Comments Add Comment

शिक्षामन्त्रीको प्रस्ताव : चिकित्सा शिक्षा विधेयकबारे संसदमा सहमति खोजौं

तस्वीर : रासस

२५ असार, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकबारे संसदमा नयाँ सहमति खोज्ने प्रस्ताव राखेका छन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले सत्तारुढ र विपक्षी दुबैले भनेअनुसार अघि बढ्न नसकिने बताए ।

अध्यादेशको हुबहु आउनुपर्ने कांग्रेसको माग र विधेयकलाई हुबहु अघि बढाउनुपर्ने सत्तारुढ सांसदहरुको माग पूरा गर्न नसकिन उनले बताए । मन्त्री पोखरेलले भने, ‘सार्थक संवादबाट नयाँ सहमति खोजौं, संसदले यसमा भूमिका खेलोस् ।’

डा. केसीले पनि संसदको सार्वभौम अधिकारको सम्मान गर्नुपर्ने भन्दै उनले भने, ‘डाक्टरसा’बले भनेको मात्र गर्ने हो भने सार्वभौम संसदको औचित्यमाथि प्रश्न उठ्छ ।’

अनशन बस्ने नभई कार्यान्वयन गर्ने निकायहरुमा डा. केसी सहभागी हुनु पर्ने उनले बताए ।

मन्त्रीले सम्झिए त्यो सहमति

शिक्षामन्त्री पोखरेलले डा. केसीको स्वभाव र कार्यशैलीका कारण धेरै पटक अप्ठ्यारो भोग्नुपरेको सुनाए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं वार्ता गर्न भनेर बसेको तर, डा. केसीले प्रतिनिधि पठाएको तीतो अनुभव सुनाउँदै मन्त्री पोखरेलले भने, ‘यो पद्धति ठीक छ ?

उनले चिकित्सा शिक्षा अध्यादेश आउनुअघि विधेयक ल्याउने क्रममा भएको सहमति प्रयास सुनाए । नेकपा नेता नारायणकाजी श्रेष्ठको पहलमा कांग्रेस सांसद गगन थापा र डा. केसीका प्रतिनिधिसमेत बसेर सहमति गरेको तर, डा. केसीले नमानेका कारण त्यसबेला विधेयक आउन नसकेको उनले सुनाए ।

तत्कालीन माओवादी केन्द्रसमेत सहभागी भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएको तर, त्यसमा सबैको सहमति नभएको उनले बताए ।

मन्त्री पोखरेलले अब प्रतिपक्षसँग पनि सहमति गरेर चिकित्सा शिक्षा विधेयकमाथि छलफल गराउन सभामुखलाई आग्रह गरे ।

सत्याग्रहीले पनि कहिलेकाहीँ पछि हट्न सक्नुपर्ने भन्दै उनले सहमतिकै आधारमा अघि बढ्न आग्रह गरे । ‘यही कुराका लागि अनशन बस्ने भन्दा अरु बाटो अपनाउँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment