Comments Add Comment

ट्रेड युनियन कांग्रेसमा देउवा समूहको हार, पुष्करको प्यानलै विजयी

२ असार, काठमाडौं । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । आचार्यको प्यानललाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अर्जुननरसिंह केसी लगायतको समर्थन थियो भने निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थन थियो ।

दुबै समूहले ट्रेड युनियनको चुनावलार्इ प्रतिष्ठाको विषय बनाएको थियो । तर, देउवा समूह हारेको छ ।

अध्यक्षमा निर्वाचित आचार्यले ८१८ मत ल्याएर भने निकटतम दाहालले ५३३ मत ल्याएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

भ्रातृ तथा सुभेक्षुक संगठनहरूमा देउवा पक्षको यो अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।

कोको विजयी भए ?

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएका छन् ।

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सिंगो कार्यसमितिमा देउवा समूहका एक जना मात्र केन्द्रीय सदस्य विजयी भएका छन् ।

कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment