Comments Add Comment

पूर्वपञ्चहरुको एकता ‘गीत’: कार्यकर्ता टिकाइराख्ने मेलो मात्र

२७ जेठ, काठमाडौं । चुनावको पूर्वसध्यामा एक थान मन्त्रीका लागि फुटेका पूर्वपञ्चहरुले फेरि ‘एकता’को गीत गाउन थालेका छन् । नेताहरुले पार्टी एकताका लागि अध्यक्ष पद छाड्न तयार भएको वक्तव्य समेत दिएका छन् ।

पछिल्लो पटक पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताबारे वार्ता गर्न उपाध्यक्ष दिपक बोहोराको नेतृत्वमा समिति बनाएको छ । कमल थापा नेतृत्वको राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा समिति बनाइसकेका छ ।

राप्रपा राष्ट्रवादी अध्यक्ष रहेको प्रकाशचन्द्र लोहनी पनि एकताका लागि सकारात्मक नै छन् ।

उसो भए फेरि पूर्व पञ्चहरु एउटै राप्रपा बनाउन जुटेका हुन् ? बाहिर हेर्दा त्यस्तै देखिन्छ । दुबै पार्टीले वार्ता समितिहरु बनाएका छन्, कमल थापा स्वयंमले पार्टी एकता हुन्छ भने आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

तर, यो त्यति सजिलो छैन । किनकी कमल थापा र पशुपतिशम्शेरहरुले पार्टी एकताको गीत गाउनुका पछाडि जसरी हुन्छ पार्टी एकता गर्ने होइन, अरु नै कारण छन् ।

पहिलो कारणः ज्ञानेन्द्र शाहको दबाव

पूर्वपञ्चहरु चुनावमा पत्तासाफ भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई चिन्ता लागेको देखिन्छ । त्यसैले उनले पटक पटक राप्रपाका नेताहरुलाई भेट्न थालेका छन् ।

बैशाखमा उनले कमल थापा, पशुपतिशम्शेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीलाई एकै दिन तर, छुट्टा छुट्टै भेटे । यो भेटमा उनले देशका विभिन्न ठाउँमा जाँदा स्वभाविक रुपमा आफ्नो भेटघाट राप्रपाका नेता कार्यकर्तासँगै हुने र उनीहरुले पार्टी एकता होस् भन्ने चाहेको सुनाएका थिए ।

त्यसअघि पनि उनले विभिन्न नाममा राप्रपा नेताहरुलाई भेटेर एकताको दबाव दिने गरेका थिए ।

ज्ञानेन्द्रलाई भेटेपछि कमल थापा र पशुपतिशम्शेरबीच जेठ पहिलो साता बालुवाटारको एक होटलमा भेट भएको थियो । लगतै वीरगञ्जमा भएको पार्टीको बैठकमा थापाले पार्टी एकताका लागि अध्यक्ष पद छाड्न पनि तयार छु भने ।

अहिले पनि ज्ञानेन्द्रले विभिन्न सुत्रहरुमार्फत एकताका लागि दबाव दिने गरेको नेताहरु बताउँछन् ।

दोस्रो कारणः एमाले-माओवादी एकता

पार्टी एकताका लागि पूर्वराजाको दबाव छ छँदै थियो, जेठ पहिलो साता एमाले र माओवादी केन्द्रले एकता गरेर नेकपा बनाएपछि पूर्व पञ्चहरु दबावमा परेका छन् ।

चुनाव हारेसँगै निराश बनेका कार्यकर्तालाई अब पार्टीमा टिकाउन मुस्किल पर्ने अवस्था आएको एक नेताले बताए । केही जिल्लामा त समूह समूह नै नेकपातिर लागेको सुनाउँदै राप्रपाका एक नेताले भने, ‘कार्यकर्तालाई टिकाइ राख्न पनि एकताको कुरा गर्नै पर्ने भयो । नभए नेकपातिर जाने अवस्था आयो ।’

ज्ञानेन्द्र दबाव भन्दा यसले नेतृत्वलाई एकताको कुरा गर्न बाध्य पारेको नेताहरु बताउँछन् ।

तर, सार्वजनिक खपतका लागि भनेको जस्तो कोही पद छाड्न तयार छैनन् । त्यसैले राप्रपाको पुनर्मिनल नेताहरुले भने जस्तो सहज नरहेको एक नेताले बताए ।

तितो अनुभवः दबावमै मिल्छन्, दबावमै फुट्छन्

अहिले एकताको कुरा गरिरहेका कमल थापा र पशुपतिशम्शेरको एकता वार्ता प्रक्रिया उतार चढावपूर्ण छ ।

मुलुक चुनावमा होमिइसकेका बेला गत साउनमा केही थान मन्त्रीका लागि राप्रपा फुटेको थियो । देउवा सरकारमा जाने कि नजाने बहसले राप्रपामा विभाजनको विउ रोपेको थियो र २२ साउनमा पशुपतिशम्शेरले नयाँ दल खोलेका थिए ।

कमल थापा आफैं सरकारमा जान चाहन्थे तर, उपप्रधानमन्त्री नपाएपछि उनले सरकारमा नजाने निर्णय गराए । त्यसको बदलामा उनको पार्टी नै फुटेको थियो । त्यसअघि पनि सरकारमा जाने नजाने विषयलाई लिएर तत्कालीन राप्रपा र राप्रपा नेपालको एकता घोषणासभाको अघिल्लो दिन मात्र भाँडिएको थियो ।

७ मंसिर ०७३ मा नाटकीय रुपमा फेरि एक भए । तर, एकता माहाधिवेशन सम्पन्न गर्न नपाउँदै पूर्वमन्त्री लोहनी अलग भए र राष्ट्रवादी राप्रपा गठन गरे ।

पुस ०६२ मा कमल थापाले राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाउँदा पनि १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध गर्ने भन्ने विवाद थियो । राणा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले शाही कदमको विरोध गरे, कमल थापा पक्षमा उभिए । शाही शासन चलिरहँदा राष्ट्रिय जनशक्ति पार्टी गठन गरे ।

असार ०७० मा फेरि उनी नेतृत्वको समूह राणा नेतृत्वको राप्रपामा विलय भयो । राप्रपा नेपाल पनि पार्टी एकता प्रक्रियामा आएपछि ०५४ सालअघिको अवस्थामा फर्किएका थिए पूर्वपञ्चहरू । तर, यो वर्ष दिन पनि टिक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment