Comments Add Comment

कुलेखानी दोस्रोमा विद्युत उत्पादन बन्द, जनेरेटरमा समस्या


२५ जेठ, काठमाडौं । ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ ।

युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा/एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

वर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोस्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए । उनले त्यहींबाट आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधिलाईसमेत फोन गरी प्राविधिकलाई तत्काल आउने व्यवस्थाका लागि पहल गर्न निर्देशन दिए ।

केन्द्रका प्रमुख आभाष ओझालेे मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्टि्रक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने जानकारी दिए । त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ’, उनले भने ,’मर्मत छिट्टो सक्ने प्रयास गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment