+
+
Shares

प्रदेश ७ का मुख्यमन्त्री भन्छन् : पश्चिम सेती गायत्री मन्त्र जस्तोमात्रै भयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १३:४२

११ असार, डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजना ‘गायत्री मन्त्र’ जस्तै भएको बताएका छन् । उनले चुनावी मुद्दा बनाउने र सबैले नाम लिने गरे पनि पश्चिम सेती आयोजना बनाउनेमा चासो कसैको नदेखिएको बताएका हुन् ।

‘बर्षौदेखि पश्चिम सेती परियोजना चुनावी मुद्दा बन्दै आयो तर निर्माण हुन सकेन’ मुख्यमन्त्री भट्टले भने ‘अब यो मुद्दा गायत्री मन्त्र जस्तै भएको छ, न कसैले पश्चिम सेती परियोजनाको नाम लिन छोड्छ न कसैले बनाउन सक्छ ।’

सात सय ५० मेगावाटको पश्चिम सेती आयोजना संघीय सरकारले बजेटमा समावेश गरेकालेे प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने बताउँदै भट्टले भने ‘तर प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने योजनाहरुमा हामी अब दाता आउला वा लगानीकर्ता आउला र हाम्रो योजना बनाइदेला भनेर र्फकदैनौं ।’

उनले खोलाको क्षमताका आधारमा दुई/चार मेगावाट विद्युत निकाल्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको बताए । ‘पुँजी जम्मा गरुलाँ र एकैचोटी विकास गरुँला भन्ने सोचाईले काम चल्दैन’ उनले भने ‘आफूसंग जति पुँजी छ त्यतिबाटै लगानी गर्न सुरु गर्ने हो, बाँकी लगानीका लागि खोजी गर्दै जाने हो ।’ कुनै लगानीकर्ता आउला र योजना बनाउला भनेर लाग्ने हो भने पश्चिम सेती आयोजनाकै हालत हुने उनी बताउँछन् ।

आइतबार डोटीका दिपायल सिलगढी र शिखर नगरपालिकाका नगरसभा उद्घाटन गर्न आएका उनले स्थानीय तहमा भइरहेको अनियमितताप्रति गम्भिर चिन्ता व्यक्त गरे । मुख्यमन्त्री भट्टले भने ‘प्रत्येक राजनीतिकर्मीहरुको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्छ, व्यक्तिगत स्वार्थ होइन ।’

उनले जनप्रतिनिधिहरुलाई विकास निर्माण र सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रह नराख्न पनि आग्रह गरेका छन् । ‘हिजो चुनाव लड्दा हामी कुनै एक दलको टिकटबाट चुनाव लड्यौं, त्यो वेग्लै पाटो हो’ भट्टले भने ‘अब जनप्रतिनिधि भइसकेपछि हामी सवैको जनप्रतिनिधि हो, त्यसैले हामीलाई भोट दिनेको वा आफू संलग्न पार्टीको मात्रै प्रतिनिधि हुँ भनेर सोच्नु हुँदैन ।’

राजधानी मेरो मात्रै बशको कुरा होइन

मुख्यमन्त्री भट्टले प्रदेशको स्थायी राजधानी दिपायल हुनुपर्ने मेरो व्यक्तिगत धारणा हुँदाहुँदै पनि राजधानी दिपायल बनाउने कुरा आफ्नो मात्रै अधिनमा नरहेको बताए ।

‘यदि संविधानमा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरे वमोजिम हुने व्यवस्था भएको भए भोलिपल्ट मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने परिस्थिति आए पनि आफ्नो तरिकाले निर्णय गर्थें’ भट्टले भने ‘तर संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने निर्णय म एक्लैले गरेर हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?