Comments Add Comment

राप्रपामा दुई लाइन : ज्ञानेन्द्रसँग नजिक हुने कि कांग्रेससँग ?

कमल थापा 'थर्ड लाइन' को खोजीमा, सुनील थापा कांग्रेसतिर नजिक

३० जेठ, काठमाडौं । पार्टी एकताका लागि वार्ता समितिसमेत बनाइसकेका राप्रपाका दुईवटा समूहभित्र पूर्वराजा ज्ञानेन्द्रसित नजिक हुने कि नेपाली कांग्रेस लगायतका गणतन्त्रवादी शक्तिसँग नजिक हुने भन्ने विषयमा दुईवटा धार देखिएका छन् ।

विशेष गरी पशुपतिसमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकभित्र कमल थापासँग पार्टी एकता गर्ने कि कांग्रेससँग मिल्ने भन्ने विषयमा दुई फरक लाइन देखा परेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्ने नेताहरु कमल थापासँग एकता गरेर संवैधानिक राजतन्त्र एवं हिन्दु राष्ट्रको नारामा अघि बढ्नुपर्ने लाइनमा छन् । राप्रपा प्रजातान्त्रिककै अर्को समूहचाहिँ गणतन्त्रलाई स्वीकार गर्दै कांग्रेस र राजपासँग एकता गर्नुपर्ने पक्षमा उभिएको छ ।

कमल थापाको पार्टीभित्र चाहिँ कांग्रेससँग मिल्नुपर्छ भन्ने धार देखिएको छैन । यद्यपि पशुपतिसमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकता गर्नुपर्छ र गर्नुहुँदैन भन्ने अन्तरविरोध कमल थापाको पार्टीभित्र देखा परेको छ ।

राजा ज्ञानेन्द्रका विश्वासपात्र मानिँदै आएका राप्रपा राष्ट्रवादीका नेता डा. प्रकाशचन्द्र लोहनीले भने अहिलेसम्म कुनै वार्ता समिति गठन गरेका छैनन् । तर, उनी राजतन्त्रकै लाइनमा उभिँदै आएका छन् र उनी कमल थापालाई नेता मानेर पार्टी एकता गरिहाल्ने पक्षमा छैनन् ।

पूर्वराजादेखि कार्यकर्तासम्मको दबाव

केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा शर्मनाक पराजयपछि देशभरिका कार्यकर्ताहरुबाट तीनवटै राप्रपा समूहलाई एकताका लागि दबाव आइरहेको छ । यहाँसम्म कि पूर्वराजा ज्ञानेन्द्रले पनि पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई भेटेर चाँडो एकता गर्न भनेका छन् ।

स्रोतका अनुसार ज्ञानेन्द्रको सुझाव छ कि यदि राप्रपा समूहहरु मिले भने तिनीहरुको भविश्य छ र तिनलाई उनको पनि समर्थन रहनेछ । तर, तिनीहरु पार्टी एकतामा असफल भए भने राप्रपाको कुनै भविश्य छैन र उनीहरुलाई ज्ञानेन्द्रको पनि साथ रहने छैन ।

पूर्वराजाले निर्वाचन सकिएलगत्तै झापाको हिमालय टी स्टेटमा राप्रपाका तीनवटै समूहका कनिष्ट नेताहरुलाई भेटेर एकताका लागि सबै शीर्षनेतालाई दबाव दिन भनेका थिए । पछि ज्ञानेन्द्र आफैंले पशुपति, लोकेन्द्र र कमल थापा लगायतका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेट गरे ।

चुनाव सकिएपछि राप्रपाका समूहलाई मिलाउन कस्सिएका पूर्वराजा ज्ञानेन्द्र चुनाव अघिसम्म चाहिँ एकीकृत राप्रपालाई फुटाउन र कमजोर पार्न लागिपरेका थिए ।
कमल थापा नेतृत्वको राप्रपाका एक केन्द्रीय नेताले अनलाइनखरसँग भने- चुनावअघि पूर्वराजा ज्ञानेन्द्रले रामकुमार सुब्बालगायतलाई नउचालेको भए राप्रपा यति कमजोर हुने थिएन । त्यसैगरी लोकेन्द्रबहादुरहरुलाई उनले सम्झाएको भए राप्रपा शायदै फुट्ने थियो ।

ज्ञानेन्द्रदेखि प्रचण्ड र ओलीसम्मलाई दोष

कमल थापा नेतृत्वको राप्रपाका नेताहरु आफ्नो पार्टी फुटाउन ज्ञानेन्द्रदेखि प्रचण्डसम्म अनि देउवादेखि ओलीसम्म लागिपरेको आरोप लगाउँछन् । चुनावअघि राणा समूहमा ४० प्रतिशत नपुग्दै राप्रपा फुटेको र त्यसलाई बैधानिकता दिइएको गुनासो कमल थापा पक्षको छ । ४० प्रतिशत नपुग्दा पनि अयोधीप्रसाद यादवले प्रचण्डको कुरा सुनेर पशुपतिसमशेरको पार्टीलाई बैधानिकता दिएको राप्रपा नेताहरुको आरोप छ ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले पशुपतिको समूहलाई बैधानिकता प्रदान गरेको गुनासो राप्रपा नेताहरुको छ ।

कमल थापालाई कमजोर बनाउन ज्ञानेन्द्र, माओवादी, कांग्रेस र दक्षिणतिरको शक्तिसमेत लागेको र राप्रपा कमजोर भएको राप्रपाका केन्द्रीय सदस्यको दाबी छ ।
प्रतिनिधिसभा चुनावको मुखमा केपी ओलीले कमल थापाप्रति नरम नीति अपनाए पनि रामकुमार सुब्बा समूहलाई उचाल्नमा आर्थिक लगानीसमेत गरेको राप्रपा नेताहरुको आरोप छ । राप्रपा स्रोत भन्छ- ‘केपी ओलीले आफ्ना मानिस खटाएर १२ भाइ सांसदलाई होटलमा राखेर संसदमा आउन नदिएको प्रमाण हामीसित छ ।’

चुनावमा राप्रपाले तेस्रो शक्तिको ठाउँ लिन्छ र आफूहरु पछि परिन्छ कि भन्ने डरले प्रचण्डले आफूहरुमाथि षडयन्त्र गरेको राप्रपाका नेताहरुको विश्लेषण छ । त्यसैगरी कमल थापा बलियो हुँदा आफ्नो भोट घट्ने डरले शेरबहादुर देउवाले राप्रपालाई फुटाउने खेल खेलेको आरोपसमेत राप्रपा नेताहरुको छ । ज्ञानेन्द्रले पनि अरुका कुरा सुनेर कमल थापालाई कमजोर पार्न खोजेको विश्लेषण राप्रपाभित्र हुने गरेको छ ।

ज्ञानेन्द्रसँग नजिकिने कि कांग्रेससँग ?

राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये पशुपतिसमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरु संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा छन् ।

तर, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत लगायतका नेताहरु गणतन्त्रलाई स्वीकार गर्दै नेपाली कांग्रेस र राजपासँग एकता गरी वृहत् प्रजातान्त्रिक शक्ति बनाउनुपर्ने पक्षमा छन् ।

राप्रपाका तीन समूहवीच पार्टी एकताका लागि वार्ता समूह बने पनि सुनीलबहादुर थापा पक्षचाहिँ कमल थापासँग भन्दा कांग्रेससँग नजिक देखिएको स्रोत बताउँछ ।
राप्रपा प्रजातान्त्रिकका नेताहरुमध्ये विक्रम पाण्डे कांग्रेससँग मिल्न पनि ठीकै छन् भने पशुपतिसमशेरको पछि लागेर ज्ञानेन्द्रसँग पनि मिल्न तयार छन् । अर्का नेता दीपक बोहोराको स्थिति पनि पाण्डेको जस्तै हो ।

राजनीतिमा भन्दा आफ्नो पोजिसनमा ध्यान दिने भएकाले पाण्डे र बोहोरा जता फाइदा हुन्छ, त्यता लाग्न तयार रहेको स्रोत बताउँछ । पशुपतिसमशेरको पछि लागेर आफ्नो हित नहुने देखे भने पाण्डे र बोहोरा कुनै पनि बेला कांग्रेसमा जान सक्ने अनुमान राप्रपा प्रजातान्त्रिकका नेताहरुको छ । उनीहरु दुबैले गत चुनावमा चितवन र रुपन्देहीमा नेपाली कांग्रेेससँग सहकार्य गरिसकेका छन् ।

पाण्डेले ठेक्कापट्टाको कमिसनबाट अमेरिकाको न्युयोर्कमा घर बनाएका छन् । उता बोहोरा आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएकाले कुनै पनि बेला अख्तियारबाट तानिने अवस्थामा छन् । यही डरले उनीहरु आफूलाई सुरक्षित हुने मार्गको खोजीमा रहेको स्रोतको दाबी छ ।

सुनीलबहादुर थापाचाहिँ आफ्ना पिता स्व. सूर्यबहादुर थापाको लाइनको रक्षा गर्ने पक्षमा छन् । सूर्यबहादुर थापाले राजतन्त्र पुनस्थापनाको विरोध गरेको र गणतन्त्रलाई स्वीकार गरेको हुनाले आफूहरुले अब कांग्रेस र राजपासँग मोर्चाबन्दी गरेर अघि बढ्नुपर्ने सुनीलको तर्क छ ।

पूर्वपञ्चहरुको पार्टीभित्र देखा परेको अर्को रोचक आयाम के छ भने पूर्वराजा ज्ञानेन्द्रले चुनावपछि कमल थापामाथि भर गर्न खोजेता पनि स्वयं कमल थापाले ज्ञानेन्द्रसँग चित्त दुःखाएका छन् ।

ज्ञानेन्द्रले मूर्खतापूर्ण चलखेल गरेर पार्टी फुटाइदिएपछि थापा ज्ञानेन्द्रसँग चिढिएका हुन् । जसका लागि भनेर राजनीति गर्‍यो, उसैले आफ्नो पार्टी फुटाएपछि थापाले पूर्वराजासँग चित्त दुःखाउनु स्वाभाविकै हो ।

थापाले गत चुनावमा पूर्वराजा ज्ञानेन्द्रकै कुरा सुनेर एमालेसँग तालमेल नगरी कांग्रेससँग मोर्चाबन्दी गरेका थिए । एमालेसँग तालमेल गरेर चुनावमा गएको गएको भए कमल थापाहित कम्तिमा ३ सीट प्रतिनिधिसभामा पुग्ने चर्चा अहिले राप्रपाभित्र चलेको छ ।  राप्रपाका एक नेताले अनलाइनखबरसँग भने- हाम्रो अध्यक्षले दुईवटा कमजोरी गरेकै हो । एक- प्रचण्डको सरकारमा सहभागी हुनु र दोस्रो केपी ओलीले भन्दाभन्दै चुनावी तालमेल नगर्नु ।

अहिले फेरि  पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्रवादी धारको निर्माणका लागि नेपालगञ्जका मेयर धवलसमेशर राणाले राजीनामा दिनुपर्ने भन्दै कमल थापालाई सिमराको भेटमा अनाैठाे दबाव दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

कमल थापाको ‘थर्ड लाइन’ !

नयाँ संविधानलाई केही रिजर्भेसनसहित स्वीकार गरेका कमल थापा राप्रपा प्रजातान्त्रिकभित्रका लोभीपापीहरुलाई समेटेर भन्दा पनि आफ्नै वलबुँतामा शक्ति पुनःआर्जन गर्ने लाइनमा देखिएको सूत्रहरुको दाबी छ । राप्रपा समूहवीचको एकताको विरोध नगर्ने तर चुनावअघिको पार्टी विभाजनलाई बिर्सन नसकिने कमल थापा समूहका नेताहरु बताउँछन् ।

कमल थापानिकट एक नेताले अनलाइनखबरसँग भने- ‘हिजो पार्टी फुटाएर अन्तरघात गर्नेहरुले आज फेरि कुन आधारमा एकता गर्ने ? तिनीहरुलाई हामीले किन नेता मान्ने ? अब पार्टी एकता गर्ने नै हो भने अब कमल थापाकै नेतृत्वमा एकता हुनुपर्छ र पार्टी फुटाउने अन्तरघातीहरुलाई शीर्ष स्थान दिन सकिँदैन ।’

यसैवीच हेटौंडामा तीन दिनअघि आयोजना गरिएको युवा कार्यकर्ताहरुको प्रशिक्षणमा कमल थापाले नेपाली कांग्रेस राप्रपाको लाइनमा आउनैपर्ने अभिव्यक्ति दिए । सुनील थापाहरुले कांग्रेससँग एकता हुनुपर्ने लविङ गरिरहेका बेला कमल थापाको यो भनाइलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

के कमल थापाले पनि कांग्रेससँग एक हुन चाहेका हुन् ? अनलाइनखबरको प्रश्नमा थापा निकट एक नेताले भने- ‘त्यस्तो होइन, नेपाली कांग्रेस पनि राप्रपाको लाइनमा आउनुपर्छ भन्नुको अर्थ संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको लाइनमा नेपाली कांग्रेस आउनुपर्छ भन्न खोजिएको हो, कांग्रेस र राप्रपावीच पार्टी एकता हुनुपर्छ भन्न खोजिएको होइन ।’

अहिले बलियो वाम सरकार बनेको र सोको विपक्षमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकिरहेको अवस्थामा कमल थापामा दक्षिणपन्थी धारको वैकल्पिक नेता बन्ने महत्वाकांक्षा पलाएको सूत्रहरुको दाबी छ । यही महत्वाकांक्षा अनुसार थापा ज्ञानेन्द्रका पनि कुरा नसुन्ने र आफ्नै बुँतामा ‘थर्ड पोल’ बनाउने रणनीतिमा लागेको राप्रपाका एक नेताले सुनाए ।

यद्यपि राप्रपाभित्र अधिकांश कार्यकर्ताहरुमा चरम निराशा देखिएको छ । त्यो निराशालाई चिर्नकै लागि भए पनि पार्टी एकताको हल्ला चलाइएको स्रोत बताउँछ । तर, राप्रपाका तीन समूहको एकता तत्काल सम्भव नरहेकोमा तीनवटै समूहका नेताहरु कन्भिन्स छन् ।

पार्टी एकता गाह्रो

राप्रपा नेताहरुका अनुसार वार्ता कमिटीहरु बने पनि तीन समूहवीच पार्टी गाह्रो छ । किनभने, पशुपतिसमशेर, कमल थापा र प्रकाशचन्द्र लोहनी तीनै नेताहरु नेतृत्व छाड्न तयार छैनन् ।
उनीहरुका वीचमा लोकेन्द्रबहादुर चन्द विकल्प हुन सक्छन् । तर, चन्दबाट पार्टी चल्न सक्दैन । चन्दबाट चलाउनु भनेको दीपक बोहोराबाट पार्टी चलाउनुजस्तै हो । विगतमा चन्दले १६ वर्ष राप्रपाको नेतृत्व गरिसकेका छन् ।

यो अवस्थामा तीनवटै समूहबाट अहिलेका शीर्ष नेताहरु साइड लागेर नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने हुन्छ, जुन अहिलेसम्म सम्भावना देखिएको छैन ।

सूत्रहरुका अनुसार कमल थापालाई राजीनामा दिएर बुद्धिमान तामाङलाई राप्रपाको नेतृत्व सुम्पन र एकताको वातावरण बनाउन केही नेताहरुले विकल्प सुझाएको स्रोतको कथन छ । तर, राजीव पराजुली, राजेन्द्र लिङदेन र सुशील श्रेष्ठको दबावमा कारण कमल थापाले त्यसो गर्ने सम्भावना छैन ।

यद्यपि थापाले एकताको वातावरण बन्छ भने आफू त्याग गर्न तयार रहेको पार्टीभित्र बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

पूर्वपञ्चहरुको एकता ‘गीत’: कार्यकर्ता टिकाइराख्ने मेलो मात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment