Comments Add Comment

भरतपुर वाइपास सडक विस्तार : विजुलीको पोल र रुखले अल्झियो काम


१८ असार, चितवन । जम्मा ४.४ किलोमिटर लामो भरतपुर बाइपास सडक विस्तार गर्न थालेको १८ महिना बित्यो । तर प्रगति ३२ प्रतिशत मात्रै छ । गएको चैतमा सम्झौता अवधि सकियो । असारको पहिलो साता ६ महिना म्याद थप भयो । तर काम भने हाँसको चालमा छ ।

भरतपुरको केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्म पर्ने यो सडकखण्डलाई ४ लेनको बनाउने भनिएको छ । सडकमा रहेका बिजुलीका पोल, खानेपानीका पाइप नहटाएका कारण समयमा नै काम गर्न नसकिएको ठेकेदार दीपक कोइराला बताउँछन् ।

डिभिजन सडक कार्यालय भरतपुरकी इञ्जिनियर गीताञ्जली कोइराला सडकमा पर्ने रुख, विद्युत र टेलिफोनका पोल र खानेपानीको पाइप समयमा नसार्दा निर्माणले गति लिन नसकेको बताउँछिन् । सो सडकमा सबैभन्दा धेरै विद्युतको पोल छन् ।

पोलभरी केवल र टेलिफोनका तार जेलिएका छन् । विद्युत र टेलिफोनका पोल र खानेपानीको पाइप सार्न अघिल्लो वर्षको चैतमा नै सम्बन्धित कार्यालयलाई पत्राचार गरे पनि हालसम्म काम नहुँदा निर्माणको कामले गति लिन सकेको छैन ।

सो सडक खण्डका विद्युत पोल, खानेपानी र टेलिफोनका पोल सार्न दुई करोड ५० लाख रुपैयाँ बजेटसमेत छुट्टाइएको छ । पोल हटाउन टेण्डर गर्ने प्रक्रिया अघि बढाएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बताए ।

‘असार २१ गते टेण्डर खोल्छौं, रकम आएको छैन तर सहमतिका आधारमा टेण्डर गरिएको हो, सायद सडकमा रकम आएको होला’ प्रमुख महतोले अनलाइनखबरसँग भने । जिल्ला वन कार्यायलले समेत सडकको बीचमा पर्ने रुख हटाउन पटकपटक ताकेता गर्न पनि चासो नदिएपछि सडक विभागले असार १३ गते वन विभागलाई आफैंले पत्र काटेको छ ।

२०७३ पुस १९ गते, २०७४ चैत १८ गतेसम्म सम्पन्न गर्ने गरी गौरी पार्वती निर्माण सेवासँग डिभिजन सडक कार्यालय भरतपुरले सम्झौता गरेको थियो । अहिले ढल निर्माणको काम चलिरहेको छ ।

सो सडकको निर्माण लागत १२ करोड ८१ लाख ८२ हजार रुपैयाँ छ । सडकको दुवैतर्फ एक दशमलब दुई मिटरका आकाशे ड्रेन, ड्रेनभन्दा बाहिर दुई मिटर फुटपाथ र सडकको बीचमा १ दशमलव पाँचदेखि दुई मिटरको बगैंचा सहितको डिभाइडर हुने छ । डिभाइडरको दुवैतर्फ सात/सात मिटरको कालोपत्रे सडक हुने इञ्जिनियर कोइरालाले बताइन् । अहिले सडकको चौडाइ ५.५ मिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment