Comments Add Comment

कोस्टारिका भर्सेस सर्बिया : को बलियो ?


३ असार, काठमाडौं । विश्वकपको समूह ‘ई’ को पहिलो खेल नेपाली समयअनुसार आइतबार बेलुका पौने ६ बजे कोस्टारिका र सर्बियाबीच खेल हुँदैछ ।

आफ्नो पाँचौ विश्वकपमा रहेको कोस्टारिका सर्बियाको तुलनामा सन्तुलित टिम देखिन्छ । रियल मडि्रडका गोलकिपर केलर नाभासदेखि डिफेन्स लाइनमा स्पानियोलका ओस्कार डुआर्टे र सेल्टिकका क्रिस्टियन गामबाओसम्म लयमा छन् ।

सन् १९९० मा पहिलोपटक विश्वकप खेल्दा नै कोस्टारिक अन्तिम १६ सम्म पुगेको थियो । सन् २००२ र २००६ मा समूह चरणबाटै बाहिरिएको कोस्टारिका सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यो समय कोस्टारिका नेदरल्याण्ड्ससँग टाइब्रेकरमा ४-३ ले पराजित भएको थियो ।

विगतलाई हेर्दा र वर्तमान टोलीलाई नियाल्दा पनि कोस्टारिका बलियो टोली हो । फिफा वरियतामा २३ औं स्थानमा रहेको कोस्टारिका यसपटक पनि राम्रा भनिएका टोलीका लागि चुनौती हो ।

उता फिफा वरियतामा ३४ औं स्थानमा रहेको सर्बियाको यो १२ औं विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । त्यो बेला युगोस्लाभियाकै रुपमा रहेको सर्बियाले त्यसपछिका विश्वकपमा भने सम्झनलायक सहभागिता जनाएको छैन ।

सर्बियाले सन् १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा पनि विश्वकप खेलेको थियो । त्यसमा १९९० मा क्वाटरफाइनलसम्म पुग्नु सर्बियाको ठूलो सफलता हो ।

२००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो ।

तथ्यांकमा दुई देश

विश्वकपमा कोस्टारिकाले अहिलेसम्म पाँच खेल जितेको छ । चार खेल बराबरी भएको छ । ६ खेल हारेको छ । जसमा कोस्टारिकाले १७ गोल हानेको छ भने २३ गोल खाएको छ ।

सर्बियाले विश्वकपमा १७ खेल जितेको छ । आठ खेल बराबरी गरेको छ । १८ खेल हारेको छ । जसमा सर्बियाले ६४ गोल गरेको छ भने ५९ गोल खाएको छ ।

रसिया विश्वकप छनोटका १० खेलमा कोस्टारिकाले चार खेल जितेको थियो । चार बराबरी गरेको थियो भने दुई खेल हारेको थियो । जसमा १४ गोल गरेको कोस्टारिकाले ८ गोल खाएको थियो ।

विश्वकप छनोटमा सर्बियाले ६ खेल जितेको थियो । तीन खेल बराबरी गरेको थियो भने एक खेल हारेको थियो । जसमा २० खोल गरेको सर्बियाले १० गोल खाएको थियो ।

हेर्नपर्ने खेलाडी

ब्रायन रुइज – कोस्टारिका

ब्रायन रुइज कोस्टारिका टिमका भरपर्दा खेलाडी हुन् । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनी परिआउँदा स्ट्राइकरको भूमिका पनि निर्वाह गर्न सक्छन् । गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा पनि उनको खेल उत्कृष्ट थियो । रसिया विश्वकप छनोटमा पनि उनले तीन गोल गरेका थिए । सन् २००५ देखि कोस्टारिका टिममा रहेका उनले १०१ खेलमा २३ गोल गरेका छन् ।

ब्रेनिस्लाव इभानोभिच – सर्बिया

सन् २००५ देखि सर्बियाको राष्ट्रिय टिममा रहेका इभानोभिच सन् २०१२ देखि राष्ट्रिय टिमका कप्तानको रुपमा छन् । टिममा मुख्य डिफेन्डरका रुपमा रहेका उनले १०२ खेलमा १२ गोल पनि गरेका छन् । सन् २००८ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका उनी अहिले रसियामै व्यवसायिक फुटबलमा आबद्ध छन् । उनले चेल्सीमा रहँदा एकपटक च्याम्पियन्स लिग र तीन पटक इंग्लिस पि्रमियर लिग जितेका थिए । यसैले अनुभवी इभानोभिच सर्बिया टिमका भरपर्दा खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment