Comments Add Comment

‘महिला उद्यमी मेला’ बुधबारदेखि पोखरामा हुने

२८ जेठ, पोखरा । पोखरामा यही जेठ ३० गतेदेखि महिला उद्यमी मेला आयोजना हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिको आयोजनामा महिला उद्यमशीलता विकासमा प्रवर्द्धन गर्ने उद्धेश्यले ‘आर्थिक सवृद्धिको लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ मेला आयोजना हुन लागेको हो । असार २ गतेसम्म हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको सोमबार अपराहृन पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवम् ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध विस्तार गर्ने मेलाको उद्धेश्य रहेको मेला संयोजक तथा महिला उद्यमी विकास उपसमितिकी संयोजक सीता बरालले बताइन् ।

त्यस्तै ब्यवसायिक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एवम् व्यवसायीक स्थायीत्वको बारेमा ब्यवसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सबल र सक्षम बनाउनु पनि मेलाको प्रमुख उद्धेश्य रहेको उनले बताइन् ।

मेलामा प्रदेश नम्बर ४ मा रहेका एघारै जिल्लाका महिला उद्यमीहरुसहित देशैभरका महिला उद्यमीहरुका गरी ७० भन्दा बढी स्टल राखिने भएका छन् ।

पोखरा प्रदर्शनी केन्द्रस्थित डोममा रहने ती स्टलहरुमा महिलाले उत्पादित सामाग्रीको प्रदर्शनी र बिक्रीको अलावा तान नै राखेर कपडा बुनाई पनि प्रदर्शनमा राखिने संयोजक बरालले जानकारी दिईन् । यसैगरी दैनिक उपभोग्य बस्तुहरु प्रदर्शनीमा राखिने उनले बताइन् ।

मेलाको अवसरमा उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रम गरिने भएका छन् । संयोजक बरालका अनुसार मेलाको उद्घाटन दिन जेठ ३० गते उद्यमशीलताको लागि महिलाहरुलार्इ उत्प्रेरणा दिन सेमिनारको आयोजना गरिनेछ ।

सेमिनारमा एलपी भानु शर्माले सहजिकरण गर्नेछन् । सोही दिन देशैभरका महिला उद्यमीहरुको राष्ट्रिय भेला पनि आयोजना गरिनेछ । सो भेलामा महिला उद्यमशीलताको अहिलेको अवस्था, चुनौती, सम्भावना र दायित्वहरुबारे बृहत छलफल हुनेछ भने भेला पश्चात महिला उद्यमी भेला २०७५, पोखरा घोषणपत्र जारी गरिने बरालले बताइन् ।

यसैगरी मेलाको दोस्रो दिन जेठ ३१ गते महिलाहरुको लागि बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिनेछ । सो दिन बिहानबाट निःशुल्क आँखा शिविर पनि आयोजना हुने जनाइएको छ ।

मेलाको तेस्रो दिन महिला उद्यमशीलताबारे उत्प्रेरणा कार्यक्रममा डा.अभिजित गुप्ताले सहजिकरण गर्नुका साथै इन्टरनेट र साइबर क्राइम सम्बन्धी जानकारी पनि दिइनेछ । सोही दिन बिहान ८ बजेबाट महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमसमेत गरिने संयोजक बरालले जानकारी दिईन् ।

मेलाको चौथो दिन आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले करसम्बन्धि अभिमुखीकरण दिने कार्यक्रम राखिएको छ भने सोहि दिन थाइराइड र सुगरको निःशुल्क परीक्षण पनि गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमितिको सहयोगमा हुने मेला अवलोकनका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । मेला सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक बरालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment