Comments Add Comment

पोखरा लेखनाथ महानगरको बजेट ६ अर्ब ५३ करोड, १२ वटा गौरवका योजना

१० असार, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

नगर प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक आय अनुमान गरिएको छ ।

बाहृय आयमा वित्तीय समानीकरण अनुदानबाट ६१ करोड ४४ लाख, सशर्त अनुदानबाट १ अर्ब २० करोड ४२ लाख, समपूरक अनुदानबाट ६ करोड रुपैयाँ, विशेष अनुदानबाट १५ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख ३१ हजार ६ सय ९०, प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फको आय ३ करोड २९ लाख ८८ हजार ३ सय ९० रुपैयाँ रहेको मेयर जिसीले बताए । त्यस्तै नगद मौज्दात ५० करोडसमेत गरी कुल बजेट ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यसैगरी व्ययतर्फ विभिन्न कोषहरूका लागि जम्मा २१ करोड रूपैयाँ, पूर्वाधार विकासमा २ अर्ब २३ करोड ७९ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३५ करोड ५१ लाख, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख विनियोजन गरिएको छ ।

त्यस्तै पुँजी निर्माणतर्फ ५ करोड १० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख रूपैयाँ, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

महानगर गौरवका १२ योजना घोषणा

महानगरपालिकाले १२ वटा योजनालाई महानगरको गौरवको योजनाको रुपमा प्रस्तुत गरेको छ । जसमा फेवा तथा बेगनासलगायतको ताल संरक्षण, फेवाताल ढल डाइभर्सन, फेवा-बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, किमी सडक कोर सिटीमा स्तरोन्नति रहेका छन् ।

त्यस्तै पर्यटकीय बसपार्क निर्माण, तालचोक-खुदीको मुहानसम्म चार लेन सडक, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, ३० वटा कनेक्टिङ सिटी सडक, फिर्के करिडोर चक्रपथको गुरूयोजना र सिसी टिभी जडान कार्यक्रमलाई पनि महानगरको गौरवको योजनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment