Comments Add Comment

मेस्सीलाई घर पठाउने एम्बाप्पे, जोसँग सबथोक छ

१७ असार, काठमाडौं । विश्वकपको एउटा क्लासिक म्याचपछि जब लियोनल मेस्सी र किलियन एम्बाप्पेले एक-अर्कालाई अंगाले, एउटा खेलाडीले अर्को खेलाडीलाई आफ्नो महानता हस्तान्तरण गरेको जस्तो देखियो ।

शनिबार कजान एरिनामा उपस्थित हजारौं फुटबल समर्थकहरुले एउटा विशेष म्याच हेर्ने अवसर पाए, जुन आफैंमा अदभूत थियो । र, एउटा खेलाडीले म्याचको नतिजामा फरक पारे, जो थिए फ्रान्सका १९ वर्षीय एम्बाप्पे ।

विश्वकपको पहिलो नकआउट म्याचमा उनले दुई गोल गरे र एउटा पेनाल्टीका लागि मार्गप्रशस्त गरे ।

अन्ततः अर्जेन्टिनामाथि फ्रान्स ४-३ ले हावी भयो र डिडियर डेस्च्याम्पको टिम क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । यो खेलले फ्रान्सलाई विश्वकप उपाधि जित्न सक्ने टिमको रुपमा प्रस्तुत गरेको छ ।

एम्बाप्पेः जोसँग सबैथोक छ

फ्रान्सले आफ्नो घरेलु मैदानमा सन् १९९८ मा विश्वकप जित्दा बाप्पे जन्मेका पनि थिएनन् । सन् १९९८ को २० डिसेम्बरमा जन्मिएका एम्बाप्पे अहिले पनि पेरिस सेन्ट जर्मेनमा लोनमा छन् तर, दोस्रो सर्वकालीन महंगा खेलाडीको रुपमा १ सय ८० मिलियन यूरोका लीग प|mेन्च च्याम्पियनमा उनी आवद्ध हुने अपेक्षा छ । योभन्दा बढि पारिश्रमिक नेइमारले मात्र पाएका छन्, जसले २०० मिलियन यूरो लिएर पीएसजी ज्वाइन गरेका थिए ।

एम्बाप्पेसँग तीव्र गति मात्र छैन, उत्कृष्ट कला, छिटो सोच्ने क्षमता, दुई चलाख खुट्टा, एउटा चिसो मस्तिष्क, आँट, विश्वास र गोलका लागि धारिला आँखा सबैथोक छ । उनका दुवै गोल शक्तिशाली र चलाखीपूर्ण थिए ।

‘एउटा सेन्टर फवार्डको यो उत्कृष्ट प्रदर्शन हो, जसमा उनले गति र टेक्निक दुवै देखाएका छन्’ पूर्व ईंग्लिस कप्तान एलान सियररले भनेका छन्, ‘१९ वर्षको किशोरबाट यस्तो प्रदर्शनले सुनौलो भविश्यको संकेत गर्छ ।’

एबाप्पले अघिल्लो वर्ष मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेका हुन् । सन् २०१६-१७ को सिजनबाट उनी प्रख्यात बनेका हुन्, जहाँ उनले मोनाकोबाट ४४ म्याच खेल्दा २६ गोल गरेका थिए र आफ्नो टिमलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउनुका साथै लिग १ को उपाधि दिलाएका थिए ।

शनिबार उनका दुई उत्कृष्ट गोलले उपाधिको दावेदार अर्जेन्टिनालाई विश्वकपबाट हुत्याइदिएको छ ।

ब्राजिलका पेलले १७ वर्षको उमेरमा १९५८ मा स्वीडेनविरुद्ध गरेको दुई गोलपछि कुनै पनि किशोरले विश्वकपको एउटै खेलमा दुई गोल गर्न सकेका थिएनन् । ‘म एकदम खुशी छु’ एम्बाप्पेले भने, ‘पेले जस्तो महान खेलाडीसँग मेरो तुलना हुनु रोचक कुरा हो, तर म उनको अगाडि केही पनि होइन ।’

मेस्सीको अर्को खराब दिन

हिजोको म्याचले सबैभन्दा चोट कसैलाई पुर्‍याएको छ भने त्यो लियोनल मेस्सीलाई नै हो ।

पाँच पटक बालोन डि’ओर जितेका उनको विश्वकप उपाधि सपना तुहिएको छ । रेफ्रीले खेल सकिएको संकेत गर्दै अन्तिम सिठ्ठी बजाएपछि मेस्सीले पछाडि फर्केर हेरेनन्, जब कि उनको पछिपछि एम्बाप्पे हिँडिरहेका थिए ।

मेस्सीले म्याचमा भरपुर कोशिष गरेकै हुन् । उनले दुईवटा गोलका लागि पास मिलाएका थिए । उनले गरेको प्रहारलाई ग्याबि्रयल मर्काडोले फिनिसिङ टच दिएर अर्जेन्टिनालाई अग्रतामा पुर्‍याएका थिए भने खेलको इन्जुरी मेस्सीको उत्कृष्ट क्रसमा सर्जियो अगुयरोले गोल गरेका थिए । पछिल्लो गोल गर्दा भने निकै ढिला भइसकेको थियो । म्याचमा उनले एकपटक मात्र पोष्टमा प्रहार गरे, जुन फ्रान्सेली गोलकिपरले सहजै समातेका थिए ।

आफ्नो ३१ औं जन्मदिन मनाएको ६ दिनपछि मेस्सी टाउको निहुर्‍याएर मैदानबाट निस्कन बाध्य भए ।

यो हारले मेस्सीलाई फेरि अन्तर्राष्ट्रिय म्याचबाट सन्न्यास लिनेतर्फ धकेल्ने अनुमान गरिँदैछ । त्यसो त अर्जेन्टिनाको म्यानेजर जर्ज साम्पाओलीको पद पनि खतरामा परिसकेको छ । उनले चाँडै राजीनामा दिने धेरैले भविष्यवाणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment