२८ जेठ, काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगमा समस्यै समस्या देखिएका छन् । सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित दुग्ध उद्योगमा धेरै समस्या देखिएको हो ।
सोमबार कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ को नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको टोलीले गरेको अनुगमनले यस क्षेत्रका तीन दुग्ध उद्योगमा कैफियत देखिएका छन् ।
दूध उद्योगको गुणस्तरमा समस्या देखिएको व्यापक गुनासो आएपछि मन्त्रीसहितको टोलीले सोमबार विहान अनुगमन गरेको थियो ।
उत्पादनमा कैफियत देखिएपछि अनुगमन टोलीले आधुनिक दूधका नाममा दूध उत्पादन गर्ने बालाजु औद्योगिक क्षेत्रभित्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र औद्योगिक क्षेत्र नजिकैको पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फार्मको गोदाममा सिल गर्यो ।
औद्योगिक क्षेत्रभित्रकै अर्को एक दूग्ध उद्योग सामूहिक कृषक डेरी लिमिटेडमा पनि उस्तै समस्या देखिए पनि सिल हुनबाट जोगियो । उक्त उद्योगले सुलभ मिल्कका नाममा आफ्ना उत्पादन बजार पठाउँछ ।
कुनमा कस्तो समस्या ?
अनुगमन टोली विहान नौ बजेतिर आधुनिक डेरी प्रालि पुगेको थियो । उपत्यकामा राम्रै परिमाणमा बिक्री हुँदै आएको उक्त उद्योगले उत्पादनमा भने पटक्कै ध्यान नदिइएको पाइयो ।
उक्त उद्योगले दूध उत्पादनमा प्रयोग गर्ने पाउडर दूधमा स्पष्ट लेवल नै उल्लेख नभएको पाइएको थियो । त्यस्ता वस्तुमा पाकेटमै स्पष्ट उल्लेख गरेको हुनुपर्ने उत्पादन र उपभोग मिति नै उल्लेख नभएको पाइएको थियो ।
उक्त उद्योगले आफ्नो गोदाममा मौज्दात राखेको पाउडर दूधका प्याकेट चितवन, फ्रान्स र न्यूजील्याण्डसम्मबाट आयात गरेको देखिन्छ ।
तर, अनुगमन टोलीले ती पाउडर दूध शंकास्पद देखिएको भन्दै विवरण टिपोट गरेर ल्याएको छ । र, त्यसका सम्बन्धमा थप अनुसन्धान गरिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।
मौज्दातमा राखिएको पाउडर दूधमा समस्या देखिएपछि अनुगमन टोलीले उक्त उद्योगको तीन वटा गोदाममा सिल गरेर फर्केको छ ।
दूध उत्पादन गर्दा उद्योगमा अपनाउनुपर्ने अन्तर्राष्ट्रिय प्रणाली कुशल उत्पादन अभ्यास (जीएमपी) र सरसफाइका न्यूनतम मापदण्ड पनि उक्त उद्योगले पालना नगरेको निश्कर्ष अनुगमन टोलीले निकालेको छ ।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रकै सामूहिक कृषक डेरीले पनि दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको निश्कर्ष अनुगमन टोलीको छ । उक्त उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी, दूध उत्पादनका प्रक्रियामा अपनाउनुपर्ने उचित तापक्रम, सरसफाई लगायतका कुनै पनि मापदण्ड पालना नगरेको निचोड अनुगमन टोलीको छ । आधुनिक डेरीको जस्तै उक्त उद्योगको पनि पाउडर दूधमा समस्या देखिएको थियो ।
बालाजु औद्योगिक क्षेत्रबाट केही नजिक गंगा चलचित्र हलनजिकको पुष्प डेरीमा पनि अनुगमन टोलीले उस्तै कैफियत भेटायो । फोहोर, दूध उत्पादन गर्दा अपनाउनुपर्ने जीएमपी प्रणाली पालना नगरेको, सरसफाइमा ध्यान नदिएको लगायतका समस्या उक्त उद्योगमा देखिएको थियो । यस उद्योगको एउटा गोदाममा पनि अनुगमन टोलीले सिल गरेर फर्केको छ ।
डीडीसी उत्तम
यसैगरी अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रभित्रको सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थान अन्तर्गतको काठमाडौं दुग्ध वितरण आयोजनाद्वारा उत्पादित डीडीसीमा अनुगमन गर्यो । उक्त उद्योगमा भने कुनै पनि कैफियत देखिएन ।
मन्त्री खनालले उक्त उद्योगले दुग्ध उत्पादनमा प्रयोग गरेको यन्त्र र उपकरण भने पुरानो भएकाले त्यसलाई फेरेर थप आधुनिक तवरले उद्योग सञ्चालन गर्न निर्देशन दिए । हाल दूधको बजारमा डीडीसीको बजार हिस्सा करिब ३० प्रतिशत छ ।
कृषि मन्त्रीको प्रतिवद्धता – उपभोक्ताको स्वास्थ्य खेलवाड गर्नेलाई कारवाही हुन्छ
यसैबीच कृषि मन्त्री खनालले .न्यून तथा गुणस्तरहीन वस्तु उत्पादन गर्ने उद्योगमाथि कारवाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘लाखौं उपभोक्ताले उपभोग गर्ने दूधजस्तो संवेदनशील वस्तु उत्पादनमा उद्योगहरूले एउटै पनि मापदण्ड पूरा नगरेको देखियो,’ अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने उनले भने, ‘यो हविगत हेर्दा त दूग्ध उद्योग पूरै शिल गर्नुपर्ने देखिन्छ ।’
दूध उत्पादनमा उद्योगहरूले गरेको हेलचेक्र्याइँ र बदमासीका बारेमा आफूले प्रधानमन्त्री र मन्त्रिपरिषद्मा पनि कुरा उठाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
त्यस्तै, विभागले सोमबार विहानै काठमाडौंका विभिन्न स्थानबाट ३० वटा ब्राण्डका दूधको नमूना संकलन गरी परीक्षण सुरु गरेको छ । त्यसबाट प्राप्त नतिजाका आधारमा अघि बढ्ने विभागका महानिर्देशक कर्णले बताए ।
प्रतिक्रिया 4