+
+
Shares

म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद

पुरानो मिति मेटेर नयाँ मिति राख्नेहरु पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७५ असार ६ गते १२:२९

६ असार, वीरगञ्ज । गर्मीको मौसम छ, जुस पिउने धेरैको बानी हुन्छ तर त्यो जुस म्याद गुज्रिएको पर्‍यो भने स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ ।

वीरगञ्जमा म्याद गुज्रिएको करिब ५० कार्टुन जुस बजारमा पठाउने तयारी गरिरहेको बेला बरामद गरेको छ । वीरगञ्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा कौशल कुमार श्रीवास्तवले सञ्चालन गरेको र्फमबाट म्याद सकिएको ५० कार्टुन जति जुस बरामद भएको पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

वीरगञ्ज कारागार पछाडि रहेको श्रीवास्तवको नयाँ घरमा म्याद सकिएको जुस ल्याएर नयाँ मिति राखेर बजारमा सप्लाई गर्ने गरेको सूचनाको अधारमा प्रहरीले बुधबार बिहान छापा मारेको थियो ।

‘कोरियन क्यान जुस हो, पुरानो एक्सपाईरीडेट मेटाएर दुई वर्ष डेट बढाएर बजारमा पठाउने गरिएको रहेछ, ३ हजारभन्दा बढी क्यान बरामद भएको छ,’ पर्साका प्रमुख प्रहरी उपरीक्षक ढकालले भने, ‘डेट हाल्न प्रयोग गरिने मेसिन, सरकारी कार्यालयका स्ट्याम्प पनि भेटिएका छन् । थप अनुसन्धान गर्दैछौं ।’

‘मेड ईन कोरिया’ लेखिएको डेलोस ब्रान्डका जुसको म्याद २०१८ मार्चमै सकिएको छ । तर त्यहाँ थिनरको प्रयोग गरेर क्यान बोतलको पछाडि रहेको पुरानो मिति मेटाएर प्रिन्ट मेसिनको सहायताले नयाँ मिति थप गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुईजना पक्राउ

प्रहरीले र्फमको रेखदेख गर्ने पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ शीतपुरका ५७ वर्षीय ओम बहादुर कार्की र प्रिन्टिङको काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने मुन्ना भनिने लक्ष्मी साह कानुलाई पक्राउ गरेको छ । उनीहरु दुवैले आफू निर्दोष रहेको बताएका छन् ।

नातामा ज्वाइँ पर्ने श्रीवास्तवको घर आफूले तीन दिनदेखि मात्रै कुरेको र व्यवसायको बारेमा आफूलाई कुनै जानकारी नभएको कार्कीले बताए । ‘छोरी ज्वाइँ पोखरा गएका छन्, तीन दिन भयो मलाई घर कुर्नु भनेका थिए । मलाई यो व्यवसायको बारेमा केही थाहा छैन । मिस्त्रीहरु आउँछन् काम गर्छन् भनेका थिए,’ उनले भने ‘छोरा छैन, छोरी मात्रै हो, छोरी ज्वाइँले नै फसाउँछन् भने जेलमा गएर बसेर खान्छु ।’

पक्राउ परेका लक्ष्मी साहले पनि श्रीवास्तवको आग्रहमा तीन दिनदेखि प्रिन्टको काम गरेको प्रतिक्रिया दिएका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?