Comments Add Comment

नेपाली भाषाको विश्वव्यापीकरण : गर्व कि शर्म ?

दुई वर्षअघि मलेसियाको ‘ट्वीन टावर’ हेर्न जाँदा त्यहाँ एक नेपाली युवक भेटिए । छोटो कद अनि सेतो युनिर्फममा । उनको अनुहार र युनिर्फममा नाम देखेर कुन देशको भनेर सोध्ने आवश्यकता नै परेन ।

उनलाई त्यहाँको बारेमा सोधियो, त्यो पनि सोझै नेपालीमा । कुनै दुर्गम पहाडी क्षेत्रबाट काठमाडाँै पसेको यात्रीले त्यहाँको स्थानीय व्यक्तिलाई सोधेपछि उत्तर दिएजस्तै गरी उनले ट्वीन टावरका बारेमा हामीलाई बेलीबिस्तार लगाइदिए । हामीलाई त्यहाँ घुम्न निकै सजिलो भयो ।

ट्वीन टावर हेरिसकेपछि हामी क्वालालम्पुरस्थित हिन्दु मन्दिर हेर्न गयौँ । मन्दिरको ढोकैमा एउटा भारतीय व्यापारीले चियाचमेना पसल खोलेको रहेछ । त्यहाँ हामीले उसलाई मन्दिरको बारेमा सोध्दा एकजना नेपाली, जो त्यहाँ केही पकाउँदै थिए, उनले नै नेपालीमा हामीलाई खरर्र कुरो बुझाइदिए । मलेसियामा अन्य हेर्न लायक ठाउ के के छन्, कसरी जाने, के गर्दा सस्तोमा यात्रा हुन्छ आदि सबै कुरा उनले बुझाइदिए ।

यिनै घटनाका कारण हाम्रो मलेसिया यात्रा रमाइलो अनि अविस्मरणीय रहृयो ।

मलेसियाबाट फर्कन लाग्दा हामी गलत टर्मिनलमा पुगेछौँ, समय त्यति धेरै थिएन । भाग्यवश त्यहाँ सुरक्षा गार्डको रूपमा काम गर्ने एकजना नेपाली भाइको सहयोगले गर्दा समयमै अर्को टर्मिनल पुग्न भ्यायौँ । उनले सहयोग नगरेको भए के थाहा सायद जहाज नै छुट्थ्यो कि ?

म कामको सिलसिलामा आक्कलझुक्कल विदेश गइरहन्छु । यात्राको दौरान आफू गएका अधिकांश देशमा मैले नेपालीहरूसंग पनि भेट्ने मौका पाएको छु । देशभित्र हुँदा दुश्मनी गर्नेहरू पनि देश बाहिर भएपछि साथीजस्तो लाग्दो रहेछ । विदेशी भूमिमा कुनै नेपाली देख्नासाथ नचिनेकै भए पनि उनीहरूप्रति भ्रातृत्वको भावना नपलाउने कुरै भएन । सायद अन्य नेपालीहरूलाई पनि त्यस्तै भावना आउँदो हो ।

एक पटक सिंगापुरमा म बसेको होटलको रेस्टुराँमा हाकिम एकजना नेपाली थिए । निकै सभ्य र मिलनसार उनले हरेक पटक म खाना खान जाँदा विशेष ध्यान दिन्थे, नेपाली भएको नाताले । अझ साँझको खानामा त नेपालीलाई विशेष सहुलियत पनि थियो त्यो रेस्टुराँमा ।

त्यसपछि म जहिले पनि सिंगापुर जाँदा त्यही होटेलमा बस्न थालेँ अनि त्यही रेस्टुराँमा खान थालेँ । कारण एउटै थियो- त्यहाँ म नेपालीमा बोल्न पाउथेँ अनि मलाई आत्मीयताका साथै गर्व पनि महसुस हुन्थ्यो । पछि थाहा पाइयो, त्यहाँ अरू नेपालीहरू पनि वेटरको काम गर्दा रहेछन् । त्यहाँ मुख्य कुक पनि नेपाली नै रहेछन् । सबैसँग चिनाजानी पनि गरियो ।

एक पटक एकजना अमेरिकन र चिनिया साथीसँग सिंगापुर जाँदा हामी त्यही होटेलमा बसेका थियौँ । ‘ब्रेकफास्ट’मा चिनिया साथीलाई ‘अम्लेट’ खान मन लाग्यो जुन त्यहाँ नेपाली कुकले बनाउँथे । चिनिया साथीलाई अंग्रेजी बोल्न त्यति राम्ररी आउँदैनथ्यो । अनि अमेरिकन साथीले उसलाई जिस्काउँदै भन्यो- ‘अंग्रेजी आउँदैन भने कुकसँग नेपालीमा बोले हुन्छ । यहाँ हाकिम, वेटर, कुक सबैले नेपाली बुझ्छन् ।’

हुन त उसले ठट्टा गरेर त्यो भनेको थियो तर मलाई त्यसले गम्भीर बनायो । उसले भनेजस्तै जहाँ गए पनि नेपाली बोलेर चल्ने भएको भए कति रमाइलो हुन्थ्यो होला । के त्यो दिन आउला ?

एक पटक त्यही अमेरिकन साथीसँग युरोप जानु थियो । सस्तो टिकट पाइने हुनाले सीधा उडानबाट नगएर हामीले दुबईमा तीन घन्टाको ट्रान्जिट भएको टिकट लिएका थियौँ । दुबईमा सुन सस्तो पाइन्छ भन्ने सुनेको हुनाले हेरिहालौँ त भनेर विमानस्थलभित्रै रहेको सुन पसल गएँ ।

मेरो अमेरिकन साथी पनि सँगै थियो । त्यहाँ एकजना नेपाली भाइले काम गर्दा रहेछन् । उनको नाम उनले लगाएको कोटमा लेखिएको थियो । उनको नाम, शारीरिक बनावट अनि हाउभाउ देखेर उनी नेपाली हुन् भनेर चिन्न मलाई गार्‍हो भएन । मैले उनलाई सुनको बारेमा सोझै नेपालीमा सोधेँ । त्यो देखेर मेरो अमेरिकन साथी अचम्ममा पर्‍यो । मैले ठट्टा गर्दै उसलाई भनेँ- ‘नेपाली अब विश्वव्यापी भाषा भइसक्यो, अब जहाँ गए पनि नेपाली मात्रै बोले पनि काम चल्छ, अब तिमी पनि नेपाली सिक्नतिर लाग ।’ हुन त ठट्टा गरेर मैले उसलाई त्यसो भनेको थिएँ तर मेरो भित्री आशय चाहिँ त्यही नै थियो ।

एक छिनपछि हामी कफी पसलमा गयौँ, त्यहाँ पनि एक जना नेपाली भाइले नै कफी बनाएर हामीलाई दिए, मैले पनि उहाँसंग नेपालीमै कुरा गरेँ ।

हाम्रो जहाजको बोर्डिंग समय भयो, म शौचालय गएँ, त्यहाँ शौचालयको सरसफाइको जिम्मेवारीमा पनि एकजना नेपाली भाइ नै थिए । मैले पनि उनीसँग नेपालीमै कुरा गरेँ । त्यसपछि चाहिँ मेरो अमेरिकन साथी अलि बढी नै अचम्मित भयो । विगत केही समयदेखि मसँग घुम्दा उसले अधिकांश ठाउँमा मैले नेपालीमै कुरा गरेको देखेको थियो । सायद उसलाई लाग्न थाल्यो, नेपाली साँच्चै नै विश्वव्यापी भाषा हुन थालेछ ।

कामको कुनै जात र स्तर नहुनुपर्ने हो तर हामी नेपालीहरू त्यो मानसिकताबाट माथि उठ्न सकेका छैनौँ र कुनै कामलाई इज्जतको रूपमा हेर्छौँ भने कुनै कामलाई तल्लो स्तरको भनेर हेय भावले हेर्छौँ । म पनि अपवाद थिइन । मलाई थाहा थियो ती सबै नेपालीहरू अधिकांश मानिसहरूले बुझ्ने गरेको ‘तल्लो स्तरको’ काममा थिए । उनीहरूको कामलाई मेरो साथीले कसरी सोच्यो मलाई थाहा भएन, मैले सोधिन पनि तर उसले केही नभने पनि मलाई त्यहाँ अलिकति असजिलो महसुस भयो- प्रायः सबै नेपालीहरूले तल्लोस्तरको काम गर्दा रहेछन् भन्ने सोच्यो कि भनेर ।

केही वर्षयताको विश्वव्यापीकरण र खुलापनले गर्दा नेपालीहरू पूर्वको जापान र कोरियादेखि पश्चिमको अमेरिका र क्यानाडा, अनि दक्षिणको अस्ट्रेलिया र न्युजिल्याण्डदेखि उत्तरको फिनल्याण्ड र डेनमार्कका साथै खाडीका मरुभूमिसम्म यत्रतत्र फैलिएका छन् ।

केही वर्ष अघिसम्म नेपाल, भारत, भुटान, म्यानमार र गोर्खा सैनिक भएका ठाउँमा मात्रै सीमित नेपाली भाषा अहिले चारैतिर फैलिएका नेपालीहरूसँगै द्रुतगतिमा विश्वभरि नै फैलिएको छ । जुन हाम्रो लागि अत्यन्तै खुसी र गर्वको कुरो हो । आधिकारिक तथ्यांक उपलब्ध नभए पनि नेपाल बाहिर संसारभरमा लगभग ५० लाखको हाराहारीमा नेपाली भाषीहरू रहेका छन भन्ने अनुमान लगाउन सकिन्छ ।

बिडम्बना के छ भने विदेशमा परिवारसँग बसेका पढेलेखेका नेपालीहरूको ध्यान नेपालीभन्दा अंग्रेजीमै बढी केन्द्रित छ । घरमा परिवारसँग होस् वा बाहिर साथीभाइसँगको भेटघाटमा होस् बच्चाहरूले टुटेफुटेको नेपाली बोल्दा त्यसलाई सुधार्न ध्यान दिनुको साटो उनीहरूको बोलीलाई रमाइलोको बिषय बनाएर दङ्ग पर्ने, घरमा बच्चाहरूसँग जानी नजानी अंग्रेजीमा नै कुरा गर्ने, शुद्ध नेपाली बोल्नेहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, चाडबाडमा अंग्रेजी गीत बजाएर कम्मर मर्काई मर्काई ‘डान्स’ गर्ने अनि आफूलाई शिक्षित र सभ्य बताउन चाहने नेपालीहरू थुप्रै छन् ।

जसले आफ्नो तर्फबाट दिगो रूपमा नेपाली भाषाको विश्वव्यापीकरणमा योगदान पुर्‍याउनु पर्थ्यो, नेपाली भाषाको प्रचारभन्दा यसलाई बिगार्न नै बढी योगदान पुर्‍याइरहेका छन् । उनीहरूलाई त विदेशमा अन्य नेपालीहरूसँग पनि आˆनो अंग्रेजीको दक्षता प्रमाणित गर्न बीच बीचमा अंग्रेजी घुसाएर बोल्नुपर्छ । यसो भन्दा अंग्रेजी पढ्नु हुँदैन भन्न खोजेको होइन । अंग्रेजी त त्यसै पनि सिकिहालिन्छ । त्यसैले त्यो शिक्षित वर्गले कम्तीमा पनि आˆनो तर्फबाट नेपाली भाषाको विकासलाई टेवा पुग्ने काम गर्नुपर्छ भन्ने आशय मात्र हो ।

केही अपवादबाहेक अधिकांश नेपालीहरू विदेशमा अदक्ष कामदारका रूपमा कार्यरत छन् । अनि यसो भन्दा पनि कुनै अत्युक्ति नहोला, नेपाली भाषालाई अस्थायीरूपमै भए पनि विश्वव्यापी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने तिनै नेपालीहरू हुन जो आर्थिक समस्याले गर्दा आˆनो देश र परिवारलाई छोडी विदेशमा कठिन र हामीले बुझ्ने गरेको ‘तल्लोस्तर’को कार्य गर्न बाध्य छन् ।

तिनै नेपालीहरूले गर्दा विदेशमा जाँदा हामीजस्तालाई सजिलो भएको छ भने नेपाली भाषाको पनि प्रचार भएको छ । विदेशमा नेपाली भाषामा कुरा गर्न पाउँदा हामी गर्वित भएका छौँ । जानेर होस् वा नजानेर, स्थायी रूपमा होस् वा अस्थायी रूपमा उनीहरू नै हाम्रो मातृभाषालाई विश्वव्यापी बनाउने योगदानकर्ता हुन् ।

ती सबै कुराहरू मनन गर्दा एउटा प्रश्न मभित्रै अनुत्तरित रहृयो- अहिले अदक्ष कामदारहरूबाट भइरहेको नेपाली भाषाको ‘विश्वव्यापीकरण’मा गर्व गर्ने कि विदेशमा बस्ने पढेलेखेकाहरूबाट नेपाली भाषाको बिस्तारमा भएको ‘शून्य’ योगदान तथा हाम्रो गरिबी र बाध्यताले गर्दा हाम्रा दाजुभाइ र दिदीबहिनीहरूले विदेशमा रगत पसिना बगाई ‘तल्लो स्तर’को काम गरिरहनुपर्ने स्थितिप्रति शर्म गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment