Comments Add Comment

पुल नबनाउने ११ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

मध्यपहाडी लोकमार्ग । फाइल तस्वीर

१५ असार, काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्गले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । आयोजनाको पूर्वी खण्डका आयोजना प्रमुखले एक सार्वजनिक सूचना जारी गर्दै ती ठेकेदार कम्पनीहरुलाई चेतावनी दिएका हुन् ।

सिन्धुलीको खाङसाङ र सोलुखोला पुल पप्पु कन्स्ट्रक्सनले समयमै निर्माण नगरेको सूचनामा उल्लेख छ । ०६९ को पुसमा सकिनुपर्ने पुल निर्माणको काम पप्पुले अलपत्र छाडेको आयोजनाको आरोप छ ।

पटक-पटक पत्र लेख्दा पनि जवाफ नदिएको, रीत नपुगेको बिल पेश गरेको, पत्र बुझ्न आलटाल गरेको, कार्यसम्पादन जमानतको म्याद थप नगरी पेश नगरेको लगायतका आरोप आयोजनाले लगाएको छ ।

पप्पुलाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी सूचनामार्फत दिइएको छ ।

थप १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पूर्वी खण्डले गणेशचोक च्यांगथापु सडक तोकिएको समयमै नबनाउने रसुवा-एसबीए जेभीसँग पनि १५ दिनभित्र लिखित स्पष्टीकरण मागेको छ ।

तेह्रथुमको कोयाखोला पुल निर्माणमा ढिलाई गर्ने एसबीए निर्माण सेवा, खोरुङ्गा खोला पुलको निर्माण सरु नगर्ने कोशी एन्ड न्यौपाने निर्माण सेवालाई पनि लिखित जवाफ पेश गर्न भनिएको छ ।

काम नै सुरु नगर्ने छाँगेखोला पुलको ठेकेदार सूर्य कन्स्ट्रक्सन, धनकुटाको म्याङमाया खोला पुलको ठेक्का लिने च्याङ्मिला-गाल्वा जेभी, खडुवा र सुख्खा खोलो पुलको ठेकेदार बिरुवा/गाल्वा जेभीसँग पनि आयोजनाले स्पष्टीकरण मागेको छ ।

काममा ढिलाइ गर्ने भोजपुरको पिकुवा खोला पुलको ठेकेदार एलिट कन्स्ट्रक्सन र रामेछापमा सडक निर्माणको ठेकेदार लोहनी एन्ड ब्रदर्श-सिद्धबाबा जेभीलाई पनि कालोसूचीमा राख्ने चेतावनी आयोजनाले दिएको छ ।

हेर्नुहोस् आयोजनाको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment