Comments Add Comment

महानगरकै स्कुलको बेहाल : कहिले भुइँ त कहिले खुल्लाचौरमै पढाइ

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका २३ प्रसौनी बिर्ताको नेपाल राष्ट्रिय अधारभुत बिद्यालयका विद्यार्थीहरु कहिले भुइँमा त कहिले खुल्ला चौरमा बसेर पढ्छन् ।

एक त विद्यालयमा पर्याप्त कक्षाकोठा छैन, भएका कोठामा पनि डेस्कबेञ्च छैन । त्यसैले विद्यार्थीहरुलाई चौरमा नै पढाउनुपर्ने अवस्था रहेको प्रधानाध्यापक प्रमोद पाठकले बताए । यसै शैक्षिकसत्रदेखि कक्षा ६ को पनि पढाइ शुरु गरिएको विद्यालयमा कक्षाकोठा नपुगेपछि खु्ला चौरमा नै पढाइएको छ ।

४ देखि ६ कक्षाका विद्यार्थीहरुलाई डेस्कबेञ्च छ भने बाँकी कक्षामा डेस्कबेञ्च त परको कुरा त्रिपाल र कार्पेटसमेत छैन । वडाअध्यक्ष अवध किशोर कुशवाहका अनुसार विद्यालयमा डेस्क बेञ्च भएको कक्षामा पनि ४ जना अट्ने ठाउँमा ६ जना कोच्चिएर बस्न बाध्य छन् । ‘दरी र त्रिपाल ओछ्याएर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ, कतिपय कक्षामा त त्यो पनि पुग्दैन’ उनले भने ‘डेस्क वेञ्च भएको कक्षा ४ देखि ६ सम्म पनि ४ जना अट्ने ठाउँमा ६ जना कोच्चिएर बसिरहेका छन् ।’

विद्यालयमा दरबन्दी अनुसारको शिक्षक पनि छैन । बाल विकासको दुईवटा कक्षा चलिरहेको छ । बालविकासका लागि दुईजना शिक्षक छन् । बाँकीले ६ वटा कक्षा भ्याउनुपर्छ । विद्यालयमा व्यवस्थापन समिति पनि छैन ।

विद्यालयबाट ५ कक्षा पास गर्नेहरु माथिल्लो कक्षा पढ्न टाढा जानुपर्ने भएकाले ६ कक्षाको पढाइ त्यहीँ सुु्रु गरिएको प्रधानाध्यापक पाठक बताउँछन् । ‘आवश्यकता देखेर कक्षा थप त गरियो, अहिले पूर्वाधारको अभाव भएको छ ।’ उनले भने ‘हार गुहार गरेपछि दाताहरुबाट ५ वटा पंखा लगायतका केही सहयोग त आएको छ, तर त्यो पर्याप्त छैन ।’ विद्यालयको अवस्थाको बारेमा जानकारी पाएपछि साथीभाइ मिलेर तीन वटा पंखा प्रदान गरिएको स्थानीय युवा राकेश कुमार साहले बताए ।

वडा अध्यक्ष कुशवाहले समस्याको बारेमा महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई जानकारी गराउनुको साथै विद्यालयको अवलोकन समेत गराइसकेको बताए ।

महानगरबाट आश्वासनमात्रै

सोमबार विद्यालयमा स्कुल व्याग वितरण गर्न पुगेका नगर प्रमुख सरावगीले २० जना दलित छात्राहरुको सम्पूर्ण खर्च वीरगञ्ज महानगरपालिका व्यहोर्ने घोषणा गरे । उनले एक लाख १४ हजार पाँच सयको लागतमा खरिद गरिएको ३ सय ६० वटा व्याग वितरणसमेत गरेका थिए ।

महानगरपालिका शिक्षा शाखाका अधिकृत मन्जुर आलमले नगर प्रमुख सरावगीले विद्यालयको अवलोकन पछि केही प्रतिबद्धताहरु समेत जनाएको जानकारी दिए ।  ‘विद्यालयको चार कोठे भवन निर्माणाधीन अवस्थामा रहेछ, माथिल्लो तल्लाको दुईवटा कोठा अपुरो छ ।यसपाली त्यसका लागि बजेट दिने कुरा भएको छ’ उनले भने ‘आगामी आर्थिक वर्षको बजेटमा वित्तिय समानीकरण तर्फबाट ४ कोठे भवनका लागि बजेट दिने आश्वासन दिनुभएको छ । त्यसैगरि तीन वटा कम्प्युटर खरिद गरिदिने कुरा भएको छ ।’

विद्यालयमा सनराइज सिकाइ केन्द्रलाई आवद्ध गराएपछि निकै सुधार आएकोले विद्यार्थीहरुको आकर्षण बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment