Comments Add Comment

गुल्मीमा स्थानीय सरकारको एक वर्षः चुनौती र कर्मचारी अभावसँगै वित्यो

१४ असार गुल्मी । स्थानीय तहको निर्वाचन भएको गुल्मीमा एक वर्ष पूरा भएको छ । यो अवधिमा जनप्रतिनिधिले उत्साहसँगै नयाँ अनुभूति भएको बताएका छन् ।

स्थानीय सरकार गठनसँगै सिंहदरबारको अधिकार गाउँ केन्द्रित भएपनि नागरिकहरुका अपेक्षा भने पूरा हुन सकेका छैनन् ।

एक वर्षको अवधिमा स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफूहरुले सुरुआती चरण भएकोले सोचे जस्तो काम गर्न नसकेको बताएका छन् ।

जिल्लाका २ नगपालिका र १० गाउँपालिकामा चुनिएका जनप्रतिनिधिले स्थानीय तहमा कार्यालय स्थापनादेखि कर्मचारी अभावकै बीचमा पहिलो वर्ष सकिएको बताएका छन् ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक वर्षको अवधिमा वडा कार्यालय स्थापना गर्नु नै मुख्य चुनौती रहेको बताए । उनले एक वर्षको अवधिमा नगरपालिकामा स्रोतसाधनदेखि कर्मचारी अभावले काम गर्न निकै चुनौती रहेको बताए ।

‘निर्वाचित भएको एक वर्षमा नगरभित्र धेरै कामहरुको थालनी गरिएको छ,’ भुसालले भने, ‘नगरपालिका केवल नाम मात्रको नगरपालिका भएकाले सुरुआती चरणबाटै काम गर्न निकै चुनौती बन्यो ।’

जनताको लागि केही गर्न सकिन्छ भन्ने उदेश्यले निर्वाचित भएर आएकाले केही बिकासका योजनाहरु सुरुआती चरणमा लगिएको भुसालले बताए । ‘जनताको लागि केही गर्न सकिन्छ भन्ने उदेश्य राखेका छौ,’ नगर प्रमुख भुसालले भने, ‘जनतालाई अनुभुति दिलाउने गरी कामहरु थालनी गर्नु एक वर्षको मुख्य उपलब्धी हो ।’

सदरमुकाम केन्दि्रत अधिकार वडास्तरमा स्थापना गरेर गाउँ टोलमा सुबिधा दिनु एक वर्षको अवधिको मुख्य उपलब्धी रहेको नगर प्रमुख भुसालको भनाइ छ ।

यता मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अपेक्षा गरे काम गर्न सकिन्छ भन्ने यो एक वर्षमा पाएको बताए ।

उनले पहिलो वर्ष स्थानीय तहको कार्यालय राख्नेदेखि कार्यालयको लागि आबश्यक सामानहरुदेखि सुरु भएकाले निकै कठिनाई पनि रहेको बताए ।

पहिलो वर्ष कर्मचारी प्रर्याप्त मात्रामा नहुँदा काम गर्न पनि समस्या रहृयो नगरप्रमुख सापकोटाले भनेे, ‘पहिलो वर्षमै नगरपालिकामा सबै वडाहरुमा सडक सञ्जाल पुर्‍याएका छौं ।’

नगर भित्र १ हजार घर धुरिमा खाने पानी समेत लगिएको बताए । स-साना योजनाहरुसँगै नगरभित्र खरका छाना भएका घरहरुमा टिनका छाना दिने अभियान प्रक्रियामा रहेको बताए ।

सुरुआती चरण भएकाले वडा कार्यालय स्थापनादेखि वडा तहबाट सेवा दिनु पनि मुख्य उपलब्धी रहेको उनले बताए ।

उनले निर्वाचनअघि सदरमुकाम केन्दि्रत कार्यालयहरु गाउँमा ल्याएर स्थापना गर्नु पहिलो वर्षको मुख्य उपलब्धीको रुपमा लिन सकिने बताए ।

उनले पाँच वर्षभित्र जनतालाई उल्लेखित प्रतिबद्धता एक-एक गरेर पूरा गर्ने बताए । नगरभित्र अरु ठूला दीर्घकालीन प्रभाव राख्ने योजनाहरु प्रक्रियागत रहेकाले नगरभित्र उल्लेखनीय काम हुने बताए ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले काम गर्ने इच्छा शक्ति र सही योजना लिए एकै वर्र्षमा धेरै काम गर्न सकिने ज्ञान पाएको बताए । वर्षमा ८० प्रतिशत कामहरु भएको छ दावी गर्दै उनले भने, ‘सुरुआती चरण भएकाले केही कर्मचारी अभाव, अनुभवको अभाव हुँदा हुँदैपनि अपेक्षा अनुसार काम गर्न सकिएकाले ऊर्जा मिलेको छ ।’

गाउँपालिकामा धेरै कामहरु सुरुआती चरणमा भएकाले एक वर्षमा कही पूरा भएपनि चरणबद्धरुपमा रहेकाले पूरा हुँदै जाने उनको भनाइ छ ।

चन्द्रकोट गाउँपालिका प्रमुख दोर्ण खत्रीले जनप्रतिनिधि निर्वाचित भएपनि अनुभव कम भएकाले क्षमता अभिबृद्धिको कमि रहेको बताए । पहिले गाबिसमा निर्वाचित भएर काम गरे जस्तो भन्दा पनि फरक रहेकाले केही हाम्रा लागि स्थानीय तह नौलो र चुनौतिपूर्ण अबस्थाबाट एक वर्ष पूरा भएको खत्रीको भनाइ छ ।

उनले जनताले आधारभूत समस्याहरु राखेकाले त्यस्ता समस्याहरु एक वर्षमा केही पूरा गरिएको बताउ । ‘हामीले गरेका प्रतिबद्धताहरु पाँच वर्षका थिएँ,’ खत्रीले भने, ‘पाँच वर्षका बाचा एक वर्षमा सबै पूरा हुँदैनन् बिस्तारै परिर्वतन हुँदै जान्छ ।’

कालीगण्डकी गाउँपालिका प्रमुख बेद मगरले भने निर्वाचित भएको एक वर्षमा अपेक्षाकृत काम गर्न सकिएको बताए ।

उनले गाउँपालिका भित्र मोटरबाटो,खानेपानीसँगै अरु साना ठूला बिकास निर्माणका कामहरु केही पूरा र केही सुरुआती चरणमा लैजान सफल भएको बताए । ‘जनताको लागि केही गर्न सकिन्छ भनेर जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएका हौं,’ उनले भने, ‘ पाँच वर्षमा बोलेका सबै बाचा पूरा हुँदै जान्छन् ।’ पहिलो वर्ष नौलो, अनुभव कम, कानून निर्माण जस्ता समस्याले केही चुनौतिहरु पनि रहेको बताए ।

यस्तै, इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले निर्वाचित एक वर्ष सोचे अनुरुप बितेको बताए । जनताका आधारभूत समस्याहरु शिक्षा, स्वास्थ्य, खोनपानी, मोटरबाटो जस्ता प्रत्यक्ष प्रभाव पार्ने कामहरु केही पूरा भएको र केही सुरुआती चरणमा रहेकाले एक वर्षमा सोचे अनुसार काम गर्न सफल भएको बताए ।

शैक्षिक सुधारदेखि खरका छाना बिस्थापन,निशुल्क शिक्षा, सबै वडा स्तरमा मोटरबाटो पुर्‍याउनु मुख्य उपलब्धी रहेको बिष्टले बताए । ‘एक वर्ष पश्चाताप गर्नुपर्ने गरी काम गर्न नसकिएको पटक्कै छैन्,’ बिष्टले भने, ‘पाँच वर्षमा सोचेअनुसार काम गर्न सकिन्छ भन्ने पहिलो वर्षले ऊर्जा दिएको छ ।’

मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले आफूहरुले गरेका प्रतिबद्धता अनुसार कामहरु गर्न सफल भएको बताए । गाउँमा जनताले स-साना योजनाहरु माग गरेकाले कामहरु पूरा हुँदै गएको बताए । ‘गर्नुपर्ने कामहरु धेरै छन्,’ उनले भने, ”एक वर्षमा आशातित कामहरु भएका छन् त्यसले आगामी दिनहरुलाई ऊर्जा दिलाएको छ ।’ कर्मचारी अभाव हुँदा हुँदै पनि पहिलो वर्षमा भएका कामहरु सोचे अनुसार गर्न सकिएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment