+
+

विश्वकप समूह ईः ब्राजिललाई चुनौती दिने को ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते ९:५६

काठमाडौं । विश्वकप फुटबलको समूह ‘ई’ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् । स्टार खेलाडीले भरिएको टिम भएकाले ब्राजिलको सम्भावना बलियो रहे पनि अन्य टिमको उत्कृष्ट खेल शैली र तालमेललाई कमजोर आँक्न भने मिल्दैन ।

ब्राजिल

ब्राजिल रसिया विश्वकपका लागि सबैभन्दा पहिले छनोट हुने टिम हो । पाँच पटकको विश्व विजेता ब्राजिल गएको विश्वकपमा घरेलु मैदानमै सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित भएको थियो । लज्जास्पद हारबाट बाहिरिन र छैठौँ पटक विश्वकप जित्न यसपटक ब्राजिल टोली सक्षम देखिन्छ ।

ब्राजिलले सन् १९३० देखि २०१४ सम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो ।

२० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । चार पटक क्वाटरफाइनलबाट बाहिरिएको छ ।

मुख्य खेलाडी – नेमार

ब्राजिलको टिममा सबै स्टार खेलाडी छन् । त्यसमा पनि नेमार आफ्नो उत्कृष्टमा लयमा देखिन्छन् । बार्सिलोनाबाट अघिल्लो सिजन विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च  लिग वान क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) गएका नेमार यो विश्वकपकै स्टार खेलाडी हुन् । फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी नेमार आफ्नो दोस्रो विश्वकपमा सहभागी हुन लागेका हुन् । उनले यो सिजन पीएसजीबाट खेलेका ३० खेलमा २८ गोल गरेका छन् ।

प्रशिक्षक – टिटे

टिटेले ब्राजिलको जिम्मेवारी सम्हालेदेखि ब्राजिलको टिममा आश लाग्दो परिवर्तन देखिएको छ । टिटेले सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिएका हुन् । उनले जिम्मेवारी सुरु गर्ने बेला दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट तालिकामा ब्राजिल छैटौँ स्थानमा थियो ।

तर त्यसपछिका लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम बन्यो । उनले ब्राजिललाई यो पटक विश्वकपको उपाधिसम्म लैजाने आश गरिएको छ । सन् २०१७ को मार्च २८ मा पाराग्वेलाई ३-० ले हराएपछि ब्राजिलले विश्वकपमा स्थान पक्का गरेको थियो ।

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप सहभागिता हो । फिफा वरियतामा छैठौँ स्थानमा रहेको स्वीट्जरल्याण्ड यसअघि सन् १९३४, १९३८ र १९५४ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यसपटक पनि स्वीट्जरल्याण्ड क्वाटरफाइनलसम्म पुग्ने आश गरिएको छ । त्यसको छनक स्पेनसँग भएको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी गरेर स्वीट्जरल्याण्डले दिइसकेको छ ।

सन् २००९ मा यु १७ विश्व विजेता बनेको टोलीका धेरै सदस्य अहिले विश्वकप खेल्ने टोलीमा छन् । यसैले स्वीट्जरल्याण्डले आˆनो उत्कृष्ट खेल क्षमता देखाइरहेको छ ।

सन् २०१४ को ब्राजिल विश्वकपमा पनि स्वीट्जरल्याण्ड राम्रो लयमा थियो । त्यसबेला अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएको स्वीट्जरल्याण्ड टिम अहिले झनै बलियो बनेको छ ।

मुख्य खेलाडी – ग्रेन्ट हाका

हाका स्वीट्जरल्याण्डको सन् २०१७ का वर्ष खेलाडी हुन् । सन् २०११ देखि स्वीट्जरल्याण्ड टिममा रहेका उनले २०१४ को विश्वकपमा पनि राम्रो खेल देखाएका थिए । सन् २०१६ देखि इंग्लिस क्लब आर्सनलको मिडफिल्ड सम्हालिरहेका हाका स्वीट्जरल्याण्ड टिमका प्रमुख खेलाडी हुन् । उनले स्वीट्जरल्याण्डका लागि ६१ खेलमा ९ गोल गरेका छन् ।

प्रशिक्षक – भ्ल्यादिमिर पेट्कोविक

युगोस्लाभियाका पेट्कोविकले सन् २०१४ देखि स्वीट्जरल्याण्डको टिम सम्हालिरहेका छन् । पूर्व खेलाडीसमेत रहेका उनले स्वीट्जरल्याण्ड टिममा राम्रो प्रभाव पारिरहेका छन् । उनले स्वीट्जरल्याण्डलाई युरो २०१६ मा अन्तिम १६ सम्म पुर्‍याएका थिए । यसपटक विश्वकप छनोटमा पनि उनको राष्ट्रिय टिमसँगको तालमेल राम्रो देखिएको छ ।

कोस्टारिका

कोस्टारिकाको यो पाँचौ विश्वकप हो । सन् १९९० मा पहिलोपटक विश्वकप खेल्दा नै कोस्टारिक अन्तिम १६ सम्म पुगेको थियो ।

सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोस्टारिका सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो समय कोस्टारिका नेदरल्याण्ड्ससँग टाइबे्रकरमा ४-३ ले पराजित भएको थियो ।

विगतलाई हेर्दा र वर्तमान टोलीलाई नियाल्दा पनि कोस्टारिका बलियो टोली हो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिका यसपटक पनि राम्रा भनिएका टोलीका लागि चुनौती हो ।

मुख्य खेलाडी – ब्रायन रुइज

ब्रायन रुइज कोस्टारिका टिमका भरपर्दा खेलाडी हुन् । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनी परिआउँदा स्ट्राइकरको भूमिका पनि निर्वाह गर्न सक्छन् । गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा पनि उनको खेल उत्कृष्ट थियो । रसिया विश्वकप छनोटमा पनि उनले तीन गोल गरेका थिए । सन् २००५ देखि कोस्टारिका टिममा रहेका उनले १०१ खेलमा २३ गोल गरेका छन् ।

प्रशिक्षक – ओस्कार रामिरेज

सन् १९८३ देखि २००० सम्म मिडफिल्डरको रुपमा फुटबलमा रहेका कोस्टारिकाका रामिरेज २००२ देखि प्रशिक्षणमा लागेका हुन् । उनले सन् २०१५ देखि कोस्टारिकाको राष्ट्रिय टिम सम्हालिरहेका छन् । रसिया विश्वकपमा रामिरेजको प्रशिक्षणमा कोस्टारिका अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ ।

सर्बिया

फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । त्यो बेला युगोस्लाभियाकै रुपमा रहेको सर्बियाले त्यसपछिका विश्वकपमा भने सम्झनलायक सहभागिता जनाएको छैन ।
सर्बियाले सन् १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा पनि विश्वकप खेलेको थियो । त्यसमा १९९० मा क्वाटरफाइनलसम्म पुग्नु सर्बियाको ठूलो सफलता हो ।

२००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो ।

मुख्य खेलाडी – ब्रेनिस्लाव इभानोभिच

सन् २००५ देखि सर्बियाको राष्ट्रिय टिममा रहेका इभानोभिच सन् २०१२ देखि राष्ट्रिय टिमका कप्तानको रुपमा छन् । टिममा मुख्य डिफेन्डरका रुपमा रहेका उनले १०२ खेलमा १२ गोल पनि गरेका छन् । सन् २००८ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका उनी अहिले रसियामै व्यवसायिक फुटबलमा आबद्ध छन् । उनले चेल्सीमा रहँदा एकपटक च्याम्पियन्स लिग र तीन पटक इंग्लिस प्रिमियर लिग जितेका थिए । यसैले अनुभवि इभानोभिच सर्बिया टिमका भरपर्दा खेलाडी हुन् ।

प्रशिक्षक – माल्देन केस्टाजिक

सन् १९९२ देखि प्रशिक्षणमा लागेका माल्देन कोस्टाजिकले आˆनो प्रशिक्षणको धेरै समय सर्बियामै बिताएका छन् । सन् १९९९ देखि २००८ सम्म सर्बिया राष्ट्रिय टिमका प्रशिक्षक रहेका उनले सन् २०१६ देखि २०१७ सम्म पुनः सर्बियन टिम सम्हालेका थिए । बिचमा केही समय स्लावोलजव मुस्लिन प्रशिक्षक बने पनि केही समयमै उनलाई हटाएर पुनः माल्देनलाई नै प्रशिक्षक बनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?