काठमाडौं । रुसका डिफेन्डर इल्या कुतेपोवले विश्वकपमा आफूहरु पनि सक्षम रहेको भन्दै उरुग्वेका स्ट्राइकर लुइस स्वारेज हुन् या इजिप्टका मोहम्मद सलाह सबैलाई रोक्न सक्ने बताएका छन् ।
समूह ‘ए’ को रुस टिममा रहेका उनी उरुग्वे, इजिप्ट र साउदी अरेबिया सबैमाथि आफूहरु हाबी हुने बताउँछन् । कुतेपोवले एक पत्रकार सम्मेलनमा उरुग्वे र इजिप्टविरुद्ध खेल्ने प्रश्नमा त विवादास्पद जवाफ नै दिए ।
स्पार्टक मस्कोबाट व्यावसायिक खेल खेल्ने उनले दक्षिण अमेरिकी स्ट्राइकर स्वारेजले जस्तै परिआए आफूले पनि उनलाई टोक्न सक्ने बताएका छन् ।
ब्राजिलमा भएको अघिल्लो विश्वकपमा स्वारेजले इटालीका रक्षक जर्जियो चिलेनीलाई काँधमा टोकिदिएपछि उनलाई चार महिना सबैखालको फुटबल खेलमा प्रतिबन्ध लगाइएको थियो ।
स्वारेजलाई विपक्षी खेलाडीलाई टोकेको आरोपमा कारवाही गरिएको उक्त घटना तेस्रो थियो । त्यसअघि उनले आयक्स र लिभरपुलबाट खेल्दा पनि विपक्षी खेलाडीलाई टोकिदिएका थिए ।
‘सलाहको खेलको मलाई कुनै डर छैन, उनलाई रोक्ने एउटा तरीका त रामोसले सिकाएका छन्’ उनले सलाहसँग खेल्न पनि कुनै डर नलाग्ने बताउँदै भने, ‘मलाई च्याम्पियन्स लिगको फाइनलमा उनी घाइते भएकोमा कुनै चिन्ता लागेको थिएन तर, अब भने उनको स्वास्थ्य राम्रो होस् र रुससँगको खेलमा खेलुन् भन्ने लागेको छ ।’
रुसले विश्वकप उद्घाटन खेलमा लुजिन्कि रंगशालामा बिहीबार साउदी अरबको सामना गर्नेछ ।
प्रतिक्रिया 4