Comments Add Comment

नेकपालाई उपेन्द्रको जवाफः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान तयार छौं


२६ जेठ, पोखरा । उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्टले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए ।

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो, हामीले चाहेको पनि त्यहि हो । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं ।’

यद्यपि नेपालका कम्युनिस्टहरु साइनबोर्ड झुण्ड्याउने तर, कम्युनिष्ट चरित्र नदेखाउने गरेको भन्दै उनले यसै भन्न नसकिने उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुँदा लोकतन्त्र झन् बलियो हुने भन्दै उनले भने, ‘यसले लोकतन्त्रलाई धरापमा पार्दैन, गणतन्त्र झन् बलियो हुन्छ ।’

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले नेपाल कम्युनिष्ट कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ थियो ।

समाजवादी शक्तिहरुसँग भने एकता हुने बताउँदै त्यसका लागि प्रयास भइरहेको उनले बताएका छन् ।

यादवले फोरम नेपाल अहिलेपनि जातीय पहिचानमा आधारित राज्य पुनर्संरचनाको पक्षमा रहेको बताए । उनले जातीय, क्षेत्रीय र वर्गिय समस्या समाधान नगरेसम्म राष्ट्रिय समस्या हल नहुने जिकिर गरे ।

स्वास्थ्यमन्त्री समेत रहेका यादवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई मेडिकल साईन्सको केन्द्र बनाउने बताए । पश्चिमाञ्चल क्षेत्रकै ठुलो अस्पतालमा भएकोले पनि प्रतिष्ठानलाई मेडिकल साईन्सको केन्द्रको रुपमा विकास गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment