+
+
Shares

फेसन डिजाइनर रोजिना श्रेष्ठको अनुभव, ‘कुन सेलिब्रेटी कति, फेसन कन्सस ?’

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते ८:५०

रोजिना श्रेष्ठ, यो नामलाई चिन्ने अर्को उपमा हो, कायरा बुटिक । शहरका चल्तापूर्जा ब्रान्ड हो, कायरा बुटिक । तर, ७ बर्षअघि फेसनको दुनियाँमा प्रवेश गरिरहँदा रोजिनालाई लागेको थिएन, फेसनको संसार यति आयमिक छ । जसै उनी फेसनवृत्तमा छाइन्, यसका लम्बाई-चौडाई राम्ररी अनुभव गर्ने मौका पाइन् ।

जहाँ पनि बुटिक, जस्तो पनि बुटिक । हरेक सटरमा बुटिक । एउटा स्विङ मेशिन राखेर बोर्ड झुन्ड्याए भो, फलानो बुटिक । यस्तो भिडभाडमा एउटा नयाँ ब्रान्डलाई वास्तवमै बुटिकको रुपमा स्थापित गर्न सजिलो छैन । त्यही असजिलो काम गरेर रोजिनाले आफ्नो ब्रान्ड चिनाइन् ।

सेलिब्रेटीका डिजाइनर

रोजिनाको हातबाट तयार पहिरन नलगाउने नेपाली सेलिब्रेटी सायदै होलान् । खासगरी चल्तापूर्जा सेलिब्रेटीले उनको डिजाइन रुचाए । कलाकर्मीको संगतबाट उनले के थाहा पाइन् भने, कसलाई कस्तो डिजाइन खुल्छ ? कस्तो रंग सुहाउँछ ?

नेपाली सेलिब्रेटीको नाम लिएर, कुन सेलिब्रेटीलाई कस्तो पहिरन उपयुक्त हुन्छ भनेर सोधौं, जवाफ उनको मुखमै झुन्डिएको छ । उनी फटाफट भन्न सक्छिन्, भूवन दाईलाई यस्तो कलर खुल्छ, दीपा श्री दिदीलाई यस्तो स्टाइल राम्रो देखिन्छ, दीपिकालाई (प्रसाईं) यस्तो डिजाइन राम्रो देखिन्छ ।

हुन पनि उनले सात बर्षे करियरमा सबैजसो सेलिब्रेटीको आङ नाप्ने मौका पाइन् । यसबीचमा उनले सेलिब्रेटीको फेसन सेन्स कस्तो छ भन्ने कुराको भेउ पाइन् । उनी भन्छिन्, ‘सेलिब्रेटीलाई फेसन सेन्स हुनुपर्छ, तर कतिपय सेलिब्रेटी फेसनमा त्यती ख्याल राख्दैनन् ।’

सेलिब्रेटीहरु फेसनको पारख त गर्न खोज्छन्, तर ढंग पुग्दैन । भुवन केसीको हकमा भने कुरा फरक छ । उनी यस्ता अभिनेता हुन्, जसलाई फेसनको बारेमा अधिक ज्ञान छ । रोजिना भन्छिन्, ‘भुवन दाई कुनै डिजाइनको कुरा गर्न आउनुभएको छ भने पुरा माइन्ड मेकअप गरेर आउनुहुने । जब उहाँ यस्तो डिजाइन बनाउनुपर्छ है भन्दै मलाई कन्सेप्ट सुनाइरहनुभएको हुन्थ्यो, ‘वाउ’ भन्ने लाग्थ्यो ।’

भूवन परिहनको बारेमा यति ख्याल राख्छन् कि, उनलाई कस्तो डिजाइन, कसलाई सुहाउँछ, कसरी लगाउनुपर्छ भन्ने कुराको एकदमै ख्याल छ । यो कुरा त भुवन पुत्र अनमोल केसीले पनि अनलाइनखबरसँग भनेको थियो । अनमोलले सुनाएको थियो, ‘मलाई भन्दा बढी उहाँलाई स्टाइल थाहा हुन्छ । कुन लुगा कसरी लगाउने भन्ने कुरा उहाँले नै सिकाउनुहुन्छ ।’

पछिल्लो समयकी चल्तीकी अभिनेत्री दीपिका प्रसाईं पनि फेसनको मामलामा निकै सचेत रहेको रोजिनाको बुझाई छ । ‘दीपिका फेसन कन्सस छिन्’ रोजिना भन्छिन्, ‘उनको जिउडाल पनि छरितो र राम्रो छ ।’

र्‍याम्पमा सेलिब्रेटी 

रोजिनालाई राम्रोसँग के हेक्का छ भने, फेसनबृत्तमा सानोतिनो फन्डा चाहिन्छ । आफुमा फेसन शिल्प भएर मात्र पुग्दैन । त्यसलाई बजारमा फैलाउनका लागि यस्ता टुल्सको प्रयोग गर्नुपर्छ, जसले आफ्नो पहिरनको दायरा बढाइदिन्छ ।

रोजिनालाई लाग्थ्यो, केही न केही गरेर आफ्नो डिजाइनलाई बाजरमा फैलाउन पाए हुन्थ्यो ।

यसका लागि गतिलो माध्याम बन्यो, र्‍याम्प शो । यसका लागि उनले नाम जुराइन ‘कायरा रन वे ।’ यहि शिर्षकमा उनले आफ्नो डिजाइनमा नेपाली सेलिब्रेटीलाई सजाइन् र र्‍याम्मा उतारिन् । यस्ता सेलिब्रेटी कमै होलान्, जसले कायरा रन वेमा र्‍याम्प नापेका छैनन् । राजभाई सुवाल, स्वस्तिमा खड्का लगायतका सेलिब्रेटीले पहिलो शृंखलामा साथ दिए । त्यसपछिका दिनमा उनले एक से एक सेलिब्रेटीलाई ‘कायरा रन वे’मा उतारिन् । यसले उनलाई राम्रो नेम र फेम दियो ।

त्यसो त नेपाली सन्दर्भमा र्‍याम्प शोको प्रभावकारिताबारे प्रश्न उठाउने गरिन्छ । र्‍याम्प शोको उपयोगिताबारे पनि ठोस उपलब्धि देखिदैन । यद्यपी रोजिनाले भने, र्‍याम्प शोकै माध्यामबाट आफ्नो ब्रान्डलाई थप फैलाउने मौका पाइन् ।

‘र्‍याम्प शोका आ-आफ्नै थिम हुन्छ, कसैले यसमा आफ्नो क्रिएटिभिटी देखाउँछन्, जुन व्यवहारिक प्रयोगमा नआउने सक्छ’ रोजिना भन्छिन्, ‘तर मैलें तयार गरेको डिजाइन चाहि प्रयोगमा ल्याउनकै लागि हुन्थ्यो ।’

कायरा रन वे बाहेक अन्य थुप्रै र्‍याम्प शोमा समेत रोजिनाले आफ्नो डिजाइन पेश गरिसकेकी छिन् । यसरी र्‍याम्प शो आयोजना गर्दा आफ्ना ‘क्लाइन्ट’लाई आमन्त्रित गर्ने गरिएको उनले बताइन् । ‘क्लाइन्टले हेरेपछि त्यो डिजाइन रुचाउँछन्’ रोजिना भन्छिन्, ‘त्यसको माग बढ्छ ।’

नेपाली फिल्ममा कस्ट्युम डिजाइन

रोजिनाले सेलिब्रेटीलाई आफ्नो डिजाइनमा र्‍याम्पमा उतारेका मात्र छैनन्, फिल्मका लागि कस्ट्युम डिजाइन पनि गरिदिएकी छिन् । छक्का-पञ्जा, कृ, ए मेरो हजुर जस्ता फिल्मका लागि  उनले कस्ट्यम डिजाइन गरेकी छिन् ।

यद्यपी उनले विशेष दृश्यका लागि, अभिनेत्रीको ड्रेस डिजाइन गर्ने गरेकी छिन् । ‘फिल्मको लागि ड्रेस डिजाइन गर्नुअघि म सिन र सिक्वेन्सबारे छलफल गर्छु’ रोजिना भन्छिन्, ‘अनि त्यही अनुसार कन्सेप्ट तयार गरेर डे्रस बनाउँछु ।’

फेसन कन्सस टिनएजर्स

अहिलेका टिनएजर्समा निकै राम्रो फेसन कन्सस रहेको उनले बताइन् । ‘नेपाली टिनएजर्स स्टाइलिस छन् र उनीहरु फेसनेवल पनि छन्’ रोजिना भन्छिन्, ‘तर उनीहरुले आफ्नो शरीर वा रुपरंग अनुसार नभई बाहिर देखिने फेसनलाई फलो गर्छन् ।’

नेपाली टिनएजर्स बलिउडबाट निकै प्रभावित भएको उनको बुझाई छ । बलिउडमा हिरो, हिरोइनले लगाउने पहिरन स्टाइल नेपाली टिनएजर्समा सर्लक्कै सरेको देखिन्छ । जबकी नेपाली फिल्मबाट भने फेसन कपी गर्ने ट्रेन्ड देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?