Comments Add Comment

विद्यालय कब्जा गर्न दलबीच प्रतिष्पर्धा, व्यवस्थापन समिति चुनाव वडाध्यक्षले रोके

प्रतीकात्मक तस्वीर

८ असार, सप्तरी । विद्यालयमा आफ्नो स्वार्थ साँध्न छाडेर दलहरुले पठनपाठन प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने हो । तर दलहरु आफ्नो जिम्मेवारी पूरा गर्न छाडेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने अस्वस्थ होडबाजीमा लाग्ने गरेका छन् ।

यस्तो रोग देशव्यापी देखिए पनि तराईका जिल्लाहरुमा अझै बढी देख्न र सुन्न पाइन्छ । त्यसकै उदाहरण हो, सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित कचन्दाहा माविको व्यवस्थापन समिति गठन लफडा ।

विद्यालय लामो समयसम्म व्यवस्थापन समितिविहीन भएपछि यसका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले बिहीबार व्यवस्थापन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भयो । निर्धारित तालिकाअनुसार नै अभिभावकको नामावली प्रकाशन, उम्मेदवारी दर्ता र दाबी विरोधको कार्यक्रम सम्पन्न भयो ।

उम्मेदवारी दर्ताका लागि दिइएको बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा चार जनाको उम्मेदबारी परेको थियो । तर शम्भुनाथ नगरपालिका–३ का वडाध्यक्ष शत्रुद्यनप्रसाद चौधरीले निर्धारित निर्वाचन नै रोकिदिएका छन् ।

आफूपक्षीय उम्मेदवार खडा गर्न नसकेपछि उनले व्यवस्थापन समितिको चुनाव प्रभावित पारेको आरोप केही अभिभावक तथा शिक्षकले लगाएका छन् । फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित उनी माउ पार्टी कांग्रेसमा बिलय भएसँगै कांग्रेस बनेका छन् ।

निर्वाचनबारे आफूलाई जानकारी नभएको भन्दै वडाध्यक्ष चौधरीले दबाव दिएपछि निर्वाचन कार्यक्रम रोकिएको निर्वाचन सहयोग समितिका संयोजक भोगेन्द्र यादवले जानकारी दिए । ‘वडाध्यक्षले निर्वाचनबारे जानकारी नभएको गुनासो गरेपछि हामीले २ घण्टा समय थप्ने विकल्प पेश गर्यौं तर त्यसमा पनि उहाँ तयार नभएपछि व्यवस्थापन समिति गठन गर्ने लामो समयदेखिको प्रयास निरर्थक भएकोछ’, यादवले भने ।

वडाध्यक्ष चौधरीले विना जानकारी व्यवस्थापन समितिको चुनाव गर्न लागिएकाले आफूले स्थगित गर्न लगाएको स्वीकारे ।

प्रअलाई थुन्ने प्रयास

निर्धारित निर्वाचन कार्यक्रम स्थगनपछि केही अभिभावक विरोधमा उत्रिएका थिए । निर्धारित मितिमै निर्वाचन प्रक्रिया सक्नुपर्ने भन्दै उनीहरुले प्रधानाध्यापकलाई कोठामा थुन्ने प्रयास गरेका थिए । स्थिति असहज भएपछि प्रहरी नै परिचालन गर्नु परेको शाखा अधिकृत यादवले बताए ।

रोकिएको निर्वाचन थप छलफल गरेर गरिने विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment