Comments Add Comment

ओएसिस् मेडिकल कलेजको बीएन र बीएएसी नर्सिङ बन्द

२० जेठ, चितवन । चितवनको भरतपुरस्थित ओएसिस् मेडिकल कलेजको बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालन गरिएको कार्यक्रम हाललाई बन्द गरिएको विश्वविद्यालयका डिन डा. सिद्धार्थ कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

कलेजले नेपाल नर्सिङ परिषदसँग सम्वन्धन नलिई बीएन र बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

ओएसिस बन्द भएपछि तीन वर्षे बीएन र चार वर्षे बीएससी नर्सिङ कार्यक्रममा पढिरहेका ९९ जना विद्यार्थीलाई एनपीआई र श्रीमेडिकल कलेजमा बाँकी कार्यक्रम पढाउने गरी स्थानान्तरण गरिएको डिन डा. कोइरालाले जानकारी दिए ।

एनपीआईमा बीएनका १३ जना र बीएससी नर्सिङका ३४ जना तथा श्रीमेडिकल कलेजमा बीएनका १८ र बीएससी नर्सिङका ३४ जना विद्यार्थीहरुले पढ्ने छन् ।

एनपीआई नर्सिङ कलेजका प्रशासकीय अधिकृत हरिस अधिकारीका अनुसार उनको कलेजमा बीएन पढ्ने पहिलो वर्षका १०, दोस्रो र तेस्रो वर्षका ९/९ तथा चौथौ वर्षका ५ जना विद्यार्थी ओएसिसबाट आएका छन् । यस्तै बीएनमा दोस्रो वर्षका ४ र तेस्रो वर्षका ५ जना विद्यार्थी आएका छन् ।

‘पैसाको कुरा टुंगो लाग्न बाँकी’

ओएसिस् मेडिकल कलेजले कोर्ष पूरा गर्न विद्यार्थीबाट ९ लाख ५० हजार ४ वर्षभित्र लिनुपर्नेमा अधिकांश विद्यार्थीसँग ६० प्रतिशतभन्दा बढी रकम असुल गरिसकेको छ । ‘पहिलो वर्षमा पढ्दै गरेका विद्यार्थीबाट समेत ६ लाखसम्म लिएको देखियो, यो नियमविपरितको काम हो,’ एनपीआई नर्सिङ कलेजका प्रशासकीय अधिकृत अधिकारीले भने, ‘बाँकी रकम विद्यार्थीसँग उठाउने कुरा भएन, कलेजसँग नै लिनुपर्दछ, पैसाको कुरा टुंगो लाग्न बाँकी छ ।’

पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. कोइरालाले भने आर्थिक पाटोमा विश्वविद्यालयले केही गर्न नसक्ने बताए । ‘त्यो उहाँहरु मिल्ने कुरा हो कसरी मिल्नुहुन्छ उहाँहरु नै जान्नुहुन्छ हाम्रो काम स्थानान्तरण गराउने हो,’ डिन कोइरालाले भने, ‘आर्थिक पाटोमा हामी जाँदैनौं ।’

यता, एनपीआई नर्सिङ कलेजका प्रशासकीय अधिकृत अधिकारी विश्वविद्यालयको मध्यस्थकर्तामा रकम मिलान गरिनुपर्ने तर्क गर्दछन् ।

विद्यार्थीले लाइसेन्स पाएनन्

ओएसिस मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै नेपाल नर्सिङ परिषदले सम्वन्धन रोकेको थियो । परिषदले सम्वन्धन रोकेपनि गत वर्ष पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि भन्दै सूचना निकालेको थियो ।

सोही आधारमा ओएसिस मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको हो । तर, सम्वन्धन स्वीकृति नलिएको कलेजबाट बीएससी नर्सिङ पास गरेका दुई विद्यार्थीलाई परिषदले लाइसेन्स प्रमाणपत्र दिएको छैन ।

पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. कोइरालाले तत्-तत् निकायमा सम्वन्धन लिने काम सम्वन्धित कलेजको नै भएको बताए । नर्सिङ परिषदले भर्ना रोक्नू भन्दै जारी गरेको सूचनालाई लत्याउँदै भर्ना आह्वान गर्ने पूर्वाञ्चल विश्वविद्यालयको काम ठीक भयो र ? भन्ने अनलाइनखबरको प्रश्नमा डिन कोइरालाले भने, ‘भन्नेवित्तिकै हामी कहाँ रोक्न सक्छौं त्यसको पनि प्रकृया हुन्छ ।’

नर्सिङ काउन्सिलको स्वीकृतविना नै ओएसिसले विगत ६ वर्षदेखि नर्सिङ कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा चलाउँदै आएको छ । कलेजले भने, नर्सिङ परिषदसँग स्वीकृतीको तयारी भैरहेको जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment