Comments Add Comment

सप्तरीमा वडाअध्यक्षको घरबाटै दुई मोटरसाइकल चोरी

२० असार, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट चार दिनभित्र तीन वटा मोटरसाइकल चोरी भएको छ । चोरी भएको मोटरसाइकल जनप्रतिनिधिकै हुन् ।

डाक्नेश्वरी नगरपालिकाको केन्द्र पातो बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट रहे पनि चार दिनभित्रै तीन वटा मोटरसाइकल चोरी भएको हो ।

डाक्नेश्वरी नगरपालिका ३ का अध्यक्ष प्रदीप साहको घरबाटै दुई वटा मोटरसाइकल चोरी भएको छ  । गत असार १६ गते राति वडा अध्यक्ष साहले आफ्नो आँगनमा राखेको को.२२ प ९४०२ नम्बरको एफजेडएस र अर्काे अन टेस्ट मोटरसाइकल चोरी भयो ।

चोरिएका यी दुई मोटरसाइकलमध्ये अन टेस्ट नगरपालिकाबाट सबै वडा अध्यक्षलाई दिएकोमध्येका थियो । एफजेडएस भने साहले पहिलादेखि नै प्रयोग गर्दै आएका थिए ।

वडा अध्यक्षको नगरपालिकाको केन्द्रबाटै दुई वटा मोटरसाइकल चोरी भएको चार दिन नबित्दै असार १९ गते नगरपालिका ६ का पूर्वजनप्रतिनिधिको मोटरसाइकल चोरी भएको छ । साविकको औरही गाविसका पूर्व उपाध्यक्ष जगदेश्वर यादवको मोटरसाइकल चोरी भएको हो ।

उनले आफ्नै आँगनमा राखेको बा. ७९ प २८६४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको बताए । मोटरसाइकल चोरी भएको घटनाबारे जनप्रतिनिधिहरुले बुधबार बताएका छन् ।

जनप्रतिनिधिहरुकै मोटरसाइकल चोरी भएपछि सर्वसाधारणले सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पातोले चोरिएका मोटरसाइकलको खोजबिन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment