन संस्कृति विकासका लागि त्यो वास्तवमै अर्थपूर्ण छ ।

त्यसो त हामीकहाँ पनि कथा भन्ने प्रचलन नभएको होइन । विहान सवेरै उठ्ने र कथा पाठ गर्ने त हाम्रो पूर्विय संस्कार नै हो । खासगरी जीवन र जगतसँग जोडिएका पौराणिक पुस्तकहरु पाठ गर्ने परम्परा सदियौंदेखि थियो । तर, अहिले यो परम्परालाई हामीले आफ्नो दिनचर्याको हिस्सा बनाउन सकेनौं ।

पठन संस्कृति किन जरुरी ?

कथा किन पढ्नु ? कसैको जीवनी पढेर के फाइदा ? उपन्यास पढेर के ज्ञान प्राप्त हुन्छ ? इतिहासको ठेली पल्टाएर के नै उपलब्धी हुन्छ ? विद्यालय–कलेजको पाठ्यपुस्तक छाडेर अरु कुरा पढिरहनुको अर्थ के ?

यस्ता अनेक प्रश्न उठ्छन् । वास्तवमा पढ्नुको ध्येय जानकारी संकलन गर्नु र परीक्षामा उत्तर लेख्नु होइन । पढ्नुको अर्थ जान्नु मात्र पनि होइन । खासमा त मस्तिष्कलाई जाँगरिलो र उत्सुक बनाइराख्नु हो । कल्पनाशीलता र रचनात्मक क्षमतालाई पोषण दिनु हो । यसले के गर्छ त ?

यसले जान्न र बुझ्नका लागि मनलाई तत्पर गराइरहन्छ । सुन्न र बुझ्नका लागि चेतनालाई खुला राखिरहन्छ । मनन र मन्थन गर्नका लागि मस्तिष्कलाई अभ्यस्त बनाइरहन्छ ।

सारमा यसले सिर्जनशील, काल्पनिक, उत्सुक, समझदार, विश्लेषणात्मक जस्ता गुणहरुको विकास गरिदिन्छ । यी त्यही गुण हुन्, जसले मान्छेको जीवनलाई सरल, सहज र श्रेष्ठ बनाउन सहयोग गर्छ ।

चाहे त्यो कथा होस् वा नियात्रा, कसैको जीवनी होस् वा पत्रपत्रिका पढ्नु भनेको आफैलाई उन्नत बनाउनु हो ।

यसको अर्थ यो होइन कि कनीकुथी वा जबरजस्ती पढ्नुपर्छ । कुनै कुरा पढिरहँदा हामीमा जिज्ञासा र आनन्द एकसाथ आउनुपर्छ । पढ्नु भनेको आनन्दित भावमा स्थित रहनु पनि हो । वास्तवमा यो थेरापी हो ।

आज चिकित्सकहरु भनिरहेका छन्, शरीरका हरेक रोगको जड मनमा छ । मनको उथलपुथलले स्थूल शरीरलाई रोगी बनाइरहेका छन् । त्यसैले मनलाई शान्त र आनन्दको भावमा राख्ने अभ्यासहरु खोजी गरिंदैछ । चाहे त्यो प्राणायाम होस् वा ध्यान । भक्ति आराधना होस् वा सत्संग । वास्तवमा यी सबै भावनात्मक शुद्धता र मानसिक स्वास्थ्यका विधि हुन् । यसैको एउटा अंश हो, पढ्ने विधि पनि ।

मस्तिष्कको व्यायाम

उफ्रनु, दौडनु, तन्कनु शरीरको व्यायाम हुन् । यसले मांशपेसीलाई बलियो, जोर्नीहरुलाई लचिलो बनाउँछ । फोक्सोमा अक्सिजनको मात्रा बढाउँछ, रक्तप्रवाहलाई सहज गराउँछ । ठीक यसैगरी कुनैपनि कुरा पढ्ने, बुझ्ने र मन्थन गर्ने अभ्यासले मस्तिष्कको कोशिकालाई जागृत गराइरहन्छ । अर्थात एक हिसाबले यो मस्तिष्कको व्यायाम हो ।

चाल्र्स डार्बिनको विकास सिद्धान्तले भन्छ–‘जुन कुरा बढी अभ्यास वा प्रयोग गरिन्छ, त्यो अरु परिस्कृत एवं विकसित हुँदै जान्छ ।’

हामी जति पनि कुरा पढ्छौं, त्यसले मस्तिष्कलाई थप जागरुक र सक्रिय राख्छ । यसले हाम्रो स्मरण क्षमतादेखि रचनाशिल्प पनि बढाइदिन्छ । हामीलाई उत्सुक र उत्साहित बनाइरहन्छ । केही नयाँ कुरा जान्ने, केही नयाँ कुरा बुझ्ने, त्यसलाई ग्रहण गर्ने, मन्थन गर्ने शक्तिको विकास गरिदिन्छ ।

डिजिटल कि कागजी किताब ?

आज हात–हातमा मोबाइल छ । त्यो मोबाइल इन्टरनेटको सञ्जालमा जोडिएको छ । जे जान्न खोजेपनि, जे बुझ्न चाहेपनि मोबाइलमा फटाफट उपलब्ध हुन्छ । त्यो हत्केलाभरको मोबाइल आफैमा जानकारीहरुको विशाल भण्डार हो । ‘मुख हुँदाहुँदै किन नाकले पानी पिउनु’ भने झैं डिजिटल संशाधन छाडेर किन किताब खोजिरहनु ?

बीबीसीमा यही विरोधाभासलाई मेटाउने अध्ययनबारे एउटा रिपोर्ट छापिएको थियो । उक्त अध्ययनमा के पाइयो भने, डिजिटल उपकरणमा पढ्नु र कागजी किताबमा पढ्नुबीच खास अन्तर छ । डिजिटल डिभाइसका अक्षरहरु मस्तिष्कले जुन हिसाबले ग्रहण गर्छ त्यो भन्दा फरक ढंगले ग्रहण गर्छ कागजी किताबलाई ।

यस अध्ययनको सारमा के पाइयो भने, कागजी किताबका कुरालाई मस्तिष्कले विश्लेषणात्मक ढंगले ग्रहण गर्छ । जबकि डिटिजल उपकरणका कुरालाई ‘सर्टकर्ट’ रुपमा संग्रहित गर्छ ।

कागजी र डिजिटल किताब पढ्दा आउने भाव पनि एकनास हुँदैन । यसको निचोड के भने, कागजी किताब पढ्दा जुन ढंगले कल्पनाशीलता, रचनाशिल्प र विश्लेषणात्मक क्षमता बढ्छ डिजिटलमा त्यस्तो हुँदैन ।

के पढ्ने ?

पढ्नका यो संसारमा यति धेरै स्रोत–सामग्री छन्, जो हामीले जीवनकालमा पढेर भ्याउँदैनौं । तपाईं कुनै पुस्तकालय जानुहोस् वा पुस्तक पसल, थरीथरी पुस्तकको चाङ देख्नुहुन्छ । यसमध्ये कस्तो पुस्तक छनौट गर्ने, कस्तो पुस्तक पढ्ने ?

यो रोजाई महत्वपूर्ण हुन्छ । सबै पुस्तक उत्कृष्ट र पठनयोग्य हुन्छ भन्ने छैन । त्यसैले राम्रो पुस्तक छनौट गर्न सक्नु आफैंमा एउटा कला हो ।

यसका लागि हामीले प्राथमिकता दिनुपर्छ आफ्नो रुचीलाई । हामीलाई कथामा रुचि छ वा साहित्यमा, विज्ञानमा रुचि छ वा भूगर्भमा ? सोही अनुसार पुस्तक पढ्नु उपयुक्त हुन्छ । आख्यान, गैरआख्यान जे भएपनि राम्रो पुस्तक पढ्नु अर्थपूर्ण हुन्छ ।

मान्छेको मनोविज्ञान र रुची अनुसार अनेक विधामा पुस्तक लेखिएका छन् । त्यति मात्र होइन, उमेर समूह अनुसार पनि पढ्नका लागि फरक फरक पुस्तक छन् । शिशु, बालबालिका, किशोर, युवा, प्रौड र बुढापाकाका लागि पनि फरक पुस्तक उपलब्ध छन् ।

पढ्नु जान्न मात्र होइन, जिउनका लागि पनि

महात्मा गान्धीको एउटा सर्वप्रिय भनाइ छ, ‘पढाइका साथ त्यसलाई व्यावहारिक जीवनमा प्रयोग गरिदैन भने त्यो पढाइ व्यर्थ छ ।’

हामी कति कुरा पढ्छौं, बुझ्छौं । हामीसँग अथाह ज्ञान हुन्छ । अनेकन जानकारी हुन्छ । तर, यसरी प्राप्त गरेको ज्ञानलाई सीपको रुपमा विकास गर्नुपर्छ र सीपलाई जीवनका लागि उपयोग गर्नुपर्छ ।

ज्ञान भनेको जीवनको कौशल हो । जीवनलाई सुन्दर र रचनात्मक बनाउने कडी हो । र, ज्ञानसँगै सबैभन्दा जरुरी हुन्छ विवेक । विवेक एक यस्ता आभूषण हो, जसले मान्छेलाई वास्तवमै आकर्षक बनाउँछ ।

लेखक अक्षरा स्कुल कागेश्वरी मनोहराकी संस्थापक निर्देशक हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?