+
+
Shares

फलानाको छोराछोरी जस्तै आफ्नो छोराछोरी किन हुँदैनन्

बच्चालाई अरुसँग तुलना गर्नु कति हानिकारक ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ९ गते १०:००

हरेक बच्चा आफैमा विशेष हुन्छन् । हरेकका आफ्नै गुण हुन्छन् । क्षमता हुन्छन् । स्वभाव हुन्छ । चरित्र हुन्छ ।

तर, हामी अभिभावक सबै बच्चालाई एउटै ठाउँमा राखेर लेखाजोखा गर्छौं । वास्तवमा यही हाम्रो कमजोरीले एउटा अबोध बच्चा सजायको भागिदार बनिरहेका हुन्छन् । यी कुरा तपाईलाई सामान्य लाग्छ, तर नतिजा भयानक छ । तपाईं आफ्नो बच्चाको तुलना कसैसँग गर्दै नगर्नुहोस् । किनभने संसारमा कुनैपनि बच्चालाई अर्कोसँग तुलना गर्न सकिदैन ।

हरेक बच्चाको आफ्नै गुण र अवगुण हुन्छ । क्षमता र कमजोरी हुन्छ । कुनैपनि बच्चाले जन्मदै अवगुण वा दोष लिएर जन्मिएका हुँदैनन् । तर, तपाईं, हाम्रो व्यवहारले उनीहरुमा त्यस्ता अवगुण विकास हुन्छ । र, हामी दोष पनि उनै बच्चालाई दिन्छौं । जबकी, गल्ती हाम्रो हुन्छ ।

फलानाको छोराछोरी जस्तै आफ्नो छोराछोरी किन हुँदैनन्

जसरी हातका पाँच औँला बराबर हुदैनन् त्यसरी नै हरेक बालबालिका एकअर्काभन्दा फरक एवं आफैँमा विशेष क्षमतायुक्त हुन्छन् । हरेक आमाबाबुले के कुरामा ध्यान दिनुपर्छ भने आफ्ना बालबालिकामा आत्मविश्वासको कमी हुन नपाओस् र उसको जीवन खुसीले भरियोस् ।

हामीकहाँ अधिकांश आमाबाबु आफ्ना बालबालिकाको तुलना अरूका छोराछोरीसँग गर्छन् । फलानाको छोरो यस्तो छ, फलानाकी छोरीले यति पढेकी छे, तँ लम्फु, तँ केही न कामकी भन्नेजस्ता शब्द प्रयोग गरेर बालबालिकालाई अपमान गर्न अघि सर्छन् धेरै अभिभावक ।

नतिजा के हुन्छ भने, सन्तान आफूले चाहेजस्तो त बन्दैनन् नै, उनीहरूमा आफ्ना अभिभावकप्रति नै नकारात्मक भावनाको विकास हुन्छ । यसकारण आफ्ना बालबालिकाको तुलना अरूसँग गर्नु गलत हो । केही अध्ययनबाट के निष्कर्ष निस्किएको छ भने आमाबाबुको यस्तो व्यवहारले बालबालिकाको मनोबल गिर्छ र ऊ आफूलाई कमजोर ठान्न थाल्छ ।

यसका साथै अध्ययनबाट के पनि देखिएको छ भने यस्ता प्रकारका बालबालिकाहरूमा मानसिक समस्या देखा पर्नसक्छ, उनीहरूको मानसिक स्वास्थ्यमा परेको गम्भीर असर सितिमिति भर्पाइ हुन सक्दैन, यसलाई ठीक बाटोमा ल्याउन ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ ।

बच्चाको लागि यी कुरा ख्याल गरौं

भनिन्छ, बालबालिकाहरू काँचो माटोजस्तो हुन्छन्, तपाईंले जेजस्तो बनाउन चाहनुहुन्छ उनीहरू त्यस्तै बन्छन् । यसकारण आमाबाबु हुनुका नाताले आफ्ना बालबालिकाको सामयिक एवं उचित लालनपालन गर्नु हरेक अभिभावकको कर्तव्य हो । आफ्ना बालबालिकाको तुलना गरेर उनीहरूलाई मानसिक हिसाबले कमजोर बनाउने नभई उनीहरूको आत्मविश्वास कसरी सुदृढ बनाउन सकिन्छ भन्ने कुरामा ध्यान केन्दि्रत गर्नुपर्छ ।

फलानाको छोरो यस्तो छ, फलानाकी छोरीले यति पढेकी छे, तँ लम्फु, तँ केही न कामकी भन्नेजस्ता शब्द प्रयोग गरेर बालबालिकालाई अपमान गर्न अघि सर्छन् धेरै अभिभावक ।

बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन्, उनीहरू एक ठाउँमा खुम्चिएर अथवा गम्भीर भएर बसिरहन पनि सक्दैनन् । केही कुरा जान्ने, सिक्ने कौतुहल हरदम रहिरहेको हुन्छ उनीहरूको मनमा, यसकारण उनीहरूलाई तँ बदमास, चकचके, फलानाको छोराछोरी त यस्ता छैनन् । कति चल्न सकेको होला, चुप लागेर थपक्क बसिरहन पनि नसक्ने भनेर गाली गर्न हुँदैन ।

कतिपय अभिभावकहरू त यस्तो कुराले बालमस्तिष्कमा गहिरो आघात पर्नसक्छ भनेर सोच्नसम्म पनि सक्दैनन्, उनीहरू आफूले सन्तानलाई तह लगाएर ठीक बाटोमा हिँडाइरहेको छु भन्ठान्छन् । जब कि यो निकै गम्भीर समस्या हो ।

तुलना कसैसँग हुन सक्दैन

बालबालिका मात्र नभई ठूला मानिसलाई पनि एकअर्कासँग तुलना गर्नुहुदैन । तुलनाले मानिसको आत्मविश्वास कमजोर हुन्छ । यसबाट खासगरी बालबालिकामा त झन् यस प्रकारको आलोचनाको सामना गर्न सक्षम हुँदैनन् र यसको असर उनीहरूमा जीवनभर पर्छ । अझ आफ्नै आमाबाबुको मुखबाट आफूभन्दा अरू राम्रो भन्ने कुरा सुन्नु बालबालिकाका लागि अति नै दुःखदायी हुन्छ ।

अभिभावकले समझदारी देखाउनुपर्छ । अभिभावकका नाताले के सही हो र के गलत हो अनि कसरी सही र कसरी गलत हो भन्ने कुरा बालबालिकालाई बुझाउनुपर्छ । यो कुरा बुझाउनका लागि उनीहरूलाई कसैसँग तुलना गर्नु आवश्यक छैन ।

अवको प्रतिस्पर्धात्मक युगमा बालबालिकालाई युगानुकूल हिसाबले सक्षम बनाउने प्रयास गर्नु अभिभावकको कर्तव्य हो । अहिले बालबालिकाले जतासुकै प्रतिस्पर्धाको सामना गर्नुपर्छ । यस्तो अवस्थामा कम्तीमा घरमै भए पनि त्यस्तो हुन नदिन सके उनीहरूमा हीन भावना जागृत हुन पाउँदैन ।

बालबालिकालाई कसरी आफ्ना कमजोरी हटाएर आफूलाई बलियो पार्ने भन्ने कुरा पनि अभिभावकले नै सिकाउनुपर्छ । यसो नगरी हरेक समय अरूसँग तुलना गरिदिन थालियो भने त पक्कै पनि असर पर्ने नै भयो । हुन त हरेक आमाबाबु आफ्ना सन्तानलाई अरूका तुलनामा उत्कृष्ट नै बनाउन चाहन्छन् तर यसका लागि उपयुक्त तरिका भने अपनाउन सक्दैनन् अनि राम्रो गर्ने आशय भए पनि यथार्थमा नराम्रो भइदिन्छ । त्यसकारण पनि आफ्ना बच्चाको तुलना अरूसँग गर्नु हुँदैन ।

किन गर्नु हुँदैन तुलना ?

-जब हामीलाई आफूअगाडिको व्यक्ति आफूभन्दा कुनै कुरामा राम्रो छ भनिन्छ, त्यतिखेर हामीलाई आफ्नो योग्यतामाथि प्रश्न उठ्न थाल्छ, शंका लाग्न थाल्छ, अनि बिस्तारै-बिस्तारै कमजोर भइन थाल्छ । यही कुरा बालबालिकामा पनि लागू हुन्छ ।

-जब हामीले आफ्नो बालबालिकाको तुलना कुनै छिमेकीको बच्चा, उनीहरूको स्कुलको कुनै बच्चा वा कुनै नातेदारको बच्चासँग गर्न थाल्छौँ, उनीहरूमा एक प्रकारको जलन एवं ईष्र्याको भावना पैदा हुन्छ, जुन पछि गएर क्रोध एवं घृणामा परिणत हुन्छ । यस्ता भावले जीवन बर्बाद पार्छन् ।

– तुलनाले बालबालिकामा भएको सकारात्मक ऊर्जालाई विनाश गरिदिन्छ । उनीहरू नयाँनयाँ कुरा सिक्न तथा चुनौतीको सामना गर्नबाट डराउने गर्छन् किनभने उनीहरूलाई हारिने पो हो कि भन्ने डरले सताउन थाल्छ । उनीहरूको मनमा नकारात्मकताले डेरा जमाउँछ ।

-अझ महत्वपूर्ण कुरा त के भने अभिभावकले अरूसँग तुलना गरेर बालबालिकालाई मानसिक रूपमा कमजोर मात्र बनाइरहेका हुदैनन् आफूबाट टाढासमेत पुर्‍याइरहेका हुन्छन् । यसबाट सम्बन्धमा जुन मिठास रहँदैन, सन्तान र आमाबाबुको सम्बन्धमा नै दरार उत्पन्न हुनसक्छ ।

-बालबालिकालाई अरूसँग तुलना गर्नु भनेको उनीहरूमाथि दबाब दिनु हो । यसबाट उनीहरूलाई के लाग्छ भने आफूले अभिभावकको आशालाई पूरा गर्न सकिएको छैन । यसबाट उनीहरूमा हीनभावना भरिँदै जान्छ जसबाट अन्ततः हानिसिवाय केही हुँदैन ।

बालबालिकालाई राम्रो वातावरणमा हुर्काउनु निकै गार्‍हो काम पनि हो । यसका लागि आमाबाबुले ठूलो त्याग एवं बलिदान गर्नुपर्ने हुन्छ । कुनै पनि आमाबाबुले जानीजानी आफ्ना बालबालिकाको अहित हुने कामकुरो गर्न खोज्दैनन् । उनीहरू सदैव सन्तानको भलाइ एवं खुसी चाहन्छन् तर पनि अन्जानमै गलत कुरो भइदिन्छ जसलाई सच्याउन निकै गार्‍हो पर्छ ।

बालबालिकाको पहिलो स्कुल नै घर हो । पहिलो स्कुलमै उसले नराम्रो शिक्षा पायो वा उसमा खराब बानीको विकास हुनपुग्यो भने त्यसले जीवनभर पछ्याउन छाड्दैन । जीवनमा सकारात्मकता आवश्यक पर्छ, यसको सट्टा उनीहरूको मनमा नकारात्मकताले घर बसायो भने त्यो व्यक्ति, समाज एवं राष्ट्रकै लागि हानिकारक हुन्छ ।

तसर्थ बालबालिकालाई कतातिर डोर्‍याउने हओ भन्ने कुरामा अभिभावकहरू सचेत भएर लाग्नुपर्छ । उज्ज्वल भविष्यका लागि बालबालिकाको वर्तमान राम्रो बनाउन सहयोग गर्नुपर्छ । सदैव जीवनका उज्याला पक्षहरू देखाएर अघि बढ्न प्रोत्साहन दिनुपर्छ । साथै अभिभावकले उनीहरू आफ्ना लागि विशेष छन्, सर्वस्व हुन् भन्ने महसुस गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?