+
+
Shares

प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न खस आर्य समूहको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १८:०५

२४ जेठ, पोखरा । खस आर्य समुदायले प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न माग गरेको छ । खस आर्य समूहले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रदेश ४ ले सर्वसम्मत रुपमा सिफारिस गरेको ‘गण्डकी’ नै राख्न माग गरेको हो ।

यसअघि प्रदेश ४ का बहुसंख्यक सांसदहरु र यहाँका प्रदेशवासीहरुले दिएको सुझावको आधारमा विन्दुकुमार थापाको संयोजकत्वमा बनेको सुझाव समितिले प्रदेशको नाम ‘गण्डकी’ राख्न पहिलो नम्बरमै सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेको दोश्रो नाममा तमुवान-मगरात, तेश्रोमा गोरखा र चौथोमा धवलागिरि छ । तर, अन्य प्रस्तावित नाम भन्दा ‘गण्डकी’ प्रदेशको नाममा मतान्तर धेरै भएकाले ‘गण्डकी’ प्रदेश नै नाम रहने लगभग पक्काजस्तै देखिन्छ ।

खस आर्य समूहले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस भएपनि अझैपनि बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताएको छ । खबरदारी अन्तर्गत यहि जेठ २७ गते शान्तिपूर्ण जनर्‍याली निकाल्ने समूहले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाज नेपालका संस्थापक अध्यक्ष डा.दिलबहादुर क्षेत्रीले कुनै अमुक पार्टीले जातीय पहिचान झल्कने नाममा लविङ गर्न सांसदहरुलाई निर्देशन दिएकाले आफूहरु झस्किएको बताए ।

उनले दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

जातीय पहिचान झल्कने प्रदेशको नाम राख्ने पक्षमा मतदान गर्ने सांसदलाई आगामी चुनावमा खस आर्य समुदायले भोट नदिने चेतावनी दिदै उनले भने,’जसले जातीय पहिचानको पक्षमा भोट हाल्छन्, तिनीहरुको नाम डायरीमा टिपेर राख्छौं र आउने चुनावमा भोट हाल्दैनौं र सँधैको लागि बाईबाई गछौर्ं ।’

उनले पहिचानको नाममा राजनीति नगर्न आग्रह गर्दै प्रदेशको नाम ‘गण्डकी’ नराखेसम्म सबैलाई चनाखो भएर बस्न आग्रह गरे ।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले आदिवासीलाई आप्रवासी बनाउने प्रयास भइरहेको आरोप लगाए । लडाईंको अन्तिम चरणमा रहेको बताउँदै यसमा चुकियो भने दुर्घटना हुनसक्ने भएकाले सचेत रहन आग्रह गरे ।

ब्राहृमण समाज कास्कीका अध्यक्ष रामप्रसाद बस्ताकोटीले प्रदेशको नाम ‘गण्डकी’बाहेक दायाँबायाँ नगर्न चेतावनी दिए ।

विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश रसाईलीले खस आर्यको पहिचान जोगाउन हतियार उठाउनु परेपनि तयार रहेको बताए ।

खस आर्य समुहमा क्षेत्री समाज नेपाल, ब्राहृमण समाज नेपाल, ठकुरी संगम परिवार, नेपाल दशनामी समाज, रानाभाट समाज, विश्वकर्मा समाज, परियार समाज, कुँवर कुलायन संरक्षण समितिलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?