Comments Add Comment

वातावरण संरक्षणः औपचारिकता होइन, अभियान बनाऔं

विश्वव्यापी बढ्दो जनसंख्याको आवश्यकता र फैलिँदो विकास जस्ता कारणहरुले गर्दा वातावरणमा प्रदुुषण बढ्दै जाँदा सन् १९७२ को जुुन ५ देखि १६ सम्म स्वीडेनको स्टकहोममा संयुक्त राष्ट्रसंघले वातावरण सम्मेलन आयोजना गरेको थियो । यसैको परिणाम स्वरुप संयुक्त राष्ट्र वातावरण कार्यक्रमको शुरुआत भई १९७३ को जुन ५ देखि विश्वका अधिकांश देशहरुले विविध कार्यक्रमहरुको आयोजना गर्दै विश्व वातावरण दिवस मनाउँदै आइरहेका छन् ।

यस वर्ष वातावरण दिवसलाई छिमेकी देश भारतले आयोजक राष्ट्रको रुपमा विश्वव्यापी आतिथ्यता गरिरहेको छ । यस परिप्रेक्ष्यमा नेपालमा पनि आज यो दिवस ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, सके पुनः प्रयोग, नसके बहिष्कार गरौं’ भन्ने मूल नाराका साथ वृक्षारोपण, सरसफाइ, सचेतना र्याली, अन्तरक्रिया, सूचनामुलक क्रियाकलाप, शैक्षिक प्रतियोगिताहरु तथा वातावरण सम्वन्धी कार्यक्रमहरु सञ्चालन गरेर मनाइँदै छ ।

वास्तवमा प्लाष्टिक प्रयोग विश्वव्यापी रुपमा नै प्रदुषणको खतरनाक कारण बनेको छ । प्लाष्टिक प्रयोग निर्मूलीकरण प्रतिकात्मक मात्रै हो, हामीले वातावरण बचाउन गर्नुपर्ने धेरै छ । यसका लागि हामीले हरेक दिन प्रकृति तथा वातावरण संरक्षणका लागि सोच्नुपर्ने हुन्छ । साथै आ–आफ्नो क्षेत्रबाट प्रकृति जोगाउन सचेत नागरिकको दायित्ववोध एवं कर्तव्य निर्वाह गर्नु आवश्यक छ । वातावरण र मानवजीवन बीच अन्योन्याश्रित एवं प्रत्यक्ष सम्वन्ध छ । वातावरण संरक्षणका लागि वुद्धिजीवी, शैक्षिक संस्था, सञ्चारमाध्यम, राजनीतिकर्मी, समाजसेवी तथा सरकारी, गैरसरकारी संघसंस्थाहरुकोसमेत प्रतिवद्धता एवं उत्तरदायित्व वोधको खाँचो छ ।

आजको व्यस्त तथा यान्त्रिक युुगमा मान्छे प्रकृतिको सामिप्यताबाट टाढा हुँदै गएको छ । प्रकृतिको अनेकन फाइदाहरु तथा स्वच्छ वातावरणका लाभहरुवाट समेत वञ्चित हुँदै गएको छ । आजकाल, प्रकृतिसँग मानवजाती बाल्यकालदेखि नै टाढिदै गएको छ । शहरी जीवनमा बाँचिरहेका बालबालिका, युवा, वयस्क सबैजना अधिकांश समय टेलिभिजन, ल्यापटप, टयाब्लेट तथा स्मार्टफोनहरुमा झुम्मिरहेका हुन्छन् । युवापुस्ताको दिनचर्या अधिकांश समय सवारीसाधनहरुमा, कार्यालयहरुको कुर्सीहरुमा, किनमेल तथा कतिपयको त घरमा निष्कृय रुपले बितिरहेको छ । जसले गर्दा प्राकृतिक वातावरणको संसर्गमा आउने समय नै पाउँदैनन् ।

यसरी मानवजाती प्रकृतिबाट टाढिँदै गएको अवस्था सिर्जना भएको छ । प्रकृतिको सामिप्यता नहुने हो भने मानिसले प्रकृतिलाई आत्मिय ठान्दैन अनि यसलाई सम्मान गर्ने कुरै हुँदैन । त्यसैले वातावरण प्रदुुषण गर्दा पनि उसलाई आत्मग्लानी हुँदैन किनकि उसले आफ्नो क्षणिक लाभमा आनन्द प्राप्त गर्न थालेको छ ।

मानवजाति प्रकृतिको प्राकृतिक स्वरुप विर्गान उद्धत देखिन्छ । मानव आफ्ना असिमित चाहना र महत्वाकांक्षा पूरा गर्नका लागि प्रकृतिको अत्यधिक दोहन गरिहेको छ । यस्तो जटिल अवस्थामा, हरेक मानिसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज, देश र विश्वव्यापी रुपमा प्रकृति संरक्षणमा साझा चासो र चिन्ता लिँदै जिम्मेवारीवोध एवं उत्तरदायी भई वातावरणीय प्रदुषण कम गर्न प्रतिवद्ध रहनु जरुरी छ ।

प्रकृतिले दिने प्रत्यक्ष फाइदाहरुका अतिरिक्त मानव स्वास्थ्यसँग सम्वन्धित, मानसिक तनाव, ध्यान एकाग्रता नहुने, रोग प्रतिरोधी क्षमतामा कमी, शारीरिक दुर्वलता, सोच्ने क्षमतामा क्षयीकरण, स्मरण शक्तीमा ह्रास, मानसिक असन्तुलन, समन्वयकारी क्षमतामा कमी, आँखा र श्वासप्रश्वास सम्वन्धी समस्याहरुको निराकरणमा प्रभावकारी योगदान गर्ने गरेको तथ्य प्रकाशित भइसकेका छन् ।

तर प्रकृतिको विनाशका कारणले दैनिक रुपमा महसुश हुने गरी वायु प्रदुुषण र जल प्रदुुषण प्रमुख समस्याका रुपमा देखा परेका छन् । खासगरी, जलवायु परिवर्तन, तापक्रममा वृद्धि, हिमालमा हिउँको मात्रा घट्ने, हिमताल फुट्ने, अतिवृष्टि, अनावृष्टि, खडेरी, रैथाने वनस्पति र जीवजन्तु लोप हुने, मिचाहा प्रजातीहरु देखापर्ने, मरुभूमीकरण, पानी स्रोत सुक्दै जानु, डुबान, भूक्षय, बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपहरुमा वृद्धि हुँदै जानु वातावरणीय असन्तुलनका नकारात्मक असरहरुका रुपमा देखा परेका छन् । वातावरण प्रदुषणका दीर्घकालिन असरहरुको रुपमा वातावरणीय असन्तुलन, कृषि उत्पादनमा कमी, बसाइसराइ, खाद्य असुरक्षा र स्वास्थ्यमा समेत नकारात्मक असर पर्न गई जीवनयापन चुनौतिपूर्ण एवं कष्टकर हुँदै गएको छ ।

प्रकृतिवाट प्राप्त हुने सेवाको सदुपयोग गर्न तथा प्रदुषणका समस्याहरुलाई उचित सम्वोधन गर्न मानवजातिलाई प्रकृतिसँग भावनात्मक, सांस्कृतिक, राजनैतिक, भौतिक एवं सामाजिक रुपमा जोड्नुु आजको आवश्यकता हो । वातावरण प्रदुुषण हुँदै गएमा यसबाट उब्जिने समस्याहरुले मानवजातीको अस्तित्वलाई नै संकटमा पार्ने निश्चित छ । तसर्थ वातावरण संरक्षणका लागि र वातावरण प्रदुषण नियन्त्रण गर्न समयोचित कदम लिनु अपरिहार्य भएको छ ।

प्राकृतिक वातावरणलाई अन्तर्राष्ट्रिय जगतमा निकै महत्व दिन थालेको गत वर्ष मात्र न्युजिल्याण्डको संसदले माओरी जातीका मानिसहरुको १६० वर्षदेखिको माग सम्वोधन गर्दै त्यहाँको उत्तरी टापुमा रहेको तेश्रो लामो हवाङ्गानुइ नदीलाई जीवित नदीको उपमा दिँदै जिउदो मानिससरह कानुनी अधिकार दिएको छ । यस्तै भारतको उत्तराखण्डको उच्च अदालतले गंगा र यमुना नदीलाई पनि जिउँदो मानिससरहको दर्जा दिएकोे छ । यसबाट तीव्र शहरीकरण र औद्योगिकीकरणका कारण उच्च प्रदुषित नदीहरुको संरक्षण र सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तै नेपालमा पनि वातावरणका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिवद्धताहरु तथा नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरिएको छ भने विकास सम्वन्धी काममा वातावरण र विकासको सन्तुलन हुनुपर्ने तथा वातावरणीय प्रदुुषणवाट हुने क्षतीबाट पीडितलाई प्रदुुषकबाट क्षतीपूर्ति दिनुपर्ने प्रावधान राखिएको छ ।

विगतमा पनि वातावरण संरक्षणका नाममा गरिएका ठूलाठूला भाषण तथा थुप्रै बाचा र प्रतिवद्धताहरु कार्यान्वयनमा नआएका उदाहरण प्रशस्त छन् । आज एक दिनमात्र वातावरणको बारेमा सोच्ने, तर बाँकी ३६४ दिन भने प्रकृतिप्रति उदासिन र सवेंदनहीन हुँदै अमानवीय व्यवहार देखाउने चरित्र बदल्नुपर्छ । हरेक दिन प्रकृति तथा वातावरण संरक्षणका लागि सोचौं र सोहीअनुसार आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रयास गरौं । प्रकृति संरक्षणका लागि मनमा भएका सकारात्मक विचारहरुलाई व्यवहारमा वदल्नु अपरिहार्य छ । किनकि प्र्रकृतिमैत्री दिगो विकाससहितको सन्तुलित वातावरण हामी सबैको चाहना हो ।

जसले प्रदुषण कार्य गर्दछन्, तिनीहरुले प्रदुषण नियन्त्रणको लागि निश्चित रकम तिर्नु पर्दछ, भन्ने मान्यता राख्ने (प्रदुषकले तिर्ने सिद्धान्त) तथा वातावरणवाट सेवा लिएवापत वातावरण जोगाउनका लागि निश्चित रकम तिर्ने सिद्धान्त (वातावरणीय सेवाहरुको भुक्तानी) जस्ता उपागमहरु अपनाएर वातावरण सरंक्षणका लागि नीतिगत, संस्थागत, कानुनी व्यवस्था मिलाएर प्रभावकारी कार्यान्वयन गर्न सके सौम्य, स्वच्छ, सफा वातावरणकोे परिकल्पना छिटै साकार हुनेछ । साचो अर्थमा प्रकृति र आगामी पुस्ताप्रति न्याय गरेको ठहरिनेछ ।

वातावरण दिवसको आयोजना औपचारिकतामा मात्रै सीमित नभई एउटा साझा अभियान बन्नुपर्छ । आशा गरौं, यसपालिको वातावरण दिवसले पूर्ण सार्थकता पाउनेछ र आम जनताको वातावरणप्रतिको चेतना र प्रकृति संरक्षणमा नयाँ गति ल्याउनेछ ।

(थापा भू तथा जलाधार संरक्षण विभागका उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment