Comments Add Comment

कलाकारलाई प्रश्नः कपाल पाल्दैमा, जिम जाँदैमा क्यारेक्टरमा पसिन्छ र ?

'पैसाकाे पछि कलाकार, कलाकारकाेपछि निर्माता'

उदाहरण १ः
चलचित्र ‘फर्कि आउ’ का लागि नायक राजेश हमालले कपाल काट्दा मिडियामा ठूलै चर्चा भयो । कारण, यसअगाडि प्रहरीको भूमिका गर्दा पनि हमालले कपाल छोट्याउन मानेका थिएनन् ।

‘फर्की आउ’ का निर्माताले भने कपाल नकाटे चलचित्रको छायांकन नै नगर्ने बताएपछि राजेश हमाल वाध्य भएका थिए । यसअगाडि, हमालले मैले जे गरे पनि फिल्म चलिहाल्छ नी भन्ने सोच राखेर आफूलाई केही परिवर्तन नै गर्न चाहेनन् ।

३ सय चलचित्रमा अभिनय गरेका हमाललाई आफूले अभिनय गरेका ४ वटा चलचित्रको नाम सम्भिmनुपर्‍यो भने गाह्रो पर्छ । दर्शकलाई त उनको ‘शंकर हुँ म शंकर’ बाहेक अरु संवाद पनि याद छैन, फरक भूमिकाको त कुरै नगरौ ।

उदाहरण २ः
५ बर्ष मुम्बई बसेर फर्किएका नायक निखिल उप्रेतीले नेपाली चलचित्रमा अभिनय र निर्देशनबाट पुरै परिवर्तन ल्याइदिने गफ हाँके । गफैगफका विचमा उनले चलचित्र ‘भैरव’ पनि बनाए । तर, निखिलले डेब्यू गरेको चलचित्र ‘पिजडा’को भन्दा पनि उदेकलाग्दो उनको भूमिका र उही फाइटले दर्शकलाई दिक्क बनायो ।

यसपछि, आधा दर्जन चलचित्रमा उडेर फाइट हान्ने काम गरेका निखिल अहिले चलचित्रमा कम, घरयासी जीवनमा बढी व्यस्त छन् । उनको, परिवर्तनको गफ पनि देशमा रेल आउने कुरा जस्तै भयो ।

उदाहरण ३ः
एक चलचित्रका लागि निर्देशक दिनेश राउतले नायक आर्यन सिग्देललाई शरीरको तौल घटाउन भने । तर, आर्यन यति अल्छी थिए कि उनले शरीरको तौल घटाउन सकेनन्, बरु झन् बढ्यो । विचरा निर्देशकले पनि के गरुन्, आर्यनलाई प्रेरणा मिल्छ कि भनेर आफ्नै तौल घटाए । तर, आर्यनको तौल २० को १९ भएन ।

कथा अनुसार आर्यनको गेटअप नभएपछि दिनेशले सो चलचित्र नै बनाएनन् । आर्यन अहिले पनि उही आफ्नो पुट्ट परेको पेट र उही पुरानै स्टाइलमा फिलिपिन्समा साम्राज्ञीसँग रोमान्स गरिरहेका छन् । चलचित्र क्षेत्रमा चाडो स्टारडम कमाउने र त्यति नै चाँडो स्टारडम सक्ने नायकमा पर्छन् आर्यन सिग्देल ।

उदाहरण ४ः
नायिका ऋचा शर्माले केही समय अगाडि एक कार्यक्रममा भनेकी थिइन्, मलाई मेरा आफ्ना केही चलचित्र हलमा आएर उत्रिहाले हुन्थ्यो भन्ने लाग्छ । किनकी, मैले ती चलचित्र पैसाको लागि मात्र खेलेको थिएँ । ती चलचित्रको हल्लै नहोस् भन्ने सोच आउँछ । आफै निर्मात्री पनि रहेकी ऋचाले अरु निर्माताको चलचित्र डुबोस् भनेर कसरी कामना गर्न सकिन् होला, उदेकलाग्दो कुरा छ ।

उदाहरण ५ः
चलचित्र ‘जोनी जेन्टम्यान’का लागि नयाँ के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा नायक पल शाहले भनेका थिए, म जीम गएर शरीर बनाउँदैछु, कपाल पाल्दैछु । चलचित्र रिलिज भएपछि दर्शकले न त पलको कपालको तारिफ गरे न त जिम गएर बनेको शरीर नै देखे । बरु, उनको साह्रै फितलो अभिनय देखे ।

पल शाहले चलचित्र ‘सत्रु गते’पछि ब्रेक लिएर बसेका छन् । अब, आफूलाई फरक तरिकाले प्रस्तुत गर्ने भन्दै उनले थुप्रै निर्माताको त फोन नै उठाएका छैनन्, बरु महंगो रकममा नायिका आँचल शर्मासँग मिलेर हप्तामा एउटा न एउटा म्यूजिक भिडियोमा भने काम गरिरहेका छन् । आखिर, चलचित्रका लागि पलको यो ब्रेकको उद्देश्य के होला ?

आफूलाई स्टार भन्ने, महंगो पारिश्रमिक माग्ने कलाकारका यस्ता उदाहरण त जति दिन पनि सकिन्छ । किनकी, यहाँ कलाकार कामभन्दा गफ ठूला गर्छन् र आफूलाई कोभन्दा को कम भन्ने आडम्बरमा दौडाइरहेका छन् ।

कलाकारको समयमा चल्नुपर्ने  वाध्यताः दीपेन्द्र के खनाल
‘पशुपति प्रसाद, धनपति’ जस्तो चलचित्र निर्देशन गरेर चर्चा कमाएका निर्देशक दीपेन्द्र के खनाल कलाकारको व्यवहारबाट निराशा जनाए । निराश हुँदै दीपेन्द्रले भने-‘अहिले त कलाकारलाई मैले कस्तो भूमिका गर्दैछु भन्ने पनि थाहा नहुने अवस्था छ । उनीहरुको समय अनुसार हतारहतार गरेर चलचित्र बनाउनुपर्ने अवस्था छ । यस्तो चापाचापमा काम गर्दा, कलाकारले कस्तो काम गर्ला र कस्तो चलचित्र दर्शकमाझ जाला, सोच्नुपर्ने अवस्था छ ।’

दीपेन्द्रले चलचित्र धेरै बन्नु, कलाकार व्यस्त हुनुका कारणले पनि यस्तो अवस्था आएको बताए । उनले अगाडि भने-‘अहिले त एउटा कलाकारले दिने समयसिमाभित्र रहेर काम गर्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा त कलाकारलाई अर्को चलचित्रको सेटबाट उठाएर ल्याउनुपर्छ । आजसम्म एउटा चलचित्रमा काम गरेको कलाकार भोली बिहानै अर्को चलचित्रमा काम गर्न पुगेका छन् । अब, तपाई नै भन्नुहोस् त्यो कलाकारले आफ्नो भूमिकाको बारेमा कसरी वुझ्छन् र काम गर्छन् होला ?’

एउटा कलाकारलाई बर्षभरी कमाउने पैसा म दिन्छु, मेरोमा मात्र काम गर भन्नुपर्ने अवस्था आएको दीपेन्द्रले गुनासो गरे । होइन भने, हिजोआज कलाकारको पछि दगुर्दै चलचित्रको छायांकन सेड्यूल बनाउनुपर्ने अवस्था रहेको उनले बताए ।

सबै पैसाको पछि दौडिए: मिलन चाम्स
पछिल्लो समय ब्याक टू ब्याक चलचित्र बनाइरहेका निर्देशक मिलन चाम्स पनि कलाकारको काम गर्ने शैलीमा असन्तुष्टी जनाउँछन् । धेरै चलचित्र बन्नु र कलाकारहरुले अफर आएका सबै चलचित्र गर्दा यो अवस्था आएको उनले बताए ।

उनले भने-‘चलचित्रको छायांकनको अवस्थामा त निर्माता कलाकारको पछिपछि दौडिएर समय मिलाउनुपर्ने अवस्था छ । प्रचारको समयमा त झन् कस्तो अवस्था होला, कल्पना गर्न पनि सकिदैन । कलाकारले म कहिले आउँ, कहाँ जाउँ भन्दिए पो प्रचारमा बोलाउन पनि मज्जा आउँछ । कलाकारको सेड्यूल अनुसार चलचित्रको प्रचारको सेड्यूल बनाउनुपर्छ । त्यसमा पनि मेरो अर्को सुटिङ छ, विदेशमा कार्यक्रम छ, म्यूजिक भिडियो सुटिङ छ भनेर तर्कन खोज्छन् ।’

कलाकारको यस्तो अवस्थाले कसैलाई फरक भूमिकामा राखौ, समय लिएर काम गरौ भन्ने त अवस्था नै नभएको चाम्सको भनाई छ ।
नेपाली चलचित्रका कलाकारहरुको अहिले पारिश्रमिक निकै बढेको छ । महंगो पारिश्रमिक लिइसकेपछि त्यो चलचित्रलाई पुरा समय दिनु र कथा अनुसार आफूलाई ढाल्नु उनीहरुको दायित्व हो । तर, विचरा निर्मातालाई हिजोआज चलचित्र चल्छ या चल्दैन भन्दा पनि कलाकारले समय दिन्छन् या दिदैनन् भन्ने पिडाले बढी सताउँछ । यो कलाकारको निर्मातामाथिको मनपरितन्त्र नभएर अरु के हो ?

दर्शकले सधै एउटै भूमिकामा हेरिरहँदा वाक्क हुन्छन् । फरक भूमिकामा काम गर्न भन्दा पनि एउटा चलचित्रको छायांकन सकेर अर्कोमा जान हतार गर्ने कलाकार बढेका छन् । जसले गर्दा, न त चलचित्र बनाउनेले नै नयाँ कथा खोज्न पाएका छन् न त दर्शकले पनि गज्जबको काम गरेछ भनेर तारिफ गर्न पाएका छन् ।

बलिउड चलचित्रलाई साउथको चलचित्र ‘बाहुबली र बाहुवली २’को कथा र मेकिङले ठूलो धक्का दिएको हो । आँखा चिम्लिएर साउथका रिमेक चलचित्र बनाइरहेका मेकरलाई फरक र कथावस्तु राम्रो भएको चलचित्र नबनाएको खण्डमा अब चलिदैन भन्ने अवस्था सिर्जना भएकै हो । ‘सञ्जु’ हेरेका दर्शकले यस्तो प्रयोग कुन नेपाली कलाकारले गर्ला भनेर खोजिरहेका छन् ।

‘गजनी’ हेरेका दर्शकले आमिर खानले ‘थ्रि इडियट्स, पिके, दंगल’मा आफूलाई गरेको परिवर्तनमा नेपाली कलाकार खोजिरहेका छन् । तर, सधै एउटै भूमिकामा काम गरिरहने र धेरै चलचित्र गर्न पाउँदा दंग हुने नेपाली कलाकारले अब समयलाई चिन्न सकेनन् भने जसरी उदाएका थिए, त्यसरी नै अस्ताउने नै छन् ।

चलचित्र ‘सञ्जु’मा देखाइएको एउटा दृश्य जस्तै, नेपालमा पनि ‘सनराइज’को दृश्य ‘सनसेट’मा खिच्दा हुदैन भन्ने कलाकारको संख्या अहिले प्रशस्त छ । तर, ‘सनराइज’को दृश्य ‘सनसेट’मा खिच्ने कलाकारको करिअर पनि बिहान उदाएको घाम बेलुकी अस्ताजस्तै अस्ताउन बेर लाग्दैन ।

क्रमशः

हिरोलाई ५० लाख, अनि कथालाई ?

अनमोलदेखि साम्राज्ञीसम्मः कसको स्टार पावर कति ?

पेलाईमा निर्माता, ‘मुर्गा’ संस्कृति कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment