Comments Add Comment

सागर थापाको प्रश्न – ‘सजाय’मा बितेको ३ वर्ष म बिर्सु कसरी ?

'अझै राष्ट्रिय टिमबाट खेल्न मन छ'


२४ जेठ, काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएपछि जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका छन् ।

राज्यविरुद्धको अपराधमा मुद्दा खेपेका उनीहरुले सफाइपछि विशेष अदालत परिसरमै आरोपसहित बाँचेको कठिन तीन वर्ष सम्झिरहेका थिए ।

राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापाले आरोप लिएर बाँच्न निकै सकस भएको र त्यसबाट सफाइ पाएसँगै राष्ट्रिय टिममा फर्किएर खेल्ने इच्छा बलियो बनेको बताएका छन् ।

‘यत्रो वर्ष देशका लागि खेलियो । त्यसमा लडेर आज न्याय पाउँदा खुशी लागेको छ । अब एएफसीमा, फिफामा पनि अपिल गर्नुपर्छ । त्यसपछि राष्ट्रिय टिममा फर्किएर खेल्न सक्छौं’ विशेष अदालत बाहिर भेटिएका उनले सुनाए, ‘अझै पनि राष्ट्रिय टिममा खेल्ने इच्छा छ ।’

यसो भन्छन् सागर

१५ वर्षभन्दा बढी समय फुटबलमा बिताउँदा केही भएन । सहज भयो । यो तीन वर्ष त्यो १५ वर्षभन्दा कयौं गुणा लामो भयो । गएको तीन वर्ष बिताउन निकै अप्ठ्यारो भयो ।मैले पढाइ छाडेर फुटबललाई करिअर बनाउँछु भनेर हिँडेको थिएँ । फुटबलमा करिअर बनेर उचाइमा पुग्ने बेला एक्कासी नराम्रो आरोप लागेर मैदानबाट बाहिर जिन्दगी बिताउन सहज हुन्छ त ?

जे जे आरोपहरु आए, त्यसले मेरो जिन्दगी नै डामाडोल बनाइदियो । त्यो झुटो रहेछ भनेर अदालतबाट प्रष्ट हुँदा खुशी लागेको छ । हिजोको त्यो आरोप लागेको दिनदेखि संघर्षमा थियौं । आज त्यसबाट न्याय मिलेको छ ।

आफ्नो उमेर, आफ्नो सबै कुरा त्यसमै फुटबलमै समर्पित गरेँ । मैदानबाट बाहिर हुनुपर्दाको दुःख गाह्रो छ । हामीले बारम्बार भनिरहेका थियौं । यो नचाहिने कुरा हो । त्यस्तो काम हामीले गरेकै थिएनौं । जुन गल्ती गरेकै होइन, त्यसका लागि फुटबलबाट टाढा राखेर यति भयानक सजाय नहोस् भनेका थियौं । अहिले त्यो कुरा प्रमाणित भएको छ ।

यसले साँचो बोलेको हो भनेर अदालतले भनिदिँदा अहिले खुशी लागेको छ । हामीलाई जे जे भनियो, जस्तो जस्तो व्यवहार गरियो । त्यसबाट बाहिर निस्किएर, आरोपहरुबाट मुक्ति मिल्दा आनन्द लागेको छ ।

हामीले त आरोपकै पनि सजाय पायौं । खेल्नुपर्ने बेलामा खेल छाड्नु पर्‍यो । त्यसले हामीलाई निकै पछाडि लग्यो । त्यो समय अब फर्किएर आउँदैन । मलाई अझै राष्ट्रिय टिममा खेल्ने इच्छा छ तर, त्यसरी नै खेल्न सक्छु भन्ने छैन । समय फेरियो ।

सबैभन्दा ठूलो सजाय बितेको तीन वर्ष नै हो । हामीलाई जसले यो अवस्थामा पुर्‍याएको छ उनीहरुमाथि पनि छानबिन होस् । नभएको आरोप लगाउनेले पनि सजाय पाओस् । त्यस्तो आरोप नलागेको भए हामी राष्ट्रिय टिममै खेलिरहेका हुने थियौं ।

अब कसरी भुल्ने त्यो तीन वर्ष ? मलाई उनीहरुले नराम्रो आरोप लगाएर निकै ठूलो खाल्डोमा पारीदिए । उनीहरुलाई केही भन्नु छैन ।

अदालतले सबै कुरा प्रष्ट पारिदिएको छ । समर्थकहरुले राम्रो समर्थन गरिरहेका थिए । तपाईंले एकदिन न्याय पाउनुहुन्छ भन्ने उनीहरुको समर्थनले सहज रुपमा बाँच्न हौसला दियो । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment