
News Summary
Generated by OK AI. Editorially reviewed.- चम्पादेवी केवलकार आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएको छ।
- प्रतिवेदन अनुसार केवलकार २ हजार ७५ मिटर लामो र १७ हजार ८९ वर्गमिटर क्षेत्रफलमा बन्नेछ।
- आयोजनाले ५ अर्ब रुपैयाँ लागत र २४ महिना निर्माण अवधि अनुमान गरेको छ।
२२ असार, काठमाडौं । चम्पादेवी केवलकार आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ ।
चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले यहाँ केवलकार बनाउँदैछ । प्रतिवेदन अनुसार दक्षिणकाली नगरपालिका-१ बोसनमा तल्लो स्टेशन र कीर्तिपुर नगरपालिका-४ चम्पादेवीमा माथिल्लो स्टेशन रहने गरी चम्पादेवीमा केवलकार बन्न लागेको हो । यो केवलकारको लम्बाई २ हजार ७५ मिटर लामो हुने भएको छ ।
चम्पादेवी अहिले उपत्यका भित्रको लोकप्रिय हाइकिङ गन्तब्य हो । चम्पादेवी केवलकारमा भवनहरुले कूल १७ हजार ८९ वर्गमिटर क्षेत्रफलमा बन्ने अनुमान गरिएको छ । आयोजनाले वन क्षेत्र ५ हेक्टर ओगट्ने प्रतिवेदनमा उल्लेख छ ।
दक्षिणकाली नगरपालिकाले ६ वैशाख २०७६ मा सो कम्पनीलाई चम्पादेवी केवलकार निर्माण तथा सञ्चालन अनुमति दिएको थियो ।
माथिल्लो स्टेशनमा बहुआयामिक भवन निर्माण गरी रेष्टुरेन्ट तथा मनोरन्जन ब्लकहरु, मन्दिर परिसर, मनोरन्जन पार्क बनाउने योजना रहेको छ । यस केवलकारका लागि १२ वटा टावर र ३४ वटा मोनोकेवल गोन्डोला रहने गरी डिजाइन गरिएको छ ।
केवलकारको क्षमता प्रतिबक्स १० जना हुनेछ । केवलहरुबीचको दूरी ६.४ मिटर रहने प्रतिवेदनमा उल्लेख छ । केवलकारको गति ६ मिटर प्रतिसेकेण्ड रहनेछ । एक पटकको यात्रा ७.०१ मिनेटमा पुरा गर्ने गरी यो आयोजनाको डिजाइन गरिएको छ ।
प्रस्तावित सुविधा तथा संरचना अन्तर्गत तल्लो स्टेशनमा मुख्य भवन ३ तलाको रहने भएको छ । यहाँ ४ सय दुई पाङ्ग्रे र २ सय दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने गरी संरचना बनाउने योजना छ ।
माथिल्लो स्टेशनमा भने मनोरन्जन भवन, मनोरन्जन पार्क र मन्दिर परिसरको संरचना बनाइने भएको छ । मन्दिर परिसर भित्र प्रवेशद्वार, ३२ मुर्तियुक्त गणेश मन्दिर, आरती तथा अन्य गतिविधि गर्न मिल्ने शिव मन्दिर, चम्पादेवी मन्दिर, बुद्ध चैत्यहरु, नवग्रह मन्दिर, यज्ञशाला रहने भएको छ ।
आयोजना सञ्चालनमा आएपछि स्थानीय समूह, स्थानीय तहका प्रतिनिधि र कम्पनीका प्रतिनिधि रहने फाउन्डेसन बनाएर सो मार्फत मन्दिर सञ्चालनको प्रस्ताव गरिएको छ ।
आयोजनाको लागत ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसको निर्माणपछि दैनिक ५ हजार आगन्तुकले भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
निर्माण अवधि २४ महिना र पे ब्याक अवधि १० वर्ष रहने र ३१२ जनाले रोजगारी पाउने आयोजनाको अनुमान छ ।
प्रतिक्रिया 4