Comments Add Comment

यस्तो बन्दैछ वीर अस्पताल-अन्तर्राष्ट्रिय स्तरको भवन, सबै रोगको एकै छानामुनि उपचार

वीर अस्पतालको नयाँ बन्ने भवनको स्केच

३१ जेठ, काठमाडौं । नेपालकै जेठो वीर अस्पतालले १२९ औं वर्षगाँठ मनाउदै गर्दा १६ सय ५० बेड सहितका अत्याधुनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । हाल वीर अस्पताल रहेकै ठाउँमा ६५० बेडको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ ।

१७ रोपनी जग्गामा सात तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै निर्माण शुरु भएको सो भवन अढाई वर्षभित्र बनाइसक्ने लक्ष्य छ । त्यस्तै भक्तपुरको दुवाकोटमा ५७० रोपनी क्षेत्रफलमा एक हजार बेडको अर्को अत्याधुनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाउने तयारी छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका पालामा अघि सारिएको यो महत्वाकांक्षी परियोजना पूरा हुनासाथ वीर अस्पतालले एकैपटक करिब २ हजार बिरामीलाई बेड उपलव्ध गराउन सक्नेछ । दुवै भवन बनेसँगै वीर अस्पतालमा बेड पाइएन भन्ने गुनासो अन्त्य हुने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।

१२८ वर्ष पुरानो वीर अस्पतालमा ४० वर्षअघि बनेका भवन छन् । २०७२ सालको महाभूकम्पअघि ४६० बेड सन्चालनमा थिए । भूकम्पछि ३७० वटा बेडमात्र सन्चालनमा छन् । जाइकाको सहयोगमा वीर अस्पतालभित्रै एक सय बेडको अर्को भवन बनिरहेको छ । सो भवनको आधा काम सकिएको बस्नेतले बताए ।

वीर अस्पतालमा अहिले दैनिक १८ सय विरामीले सेवा लिइरहेका छन् । सस्तो शुल्क, कतिपय निःशुल्क उपचार र अत्याधुनिक उपकरण रहेका कारण विरामीको चाप वीर अस्पतालमा बढिरहेको छ । सो अनुसारको सेवा दिनका लागि अस्पतालले पछिल्लो समय उपकरण र नयाँ रोगको उपचार शुरु गरेको छ ।

अत्याधुनिक प्रविधि

बस्नेत अस्पतालको निर्देशक बनेपछि छाती रोग, बाथ रोग र हेमाटोलोजी गरी तीनवटा रोगको उपचार वीर अस्पतालमा शुरु भएको हो । तत्कालै वीर अस्पतालको इमरजेन्सी पनि बिस्तार गर्ने र ट्रायज सिस्टम शुरु गरिने भएको छ । त्यस्तै इमरजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अघि बढेको अस्पतालले जनाएको छ ।

अब वीर अस्पतालमा रक्तक्यान्सरको उपचार पनि शुरु भएको छ । त्यस्तै  चौबिसै घण्टा डायलोसिस सेवा शुरु भएको छ र एचआइभी र हेपाइटाइटिसको उपचार पनि अस्पतालभित्रै थालिएको छ ।

क्यान्सरको रेडियसन थेरापीका लागि अत्याधुनिक कोब्याक मेसिन खरिद प्रक्रिया अघि बढाइएको  खरिद शाखा प्रमुख भगवती थपलियाले जानकारी दिइन् । वीर अस्पतालमा अत्याधुनिक एमआरआई र दुईवटा सिटी स्क्यान मेसिन पनि यसबीचमा जडान गरेर विरामीलाई अस्पतालभित्रै सबै सुविधा उपलव्ध गराउन खोजिएको उनको दावी छ ।

नेपालमै नभएको ग्यास्ट्रो मेडिसिनको एलास्ट्रोग्राफी पनि वीर अस्पतालमा स्थापना गरिएको छ । त्यस्तै आन्द्रा र खाना नलीको रोग पत्ता लाउने म्यानोम्याट्री मेसिन स्थापना गरेर आन्द्राको रोगको उपचार थालिएको छ । कलेजो, आन्द्रा र फोक्सोको रोग पत्ता लगाउने तथा उपचार गर्ने अत्याधुनिक मेसिन राखिएपछि वीर अस्पताल सबै रोगको एकै ठाउँमा उपचार दिन सक्षम रहेको बस्नेतले बताए ।

फोक्सोमा मेसिन घुसाएर एक्सरे गर्ने इबस नामको प्रविधि विश्वमा २००३ मा विकास भएको थियो । भारतमा २००९ मा भित्रिएको सो प्रविधि नेपालमा वीर अस्पतालले भित्र्याएको छ ।

वीर अस्पतालको हालको भवन

काउन्टरमै बैंक राख्ने तयारी

अस्पतालले सर्वोच्च अदालतको आदेश पालना गर्दै आफ्नै भवनमा सरकारी औषधी पसल सन्चालनमा ल्याएको छ । त्यस्तै टिकट काउन्टरमा टोकन प्रणाली लागु गरेका निर्देशक बस्नेतले अब काउन्टरमै बैंक राख्ने र बैंकमै पैसा बुझाउने व्यवस्था मिलाउने बताएका छन् ।

वीर अस्पतालले  सिंहदरवारमा एक्सटेन्सन हेल्थ डेक्स शुरु गरेको छ । असहायको लागि विपन्न नागरिक कोषमार्फत उपचार सेवा दिइरहेको अस्पतालले स्वास्थ्य बीमा पनि लागु गरेको छ ।

धुर्मुसले अस्पतालको मुहार फेर्दै

वीर अस्पताललाई रंगरोगन गरेर चिटिक्क पारिँदै

यसैबीच कलाकार सिताराम कट्टेल (धुर्मस)ले स्वयंसेवी अभियानबाट शुरु गरेको वीर अस्पताल सरसफाइ तथा रंगरोगन अन्तिम चरणमा पुग्दा अस्पतालको मुहार फेरिएको छ । अस्पताल भित्र र बाहिर रंगरोगन भइरहँदा सरसफाइमा पनि उल्लेख्य सुधार आएको उनले बताए ।

पुरानो भवन भएका कारण सरसफाइ जति गरिए पनि नदेखिने भएकाले अब नयाँ भवन बनेपछि सिंगापुरका अस्पतालमा पुगेजस्तै अनुभूति हुने निर्देशक बस्नेत बताउँछन् । सरकारले वीर अस्पताल सुधार र सरसफाइका लागि सहयोग गरिरहेको र धुर्मुसको व्यक्तिगत सक्रियताका कारण पनि अस्पतालको मुहार फेरिएको कर्मचारीहरु बताउँछन् ।

‘वीर अस्पतालमा धेरै सुधार भएको छ । आन्तरिक सुधारमा निर्देशकले सबैको समन्वयमा जुन काम गरे, यसले सेवाग्राहीलाई पनि सहज भएको छ,’ वीर अस्पतालका कर्मचारी खुबराज आचार्यले भने, ‘धुर्मुसको पहलले बाहिरी रुप पनि फेरिएको छ ।

निर्देशक बस्नेतले भने स्वास्थ्य मन्त्रालय, यहाँका पदाधिकारी कर्मचारी सबैको सहयोगमा अस्पतालमा उल्लेख्य सुधार ल्याउन सकिए पनि अझै अन्तर्राष्ट्रिय मापदण्डको बनाउने योजना पाइपलाइनमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment