Comments Add Comment

रामकृष्णले सम्झिए लता मंगेशकरसँग गीत गाउँदाको क्षण

रामकृष्ण ढकालका सात गीतका कथा

बाल्यकालमै नारायण गोपालका गीत गाएर चर्चामा आएका गायक रामकृष्ण ढकालले अन्ततः नेपाली संगीत क्षेत्रमा आफ्नै स्थान बनाउन सफल भए । विशेषतः आधुनिक संगीतमा उनको ठूलो नाम छ, उच्च फ्यान फलोइङ छ ।

रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका ढकालले त्यसपछि पछाडि फर्केर हेर्नु परेन । उनले गाएका दर्जनौं गीत सदाबहार लोकपि्रय छन् । हालै आफ्नो नयाँ गीत ‘बाटो गल्लीको देवता’ लिएर दर्शक-स्रोतामाझ आएका छन्, ढकाल ।

यिनै गायकले अनलाइनखबरसँग आफ्ना सात वटा गीतहरुको चर्चा गरेका छन्, जसले उनलाई आजको स्थानमा पुर्‍याउन सबैभन्दा बढी भूमिका खेले ।

१. ओराली लागेको हरिणको चाल भो

यो मैले गाएकोमध्ये सबैभन्दा लोकपि्रय गीत हो । २०५५ सालमा मैले ल्याएको ‘आशा’ एल्बममा यो गीत समावेश थियो । त्यसो त आशा एल्बमका सबै गीत चर्चित भएका थिए । त्यसमा पनि ‘ओराली लागेको…’ त ब्लकबस्टर नै भयो ।

यो गीत कम्प्ाोज गर्न धेरै मिहिनेत भने परेको थिएन । करिब आधा घण्टामै संगीतकार न्हू बज्राचार्यले यसको ट्यून तयार पार्नुभएको हो । आनन्द अधिकारीले लेखेका शब्दहरु मार्मिक थिए । यद्यपि, शुरुमा मलाई यो गीतबाट धेरै आशा थिएन । मुम्बईमा गीत रेकर्ड गर्न गइयो । त्यहाँ मिक्सिङ गरेर सुन्दा भने आफ्ना शरीरमा काँडा उमि्रयो । अनि मलाई लाग्यो कि यो गीतले केही गर्छ ।

यो गीत गाए लगत्तै सांगीतिक कार्यक्रमका लागि म हङकङ गएको थिएँ । करिब डेढ महिना बसाइँ भयो । निकै होम सिक भएको थियो । त्यतिबेला म यही गीत सुन्थेँ । मेरो आँखाबाट धर धरी आँशु बग्थ्यो । अहिले पनि जहाँसुकै गीत गाउँदा यो गीत छुटाउँदिनँ ।

२. बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस

राष्ट्रिय भावनाले ओतप्रोत बुलन्द गीत हो यो । यो गीतमा मलाई गर्व छ । कालीप्रसाद रिजालले लेख्नुभएका शब्दहरु पहिलोपटक पढ्दा नै मेरो आङ जिरिंग भएको थियो ।

यो गीतले विदेशमा बस्नुभएका नेपालीहरुलाई अझ बढी ‘टच’ गर्छ । मैले विदेशमा यो गीत गाउँदा नेपालीहरु धरधरी रुनुहुन्छ । म प्रायः आफ्नो प्रस्तुतिको सुरुवात नै यही गीतबाट गर्ने गर्छु । अष्ट्रेलियामा बस्दै आउनुभएका एक युवा यही गीतले प्रेरित गरेर सधैंको लागि नेपाल फर्किनुभएको छ । उहाँ अहिले एउटा बैंकमा काम गर्नुहुन्छ । यस्ता धेरै किस्साहरु छन् ।

यो गीतको पूर्वराष्ट्रपति डा. रामवरण यादव, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले तारिफ गर्नुभएको छ । बीबीसी नेपाली सेवाको वल्र्ड सर्भेमा सर्वोत्कृष्ट सूचीमा परेको थियो । अहिले यसलाई थुप्रै एफएमहरुले सिग्नेचर ट्यूनका रुपमा बजाइरहेका छन् ।

पहिलोपटक यो गीत ०५३ सालमा रेकर्ड गरिएको थियो । पछि आलोक श्रीले आफ्नो एल्बम ‘छाया’ मा समावेश गर्ने क्रममा फेरि रेकर्ड गरियो । अहिले ‘बाचुञ्जेल’ एल्बममा अन्तरा केही परिवर्तन गरेर तेस्रोपटक रेकर्ड गरिएको छ । ‘नेपाली श्रम र सीपको प्रभाव दिगन्त फैलियोस, मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस’ भन्ने अंश हटाएर ‘थरीथरी फूलहरु मिलिजुली फुलिरहनू, छरी मिठो मिठो सुवास सधंैभरी झुलिरहुन्, यो एकता खण्डता अटुट देख्न पाइयोस्’ भन्ने अंश थप गरिएको छ । समयानुकूल बनाउने हिसाबले कालीप्रसाद दाइ आफैंले थप्नुभएको हो । नयाँ भर्सन यूट्यूवमा आएको छैन ।

३. हाम्रो सुन्दर संसार थियो

मैले रेकर्ड गराएको पहिलो गीत हो, ‘हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो’ । मेरो भाग्य, पहिलो गीत नै हिट भयो । त्यतिबेला म १८-१९ वर्षको थिएँ होला । त्यसो त मैले १४ वर्षकै उमेरमा एकल सांगीतिक कार्यक्रम गरिसकेको थिएँ । तर त्यतिबेला नारायण गोपालका गीतहरु गाउँथेँ । आफ्नो गीत थिएन । रेडियो नेपालबाट स्वर परीक्षा पास गरिसकेपछि यो गीत गाएको थिएँ । त्यतिबेला गीत रेकर्ड गराउने ठाउँ रेडियो नेपाल नै थियो ।

रेडियो नेपालले गीत रेकर्ड गराउँदा श्रेणी अनुसार पैसा दिन्थ्यो । म ‘ग’ श्रेणीमा थिएँ । यो गीतबाट १ सय ५० रुपैयाँ पारिश्रमिक पाएको थिएँ । तर गीतका लागि मेरो चार-पाँच सय खर्च भएको थियो । रेडियो नेपालमा भ्वाइलिन थिएन । बाहिरबाट आफ्नै खर्चमा ल्याउनुपथ्र्यो । ५-६ जना प्राविधिकहरुलाई रेस्टुरेन्टमा खाजा खुवाउनुपथ्र्यो । जेहोस यो गीतले मलाई चिनाउन धेरै मद्दत गर्‍यो । ०४५ सालमा रेकर्ड गरिएको यस गीतलाई दिनेश सुब्बाले लेख्नुभएको र संगीत दिनुभएको हो ।

४. माया गर्नेको चोखो माया पनि देखियो

मेरो लागि यो गीतको विशेष महत्त्व छ । किनकि यो गीत कालीप्रसाद दाइले नारायण गोपाल दाइका लागि लेख्नुभएको थियो । आफ्नै संगीतमा नारायण गोपाल दाइले स्टेजमा गाउनुभएको पनि थियो । तर रेकर्ड नगराउँदै उहाँ बित्नुभयो ।

मैले वास्तवमा कालीप्रसाद दाइसँग स्वीकृति नलिइकन यो गीत रेकर्ड गराएको थिएँ । नारायण गोपालले दुई अन्तरा गाउनुभएको थियो । ‘सबको भगवान छ’ भन्ने अन्तरा पछि थपिएको हो । रेकर्ड गरेर पहिले कालीप्रसाद दाइलाई नै सुनाएँ । उहाँले कस्तो मान्नुहुने हो भन्ने खुल्दुली थियो । जे होस खुशी हुनुभयो । यो गीतलाई आशीर्वाद एल्बममा समावेश गरेको थिएँ । मैले गाएका सदाबहार लोकपि्रय गीतमध्ये यो पनि एउटा हो ।

५. रिसाउँदा नि आफ्नै, खुशी हुँदा नि आफ्नै

मैले शुरुदेखि नारायण गोपालको गीत गाउँदै आएँ र मलाई जुनियर नारायण गोपाल भन्ने गरिन्थ्यो । जतिबेला ‘माया गर्नेको चोखो माया देखियो’ हिट भइसकेको थियो, तर त्यो मेरोभन्दा पनि बढी नारायण गोपालको गीत थियो । म आफन्ै मौलिक पहिचानको खोजीमा थिएँ । त्यतिबेला मलाई ‘रिसाउँदा नी आफ्नै’ ले हेल्प गर्‍यो । यसले मेरो ब्रान्डिङ गरिदियो ।

बम्बईमा रेकर्ड गरिएको यो गीतमा रमण घिमिरेको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत रहेको छ । असाध्यै मेलोडियस छ गीत । घरमा श्रीमान्-श्रीमतीबीच झगडा हुँदा होस् वा प्रेमी-प्रेमीकाबीच ठाकठुक हुँदा होस्, फकाउनका लागि यो गीत सही छ । (मेरो हकमा कुरा गर्दा चाहिँ प्रोफेसन नै गीत गाउने भएकाले होला, गीत गाएर फकाउन गाह्रो छ ।)

अर्को कुरा, यो गीत अन्ताक्षरी गाउँदा पनि खुब प्रयोग हुन्छ । अन्ताक्षरीमा प्रायः ‘र’ अक्षरको गीतको अभाव हुन्छ । ‘र’ आउनासाथै धेरैले रिसाउँदा नि आफ्नै सम्भिmहाल्छन् । यसका साथै स्टेजमा पनि यो गीतको निकै माग हुन्छ । यो गीत गाउँदा मलाई पनि निकै उर्जा आउँछ ।

६. जिन्दगीले यसरी धोका दियो कि

मैले पहिलोपटक चलचित्रका लागि गाएको गीत हो, यो । त्यतिबेला म आधुनिक संगीतमा चिनिइसकेको भए पनि चलचित्रमा मेरो स्वर सुट गर्दैन भन्ने धेरैले ठान्थे । अर्को कुरा, गीत रेकर्ड गर्न मुम्बई जानुपर्ने भएकाले यताबाट गायक-गायिका लैजानुको साटो उतैका गायक-गायिकालाई गाउन दिने प्रचलन थियो । त्यस्तो बेलामा शम्भुजीत दाइले ०५० सालमा मलाई मुम्बई लागेर यो गीत रेकर्ड गराउनुभयो ।

रेडियो नेपालले गीत रेकर्ड गराउँदा श्रेणी अनुसार पैसा दिन्थ्यो । म ‘ग’ श्रेणीमा थिएँ । यो गीतबाट १ सय ५० रुपैयाँ पारिश्रमिक पाएँ । तर, गीतका लागि मेरो चार-पाँच सय खर्च भएको थियो ।

खासमा यो गीत नारायण गोपाल दाइका लागि भनेर लेखिएको रहेछ । तर नारायण गोपाल दाइ बित्नुभएपछि कसलाई गाउन दिने भन्ने चर्चा हुँदा उहाँजस्तै मिल्दोजुल्दो स्वर भएकाले मेरो नाम प्रस्ताव भएको रहेछ । त्यो चलचित्रका लागि मैले दुइटा गीत गाएँ । अर्को गीत ‘यो हाम्रो पहिलो रात’ बोलको थियो । दुवै गीत चर्चित बने । यी दुई गीत गाएपछि मैले फिल्ममा गाउने ढोका खुलेको हो ।

नेपालबाट गायक-गायिका मुम्बई लैजान नै महँगो पर्ने अवस्थामा त्यो गीतबाट पारिश्रमिक पाउने अवस्था त थिएन । तर बम्बईबाट फर्केपछि गीतकार तथा फिल्मका प्रोड्यूसर उत्तमलाल श्रेष्ठले मलाई खुशी भएर पाँच हजार रुपैयाँ दिनुभएको थियो ।

७. फूल भन्छ फूलिरहुँ, जून भन्छ चम्किरहुँ

मैले भारतीय गायिका लता मंगेशकरसँग युगल गीत गाउने वास्तवमा कल्पना गरेको थिइनँ । तर त्यो मौका पनि जुर्‍यो । उहाँसँग युगल गीत गाउने म पहिलो र अहिलेसम्मको एक मात्र नेपाली गायक हुँ ।

म मुम्बई धेरै आउजाउ गर्ने भएकाले त्यता पनि मेरो गुडविल राम्रो बनिसकेको थियो । नेपाली संगीतकार शिखर सन्तोष लामो समयदेखि मुम्बईमा सक्रिय हुनुहुन्थ्यो । उहाँको संगीतमा मैले ‘पहाडको छुकछुके रेल’ गाएको थिएँ, जुन हिट भएको थियो । उहाँको लता मंगेशकरका म्यानेजरसँग चिनजान रहेछ । एकपटक ट्राई गरी हेरौं न भन्ने कुरा भयो । आनन्द अधिकारीले लेखेको गीतमा मेरो स्वर भरेर म्यानेजरमार्फत लताजीकहाँ पुर्‍याइयो । उहाँलाई मेरो स्वर मन परेछ । मेरोबारेमा अरु सोधखोज गर्नुभएछ । नेपालको नामी गायक हो भनेर बि्रफिङ गरेपछि मसँग गाउन तयार हुनुभएछ ।

म नेपालमा थिएँ । ड्राइभिङ गरिरहेको थिएँ । लताजीको म्यानेजरको फोन आयो । उहाँले लताजी कुरा गर्न खोज्दै हुनुहुन्ुछ भन्नुभयो । म त नर्भस झैं भएँ । गाडी साइड लगाएँ । लताजीले कुरा गर्नुभयो । उहाँले मेरो स्वरको प्रशंसा गर्नुभयो र मसँग गाउने इच्छा व्यक्त गर्नुभयो ।

‘तपाईंको स्वर अति राम्रो रहेछ । तपाईंको हाराहारीमा त म गाउन सक्दिनँ होला तैपनि प्रयास गर्छु,’ उहाँले यसै भन्नुभएको थियो । म छक्क परेँ ।

‘तपाईंसँग गाउन पाउनु त मजस्तो गायकको अहोभाग्यको कुरा हो,’ मेरो मुखबाट यस्तै शब्द निस्किए । त्यसलगत्तै म मुम्बई गएर यो गीत रेकर्ड गराएँ ।

गीत गाउँदा विश्वास लागिरहेको थिएन कि म लता मंगेशकरसँग गाउँदैछु भन्ने । आफैंलाई चिमोटेँ पनि । जे होस यो क्षण मेरो लागि अविस्मरणीय थियो ।

गीत गाएपछि मलाई सबैले बधाई दिए । लताजीले जो पायो त्योसँग गाउनुहुन्न तिमी भाग्यमानी हौ भने । मैले पनि आफूलाई भाग्यमानी नै सम्झिएँ । लताजीले अरुसँग भन्नुभएछ, यो मान्छे पहिले नै यता आएको भए यहाँका मै हुँ भन्नेलाई सुताउने थियो । तर, मेरो भने मुम्बईमा गएर संघर्ष गर्ने सोच कहिल्यै आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment