२३ जेठ, पोखरा । लेखनाथसँग मिलेर पोखरा भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका बन्यो । ग्रामीण तथा सहरोन्मुख साविकका गाविस पनि महानगर भए । ग्रामिण इलाकाका वासिन्दाको आवाज थियो, ‘हामीले महानगरवासी भएको महसुस गर्न पनि पाऔं ।’
महानगरपालिकामा मेयरका उम्मेदवार मानबहादुर जिसीले महानगरवासीको महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताले भोट दिए र जिसी मेयर बने । कतै धुलाम्मे त कतै हिलाम्मे कच्ची सडक हुँदै भोट माग्न पुगेका मेयर जिसीले घोषणापत्रबाटै भने, ‘प्रत्येक वडामा सडक सञ्जाल पुर्याउँछु । भइरहेका बाटोको स्तर बढाउँछु । जनताले वडा कार्यालय पुग्न दुःख पाउँदैनन् ।’
कति वडासम्म पुग्ने ग्राभेल सडक अझै छैनन्, अझै पनि पानीको निकास नहुँदा कतिपय सडक हिलाम्मे छन् । तर, मेयर जिसीले प्रत्येक वडालाई सडक सञ्जालले जोड्ने कामको सुरुआत भने गरेका छन् ।
पोखरा महानगरपालिकाले वडादेखि वडासम्म सडक सम्पर्क निर्माण गर्न ‘कनेक्टिभिटी सडक निर्माण कार्यक्रम’ ल्याएर मेयर जिसीले ३० करोड रुपैयाँ छुट्याएका थिए । अहिले सडक सञ्जालले नछोएका वडामा सडक निर्माणको काम भइरहेको छ भने भएका सडकको स्तरोन्नती गर्ने काम भइरहेको छ ।’यो आर्थिक वर्षमा हामीले सुरुआतमात्रै गरेका छौं । वडादेखि वडासम्म सडक निर्माण, स्तरोन्नती गर्ने काम भइरहेको छ,’ मेयर जिसीले अनलाइनखबरसँग भने, ‘पाँच वर्षमा सबै वडामा सडक सञ्जालमात्रै होइन, स्तरीय महानगरभित्रका त्यस्ता वडामा ३० वटा सडक अहिले निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।
सडक सञ्जालको काम हेरिरहेका इन्जिनियर राजु रेग्मी भन्छन्, ‘एकै वर्षमा सबै सडक स्तरीय बन्दैनन्, कम्तीमा वडा कार्यालयसम्म सडक पुर्याउने र त्यसमा नियमित सवारी साधन जान मिल्ने बनाउने हो ।’
३३ वटा वडा रहेको पोखराका ११, १६, १८, २०, २१, २२, २४, २६, २७, २८, ३१, ३३ लगायतका वडामा अहिले सडक सञ्जालले जोड्ने र स्तरोन्नति गर्ने काम भइरहेको इन्जिनियर रेग्मीले बताए । ग्राभेल र ड्रेनेज गरी क्रमशः सडक कालोपत्रे गर्दै लैजाने योजना मेयर जिसीले बनाएको उनका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
महानगरपालिका प्रमुख जिसीले सडक निर्माणको काम छिटोभन्दा पनि स्थायी बनाउनेमा आफूहरुको ध्यान रहेको बताए । उनले भने, ‘हामीले चलाएका कामहरु स्तरीय र स्थायी होउन् भन्ने हाम्रो मूल धारणा हो । अब छिटो बनाएर छिटै बिगार्न पनि भएन ।’
मापदण्ड पूरा गरेर काम गर्दा ढिलो भए पनि काम राम्रो हुने जिसी बताउँछन् । राम्रो कामको प्रतिफल जनताले १-२ वर्षमा पाउने उनको भनाइ छ ।
योजनाका इन्जिनियर राजु रेग्मीका अनुसार बनिरहेका सडकको न्यूनतम चौडाइ ६ मिटर राखिको छ । निर्माणाधीन ३० वटा सडकमध्ये २७ वटा सडक निर्माणको जिम्मा टेन्डरमार्फत र ३ वटा सडकको उपभोक्ता समितिले गरिरहेका छन् ।
काममा भएको ढिलाइबारे बताउँदै उनले भने, ‘आर्थिक स्रोतको अभाव र माटो खनेको ठाउँमा तुरुन्तै ड्रेनेज गर्न नमिल्ने भएकाले पनि समस्या देखापरेको हो । नत्र प्रारम्भिक काम पहिले नै सकिने थियो ।’
आर्थिक अभावबारे प्रमुख जिसीले बाटो अनुसारको खर्च हुने बताए । योजनाका धैरैजसो पहिल्यै ट्र्याक खुलिसकेका बाटा भएकाले त्यसमा बढी पैसा खर्च नगरी स्तरोन्नती र संरक्षण मात्र गरिनुपर्ने बताए । उनले भने, ‘अब ती बाटाहरुलाई जेठभित्रै ग्राभेल र पानी निकासा गराएर अर्को आर्थिक वर्षमा कालोपत्रे गरिनेछ ।’
असार मसान्त आउँदै गर्दा बनेका बाटालाई पनि पानीले बिगार्ने र यो आर्थिक वर्षका योजनाहरु अपूरै रहने सम्भावना बढिरहेको छ । वडालाई महानगरसम्म जोड्न प्रभावकारी बन्न सक्ने कनेक्टिभिटी सडक निर्माण कार्यक्रम समयमै पूरा हुन नसक्ने देखिएको छ । ‘जम्मा ३० करोड रुपैयाँले सबै सडक निर्माण सम्पन्न हुँदैनन् । एउटै सडकलाई पिच गर्न कम्तीमा १०/१२ करोडसम्म लाग्छ,’ इन्जिनियर रेग्मीले भने । अर्को आर्थिक वर्षमा सडक सञ्जाललाई स्थायी र भरपर्दो बनाउने गरी बजेटको व्यवस्था गर्ने मेयर जिसीले बताए ।
प्रतिक्रिया 4