Comments Add Comment

अनमोलदेखि साम्राज्ञीसम्मः कसको स्टार पावर कति ?

निर्माता ज्यू, २ करोड लगानी कसरी उठाउनुहुन्छ ?

केही हप्ताअगाडि मात्र रिलिज भएको एक चलचित्रका निर्माता आफ्नो चलचित्रले नाफा कमाउनेमा ढुक्क थिए । आफ्नो चलचित्र चलाउने स्टाइल नै फरक भएको र चलचित्र पनि बबाल बनेको भन्दै उनी दंग देखिए । तर, चलचित्र चलेको दिन नै धेरै हलबाट उत्रियो । सायद, उनको हातमा ३ लाख पनि परेन ।

हिजो मात्र एउटा खबर आयो कि, चलचित्र ‘रानी महल’को छायांकन स्थगित भयो । यो चलचित्रको २० प्रतिशत छायांकन नसकिदै निर्माताको २ करोड रुपैयाँ सकियो । चलचित्र रिलिज गर्दा ३ करोड भन्दा बढी लाग्ने कुरामा दुईमत छैन । पूर्व मिस नेपाल निकिता चण्डकलाई नायिका राखेर ३ करोड रुपैयाँ हाल्ने निर्माताले कसरी लगानी उठाउँछन्, त्यो मुख्य कुरा हो ।

केही महिनापछि रिलिज हुन लागेको एक चलचित्रका लागि वितरकले १५ लाख रुपैयाँ पनि दिन मानेनन् । जबकि यो चलचित्रको लगानी डेढ करोडभन्दा माथि छ । अब, ती निर्माताले औसत कलाकारको अनुहार देखाएर डेढ करोड रुपैयाँ कहाँबाट उठाउलान् ?

यी त नेपाली चलचित्रमा भैरहेको अन्धाधुन्ध लगानीका केही उदाहरण मात्र हुन् । आँखा चिम्लिएर लगानी गर्ने तर त्यो लगानी कसरी फिर्ता हुन्छ भन्ने नवुझ्दा निर्माताले टाउको समाएर बस्नु बाहेक अरु विकल्प नै रहँदैन ।

जसले जतिसुकै ठूला गफ दिए पनि बर्षमा रिलिज हुने ८० बढी चलचित्रमा ६ वटा जतिले मात्र लगानी उठाएका छन् । हरेक बर्ष ‘छक्का पन्जा’ र ‘सत्रु गते’ जस्ता सफल चलचित्र भेटिदैनन् । तर, निर्माता यीनै चलचित्रका व्यापार हेरेर मनलाग्दी लगानी गरिरहेका छन् ।

कुन स्टारको सामाथ्र्य कति ?
अहिले चलचित्र चलोस् या नचलोस्, कलाकारहरुले पारिश्रमिक जति पनि मागिरहेका छन् । आफ्नो अनुहारले चलचित्र चल्छ या चल्दैन भन्दा पनि बजारमा हुने हल्लाखल्लाको भरमा कलाकारले पारिश्रमिक बढाइरहेको पाइन्छ । कुरा गरौं केही चलेका कलाकारको:

अनमोल केसीः नायक अनमोल केसी अहिले सबैभन्दा बढी पारिश्रमिक लिने नायकको रुपमा पर्छन् । अनमोल केसीलाई अहिले ५० लाखसम्म पारिश्रमिक दिन निर्माता तयार छन् । तर, एकपटक उनका चलचित्रले गरेको व्यापारलाई हेरौ ।

अनमोल अभिनित चलचित्र ‘ड्रिम्स’ र ‘कृ’ ले सबैभन्दा बढी व्यापार गरेका छन् । यी दुई चलचित्रको लाइफ टाइम व्यापार ६ देखि ७ करोड छ । यसको अर्थ अनमोलले ६ करोडसम्म उठाउने सामथ्र्य राख्छन् । ६ करोड व्यापार हुँदा निर्माताको हातमा साढे २ करोडसम्म पर्छ ।

अनमोलको नाममा डिजिटल राइट्स ५० देखि ८० लाखसम्म विक्छ । उनकै नाममा प्रयास गरेको खण्डमा निर्माताले २० लाखसम्मको ब्रान्ड भित्राउन सक्छन् । यसरी हेर्दा, अनमोलमाथि डेढ र बढीमा २ करोड लगानी गरेको खण्डमा निर्माता सुरक्षित हुने देखिन्छ ।

प्रदिप खड्काः
नायक प्रदिप खड्काले अभिनय गरेका चलचित्रको व्यापार हेर्ने हो भने उनको सामथ्र्य ३ देखि ४ करोडसम्म उठाउने देखिएको छ । उनको पछिल्लो फिल्म ‘लिलिबिली’ले देशभरीबाट साढे ३ करोडको हाराहारीमा मात्रै उठाएको थियो ।

प्रदिपको नाममा डिजिटल राइट्स र केही ब्रान्डलाई जोड्ने हो भने ५० देखि ६० लाखसम्म निर्माताले कमाउन सक्छन् । प्रदिपले २५ लाखसम्म पारिश्रमिक लिइसकेका छन् । प्रदिपमाथि एक करोडदेखि १ करोड २० लाखसम्म लगानी गर्दा निर्माता सुरक्षित हुने देखिन्छ ।

पल शाहः
पल शाहकै नाममा चलचित्रले व्यापार गर्ने क्षमता २ देखि ३ करोड देखिन्छ । ‘जोनी जेन्टलम्यान’ असफल हुनु तथा ‘सुत्र गते’ र ‘म यस्तो गीत गाउँछु’ सफल भए पनि उनले जस नपाउनुले पलमाथि ठूलो लगानी गर्ने वातावरण बनिसकेको छैन ।

पलले १८ देखि २० लाखसम्म पारिश्रमिक माग्ने गरेका छन् । निर्माताले उनलाई लिएर ८० देखि १ करोड आसपासमा चलचित्र बनाउने हो भने सुरक्षित हुने बाटो तय गर्न सक्छन् । तर, यसका लागि चलचित्रको गीत, प्रचार शैलीले पनि ठूलो फरक पार्दछ ।

साम्राज्ञी राज्यलक्ष्मी शाहः
साम्राज्ञीको चलचित्रको रिलिज आँकडा हेर्ने हो भने डेढ करोडदेखि ५ करोडसम्म उनका चलचित्रले उठाएका छन् । साम्राज्ञीकै नाममा चल्नुपर्ने चलचित्र ‘तिमी सँग’ ले १ करोड माथिको मात्र ग्रस व्यापार गरेको हो । ‘ए मेरो हजुर’ को ५ करोड ग्रस कलेक्सन साम्राज्ञीको स्टारडममा मात्र निर्भर छैन ।

साम्राज्ञीलाई अहिले निर्माताले १० लाखसम्म पारिश्रमिक दिने गरेका छन् । उनलाई लिएर पनि ८० देखि १ करोडसम्मको चलचित्र बनाउँदा निर्माता धेरै हदसम्म सुरक्षित हुने देखिन्छ ।

यी बाहेक अन्य केही कलाकार छन्, जसमाथि सामान्य लगानी गरेर राम्रो प्रचार गरेको खण्डमा निर्माता सुरक्षित हुन सक्छन् ।
दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारमाथि ठूलो लगानी गर्ने अवस्था अहिले छैन । नेपालमा वर्ड अफ माउथले चलेका चलचित्र कम छन् । वर्ड अफ माउथकै कारण चलेको ‘पशुपति प्रसाद’ले पनि साढे २ करोडको हारहारीमा ग्रस कलेक्शन गरेको थियो ।

गफले मात्र चलचित्र चल्दैन
केही दिन अगाडि काठमाडौंको पाँच तारे होटलमा एउटा चलचित्रको घोषणा गरियो । कलाकार सामान्य नाम चलेका छन् । तर, निर्माता उनीहरुमाथि २ करोडभन्दा बढी लगानी गर्ने तयारीमा छन् ।

गोजीमा ८-१० करोड छ भन्दैमा निर्माताले आँखा चिम्लिएर लगानी गर्ने अनि १० लाख रुपैयाँ पनि हातमा नआएपछि चलचित्र क्षेत्रलाई नै सराप्दै हिड्ने बानीले समस्या पारेको छ ।

ठूला गफले मात्र चलचित्र चल्दैन । कस्तो कथामा, कुन कलाकार राखेर कति लगानी गर्दा सुरक्षित हुन सकिन्छ भन्ने बुझ्न आवश्यक छ । हुन त, चलचित्रको व्यापार जुवा नै हो । जुवा खेल्न आउँदा जतिबेला पनि त्रिपल एक्का नै पर्छ भन्ने हुँदैन । तर, जुवा खेल्न नै नजान्नेले आँखा चिम्लिएर ब्लाइन्डमा बोलिदिदा अन्त्यमा मुर्छित बनेका छन् ।

‘घाटी हेरेर हड्डी निल्नु’ भन्ने नेपाली उखान चलचित्र बजारमा पनि लागू हुन्छ । चलचित्रको बजार, दर्शकको संख्या नहेरी हावाको भरमा चलचित्र लगानी गरेर पछि पछुताउनुको कुनै अर्थ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment