Comments Add Comment

आईसीपीबाट आयात निर्यातमा वृद्धि

२२ जेठ, वीरगञ्ज । पछिल्लो समयमा वीरगन्ज महानगरपालिका-१७ अलौंस्थित नवनिर्मित एकीकृत जाँच चौकी (आईसीपी) बाट आयात निर्यातमा वृद्धि भएको छ ।

०७४ चैत २४ गतेदेखि संचालनमा आएको आईसीपीमा पछिल्लो दुई सातादेखि आयात निर्यातमा वृद्धि भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयबाट हुँदै आएको आयत निर्यातलाई आईसीपीतर्फ स्थानान्तरण गरेपछि वीरगञ्ज-रक्सौल नाकामा हुने जाम पनि हटेको छ ।

नेपाल भारत तथा तेश्रो मुलुकबाट नेपालका आयात तथा निर्यात गरिने सामानहरु विगत लामो समयदेखि वीरगन्ज स्थित मुल सडक शंकराचार्य गेट हुँदै आइरहेको थियो ।

सञ्चालनमा आएपछि शुरुका दिनमा ७० देखि ९० वटा ट्यांकर तथा ट्रकहरु आयात निर्यात हुँदै आएकोमा जेठ ८ गतेदेखि आयात निर्यातमा वृद्धि भएको नेपाल इन्टर मोडेल यातायात विकास समिति एकीकृत जाँच चौकी वीरगञ्जले जनाएको छ ।

पछिल्लो दिनमा दैनिक ४ देखि ५ सय ट्रक, टयांकर तथा बुलेटहरु आयात निर्यात भइरहेको नेपाल इन्टर मोडेल यातायात विकास समितिका निमित्त प्रमुख उज्जवल कुमार झाले बताए । ‘भन्सार दुई ठाउँमा बसेर काम गर्नुपर्ने अवस्था छ । आईसीपीबाट जाने गाडीलाई आईसीपीमै भन्सार जाँचपासको सुविधा छ,’ उनले भने, ‘ बाँकीले पुरानै भन्सारदेखि आउने जाने गरिरहेका छन् । भन्सारसँगै समन्वय गरेर आयातकर्ताहरुले आईसीपीतर्फबाट मालसमान ल्याएका हुन् । आंशिक रुपमै सञ्चालनमा आएको भएपनि विस्तारै चाप बढीरहेको छ ।’

आईसीपी हुँदै जेठ ८ गतेदेखि २० गतेसम्म भारत तथा तेश्रो मुलुकबाट आयात सामान बोकेको १४ हजार ४ सय ७३ वटा सवारीका साधनहरु आयात भएको छ भने सोही हाराहारीमा सवारीहरु नेपालबाट भारततफ गएका छन् ।

जेठ ८ गते ३ सय ३१ वटा, ९ गते ४ सय ७ वटा, १० गते ४ सय ६८ वटा, ११ गते ३ सय ९८ वटा, १२ गते ५ सय ३० वटा, १३ गते ४ सय २२ वटा तथा १४ गते ४ सय ३८ वटा, १५ गते ४ सय ४४, १६ गते ४ सय ५०, १७ गते ५ सय ८४, १८ गते ३ सय ५८, १९ गते ५ सय, २० गते ४ सय ७२ र २१ गते ४ सय ६३ वटा सामान बोकेको सवारीहरु आईसीपी हुँदै नेपाल भित्रिएका छन् । सोही परिमाणमा सवारीसाधन आईसीपी भएर भारततर्फ गएका छन् ।

त्यसैगरी यातायात विकास समितिले आईसीपी सञ्चालनमा आएपछि ६३ लाख १७ हजार भन्दा बढी आम्दानी समेत गरिसकेको छ ।

आयात निर्यातमा सहजिकरण गरेवापत समितिले इन्ट्री फि, पार्किङ शुल्क, तौल शुल्क र गोदाम शुल्क लिँदै आएको विकास समितिका अधिकृत मिथलेश कुशवाहाले जानकारी दिए ।

दुई देश बीच हुने व्यापार सहजीकरण र खुल्ला नाकाबाट हुने विचलन नियन्त्रण गर्ने उद्देश्यले सन २०११ जुलाईमा शिलान्यास गरि एकिकृत जाँच चौकी निर्माण कार्य शुरु गरिएको थियो ।

दुई वर्षभित्र सन्चालनको लक्ष्य राखेर सन् २०११ मा निर्माण सुरु भएको आईसीपी भारततर्फ २०७३ सालको जेठ अन्तिम सातादेखि नै सन्चालनमा आएको थियो ।

नेपाल तर्फ पटक्पटक म्याद थप गरेर २०७४ चैत २४ गते भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

भारत सरकारले ८६ करोड नौं लाख भारु अर्थात -नेरु एक अर्ब ३९ करोड) को लागतमा निर्माण गरेको आईसीपी १ सय १० विगाहा जमिनमा फैलिएको छ ।

आइसीपी पूर्ण क्षमातामा सन्चालनमा आएपछि आयात निर्यातकर्ताहरुले कम समयमै सहज रुपमा बस्तु आयात निर्यात गर्न सक्ने तथा सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment