Comments Add Comment

मुआब्जाका कारण रोकियो वीरगञ्जमा आईसीपीको सडक निर्माण


२८ जेठ, वीरगञ्ज । स्थानीय वासिन्दाले मुआब्जा लिन आलटाल गर्दा वीरगञ्ज अलौको एकीकृत भन्सार चेकजाँच चौकी (आईसीपी) को सडक निर्माणमा ढिलाइ भएको छ ।

आईसीपीलाई वीरगञ्ज पथलैया ६ लेन सडकमा जोड्ने ५ सय ४० मिटर सडकको मुआब्जा लिन स्थानीयले आलटाल गर्दा ढिलाइ भएको हो । कतिपय स्थानीयले प्रक्रिया पूरा गरेर आउनुको साटो सडक निर्माणमा रोक लगाउने जस्ता काम गर्दै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आईसीपी पूर्ण रुपमा सञ्चालनमा ल्याउन ड्राइपोर्टदेखि आईसीपीको टी प्वाइन्टसम्म ६ सय मिटरको सडक निर्माण गर्नुपर्छ । त्यसका लागि एक सय ६ कठ्ठा जग्गाको मुआब्जा वितरण गर्नुपर्नेछ । प्रशासन कार्यालयका अनुसार १ सय ३४ जनाले मुआब्जाका लागि निवेदन दिएका छन् । जसमध्ये १ सय ३ जनाको चेक तयार भइसकेको लेखा शाखा प्रमुख सुदीप तिवारीले जानकारी दिए ।

‘प्रशासनमा कुनै पनि निवेदन रोकिएको छैन, मालपोतबाट प्रक्रिया पूरा भएर आएकाहरुको चेक बनाइदिएका छौं’ उनले भने ‘केहीको चेक बन्ने क्रममा छ । हामी कहाँ कुनै पनि निवेदन अडि्कएको छैन ।’

२७ जना जग्गाधनीहरुकोमा विभिन्न समस्या देखिएको र उनीहरुले नै प्रशासनले ढिलाइ गरेको भनी आरोप लगाउने गरेको सडक विभागले मुआब्जा वितरणमा सहजीकरणका लागि प्रशासनमा राखेको कर्मचारी केवल चौधरीले बताए ।

‘कतिपय जग्गाधनीहरुले बैंक र फाइनाइन्सबाट ऋण लिनुभएको छ, अनि बैंकले जग्गा रोक्का गरिदिएको छ । कतिपयको जग्गा अदालतले रोक्का गरेको देखिन्छ भने कतिपयले हाल साविक -नयाँ पूर्जा बनाउने काम) कायम गरेका छैनन्’ उनले भने ‘जग्गा फुक्का गराएर ल्याएपछि हामीले रोक्ने कुनै आधार नै छैन । उहाँहरु पहिला मुआब्जा दिइयोस् अनि ऋण तिर्छौ भनेजस्तो गर्नुहुन्छ अनि कसरी हुन्छ ?’

जग्गाधनीहरुले भने नयाँ आएका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले प्रक्रियामै ढिलाइ गरेर मुआब्जा वितरणमा ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन् । उनीहरुले प्रशासनले मुआब्जामा निश्चित प्रतिशत कमिसन नै मागेको दावी गरिरहेका छन् ।

कतिपय जग्गाधनीले भने मुआब्जा रकम पाएपछि मात्रै बैंकबाट लिएको ऋण तिरेर घर जग्गा फुकुवा गर्न सकिने अवस्था रहेकोले पहिला मुआब्जा पाउनुपर्ने माग गरिरहेका छन् ।

गत वैशाख २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वीरगञ्जको आईसीपी मुआब्जा विवाद सामाधानका लागि तत्काल जग्गाधनीहरुलाई काम गर्न दिन सहमत गराएका थिए । यसअघिका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको सक्रियतामा मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको थियो । उनको सरुवा हुनु अघि नै ५५ जना जग्गाधनीहरुलाई मुअब्जाको रकम वितरण भएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल मुआब्जा वितरणमा प्रशासनको तर्फबाट कुनै समस्या नरहेको बताउँछन् । ‘तिव्र गतिमा काम सम्पन्न भइराखेको अवस्था छ, हामी लगत संकलनमा धेरै अघि बढेका छौं, रित पूरा गरेर आएकाहरुलाई धमाधम वितरण गरिरहेका छौं’ उनले भने ।

उनले प्रशासन कार्यालय आईसीपीसम्म पुग्ने पहुँच मार्ग विस्तारमा गम्भीर रहेको पनि बताए । ‘मुआब्जा वितरणमा विलम्ब हुने कुरै छैन, यो वर्ष सबै मुआब्जा दिनका लागि पर्याप्त रकम उपलब्ध भएको छ’ पौड्यालले भने ।

मुआब्जा वितरण नगरेकै कारण सडक निर्माण अघि बढाउन नसकेको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले गर्दै आएको छ । प्रोजेक्ट म्यानेजर जसुवा अब्राहमले निर्माण शुरु गरे पनि विविध समस्याका कारण काम अघि बढाउन नसकेको बताए ।

उनले भने ‘मुआब्जाको विषयलाई लिएर स्थानीयले पटक पटक अवरोध गरिरहेका छन् । १५/२० दिन त काममा अवरोध समेत भयो । विद्युत प्राधिकरणले बिजुलीको पोल समेत हटाएको छैन ।’

पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारले काम गर्ने वातावरण भए सडक निर्माणमा धेरै समय नलाग्ने बताए । ‘सिक्स लेन सडक ड्राईपोर्टसम्म मात्रै बनाउने ठेक्का पाएका हौं, त्यसपछि हुलाकी सडक पर्छ, हुलाकी सडक दुई लेनको मात्रै छ । मन्त्रीको मौखिक आदेशमा काम गरिरहेका छौं’ उनले भने ‘अवरोध हटाउने काम सरकारी पक्षको हो त्यो हटाइएको छैन, सडक बनाएन भनेर हाम्रो वदनाम गर्ने काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment