Comments Add Comment

पेलाईमा निर्माता, ‘मुर्गा’ संस्कृति कहिलेसम्म ?


नायक आर्यन सिग्देलको करिअर सुरुवात हुँदै गर्दा निर्माण भएको चलचित्र ‘के यो माया हो’ पोखराका ३ व्यवसायीले निर्माण गरेका थिए । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रको बजेट त्यो समयमा नै १ करोड नाघेको थियो ।

त्यतिबेला चलचित्रका कलाकार नीर शाहले भनेका थिए-‘यो फिल्मको सेटमा सबै कुरा हुन्छ, मात्र सुटिङ हुँदैन ।’उनले पोखराको अन्डा, खसी सबै सकिएको भन्दै यति विलासी शैलीमा कुनै चलचित्रको सुटिङ नभएको बताएका थिए ।

यसरी निर्माण भएको चलचित्र रिलिजपछि निर्माता हराए । पब्लिसिटीमा मात्र १५ लाख भन्दा बढी खर्च गरेका निर्माताले त्यसपछि अर्को चलचित्र बनाउन सकेनन् । किनकी, अत्यधिक खर्चका कारण चलचित्रले लगानी सुरक्षित गर्न सकेन ।

चलचित्र ‘ब्याच नम्बर १६’को मेकिङ पनि उस्तै थियो । यसका निर्माताले लगानीमा कुनै कसर बाँकी राखेनन् । तर, चाहिनेभन्दा बढी खर्च भैदिदा चलचित्रले लगानी उठाएन । निर्माताले त्यसपछि चलचित्र बनाउने हिम्मत गरेनन् । एउटा राम्रो निर्माता चलचित्र क्षेत्रले गुमायो ।

चलचित्र ‘कृ’का निर्माता सुवास गिरीले ३ चरणमा चलचित्र सुटिङ गर्दा ४ करोड रुपैयाँ सके । सुवास गिरीले यो एउटा गीतको सुटिङका लागि अनावश्यकरुपमा स्कटल्याण्ड गएर ३० लाग सिध्याए । चलचित्र हेर्दा ४ करोड लाग्ने जस्तो देखिएन । २ करोडमै चलचित्र सकिदिएको भए संभवत निर्माताले लगानी सुरक्षित गरेर केही पैसा कमाउने पनि थिए ।

हाल चलचित्र ‘रानी महल’को छायांकनमा पनि यस्तै विवाद भएको छ । २० प्रतिशत पनि छायांकन नसकिदा निर्माताले २ करोड खर्च भैसकेको दाबी गरेका छन् । अब ७० प्रतिशत छायांकन सकेर, पोष्ट प्रोडक्शनको काम, पब्लिसिटी गरेर चलचित्र रिलिज गरिसक्दा निर्माताको हालत के होला ?

चलचित्र ‘विराङ्गना’को निर्माणपक्षले पैसा सकिएपछि ७० प्रतिशत मात्र छायांकन सकेर चलचित्र रिलिज गर्न लागेको यसको नायक अनुप विक्रम शाहीले बताइसकेका छन् ।

माथि उल्लेख गरिएका यी उदाहरणहरु मात्र हुन् । चलचित्र क्षेत्रमा यस्ता वेथिती त कत्ती छन् कत्ती । दीपकराज गिरी, छविराज ओझा लगायतका केही सिमित निर्माताले पैसा कमाएको देखाएर चलचित्र नै नवुझेका मान्छेलाई ‘मुर्गा’ बनाउने प्रचलन चलचित्र क्षेत्रमा भाइरस जसरी फैलिएको छ ।

चलचित्रमा लगानी गर्ने ९० प्रतिशत निर्माता नयाँ छन् । जसले चलचित्रको ‘च’ पनि राम्रोसँग वुझेका छैनन् । एउटा चलचित्रमा नै उसको ढाड फुस्काइदिने शैली हाबी हुँदा उसले त्यसपछि लगानी गर्न सकेको छैन ।

हो, चलचित्र नवुझी आउने निर्माताको कारण पनि यस्तो अवस्था आएको हो । कुन कलाकार राख्दा, कति लगानी गर्दा सुरक्षित हुन सकिन्छ भन्ने नवुझिकन चलचित्रमा आँखा चिम्लेर लगानी गर्ने अनि रिलिजपछि भागाभाग हुने अवस्थाले आक्रान्त छ चलचित्र क्षेत्र ।

वास्तवमा चलचित्रको मुख्य हिरो निर्माता हो । चलचित्र बनाउने भनेर नामाकरण गर्नदेखि रिलिज गर्दासम्म जोखिम मोल्ने निर्माताले मात्र हो । निर्देशक, कलाकारको करिअर केही समयका लागि अलमलमा पर्ला, तर निर्माताको करोडौ रकम बालुवामा पानीसरह हुन्छ ।

यसैले, निर्मातालाई ‘मुर्गा’ सोच्ने प्रवृत्ति अन्त्य हुनु आवश्यक छ । चलचित्रमा काम गर्ने कलाकार, निर्देशक, प्राविधिक सबैले निर्मातालाई मुर्गा सोच्ने हो भने हरेक बर्ष ७० जनाभन्दा बढीले आफ्नो करोडौ रकम डुबाउेनछन् र चलचित्र क्षेत्रलाई सराप्दै पलायन हुनेछन् ।

चराले कनिका खोजे जसरी निर्माता खोज्ने अनि उसलाई सकुन्जेल सोस्ने नियतबाट मुक्त हुन आवश्यक छ । निर्माता ‘मुर्गा’ होइनन्, ‘हिरो’ हुन् । जरा नै काटेर रुख हर्लक्क बढ्छ भन्ने कुराको कल्पना पनि गर्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment