Comments Add Comment

नर्सको बाहिरी ग्ल्यामर र अन्तर्व्यथा

‘तिमी के बन्ने ?’

धेरै युवतीलाई सोध्दा यो प्रश्नको जवाफ आउँछ, ‘नर्स ।’

अहिले नर्स बन्ने यस्तो लहड चलेको छ, मानौं यो सर्वाधिक आकर्षक क्षेत्र हो । कुनैबेला भनिन्थ्यो, ‘छोरो बिगि्रए कमर्स, छोरी बिगि्रए नर्स ।’ जबकी अहिले छोरीलाई नर्स बनाउन लालयित आमाबुबाको जमात ठूलो छ ।

जतिबेला फ्लोरेन्स नाइटिङ्गेल अस्पतालको शैयामा घाइते रोगीको सेवामा खटिइरहेकी थिइन्, त्यसबेला यो पेशलाई ‘निम्न स्तरको’ ठानिन्थ्यो । तर, उनकै संघर्ष र सफलता यस्तो कोशेढुंगा सावित भइदियो, जसले रोगीको सेवा गर्न रातदिन खटिने नर्सहरु समाजकै लोभलाग्दो पेशा बन्यो ।

आज बुहारी होस् वा गर्लफ्रेन्ड, नर्स नै खोज्नेहरु कम छैनन् । यो पेशाको छुटै ग्ल्यामर छ ।

नर्सिङ एक जोखिम र चुनौतीले घेरिएको पेशा पनि हो । कुनैपनि रोगी वा रोगको सोझो सम्पर्कमा रहनुपर्ने । रातदिन खटिनुपर्ने । अरुको पीडादायि क्षणहरुको साक्षी बस्नुपर्ने । यो पेशा आवरणमा जति ग्ल्यामर छ, भित्री कथा उत्तिनै मार्मिक पनि छ ।

नर्स एक सेवक

समान्यतयाः हामीले स्वास्थ्य सेवाको कुरा गर्दा क्युरेटिभ् अर्थात रोगले सताएका व्यक्तिहरुलाई गरेको उपचारलाई मात्र सम्झने गर्छौ । यो स्वास्थ्य सेवाको एउटा प्रमुख अङ्ग मात्र हो । सोहि उपचार पद्धतीमा अस्पतालमा भर्ना भएका विमारीहरुलाई औषधि खुवाउने, सुई दिने तथा बेला-बेलामा रक्तचाप अर्थात प्रेसर नाप्ने सेतो लुगामा सजिएका महिलाहरुलाई नर्स भन्ने गर्छौ ।

समान्य अवस्थामा नर्सको काम  यत्ति नै हो भन्ने बुझ्ने गर्छौ । नर्सको काम, कर्तब्य र अधिकार अस्पतालभित्र पनि उनको योग्यता र पदले निर्धारण गरेको हुन्छ । नर्सिङ्ग अध्ययन्मा बिभिन्न तह हुन्छन् । अ.न.मी., स्टाफ नर्स (पि सि एल नर्सिङ्ग), बि एन र एम एन गरी सामान्य तालिम देखि माष्टर डिग्री सम्मको अध्ययन अन्य संकायमा जस्तै यसमा पनि रहेको छ । त्यसैगरी नर्सको पद सिस्टर देखि मेट्रोन सम्म वा पाचौं तहदेखि एघारौ तह सम्म रहने गरेको छ ।

क्युरेटिभ् स्वास्थ्य सेवाको कुरा गर्ने हो भने गम्भिर र चिन्ताजनक बिमारीहरुलाई अस्पतालमा भर्ना गर्नु पर्ने हुन्छ । उनीहरुलाई नियमित परिक्षण गर्नु पर्ने, सही मात्रा र समयमा औषधि दिनु पर्ने तथा पोषण र पानीको पनि मात्राको परिक्षण गर्नु पर्ने हुन्छ । कतिपय यस्ता बिमारीहरुको मानसिक सन्तुलन गुमेको, शारिरीक रुपले असक्त, दुर्गन्धित, आफ्नो मानिस नभएको तथा अत्यान्त पिडामा रहेको हुन्छन् ।

यस अवस्थामा उनको उपचारमा संलग्न चिकित्सले दिएको औषधि मात्र पर्‍याप्त हुदैन । कुनै पनि एक जना बिमारीसंग चिकित्सकले धेरै समय दिन नसक्ने हुन्छ । बिमारीलाई औषधिमुलोसंगै सम्पुर्ण स्यहार गर्ने, रोगका बारेमा बताउने, परामर्श दिने र बाच्नु पर्छ भन्ने भावनाको समेत श्रृजना गर्ने, प्रेरणा दिने र चौबिसै घण्टा प्रत्यक्ष निगरानीको जिम्मेवारी बहन गर्ने नर्सहरु नै हो भन्दा फरक नहोला । वार्डको सम्पुर्ण वातावरणको ब्यवस्थापन गर्ने जिम्मेवारी पनि नर्सको नै रहेको हुन्छ ।

नर्सः एक सहयोगी

कुनै पनि बिमारीको उपचार गर्नु एउटा सामुहिक कार्य हो । यसमा चिकित्सक, नर्स, पारामेडिक्स्, सहयोगीहरुको आ-आफ्नै भूमिका रहेको हुन्छ । बिमारीलाई आवस्यक सल्लाह, सुझाव दिने, सहि समयमा उचित मात्रामा औष्धि दिने मात्र नभई आवस्यक परेको अवस्था तुरुन्त सम्बन्धित चिकित्सकलाई जानकारी गराउने दायित्व पनि नर्सको रहेको हुन्छ । नर्सले बिमारी र चिकित्सक दुवैलाई पेशागत सहयोगीको रुपमा खटिएका हुन्छन् ।

जुनसुकै शल्यक्रियामा सहयोग गर्नु, प्रसव गराउनु, बच्चालाई दुध खुवाउन मद्दत गर्नु जस्ता अनगिन्ति कामहरु जिम्मेवारीका साथ बहन गर्नु पर्ने हुन्छ । कुशल नर्स आफैमा एक चिकित्सक, प्रशाषक, बिमारी, बिमारीका आफ्न्त र शिक्षिकाका रुपमा देखिने हुन्छन् ।

नर्सः एक सचेतक

क्युरेटिभ् स्वास्थ्य सेवा बाहेक प्रमोटिभ र पि्रभेन्टिभ स्वास्थ्य सेवामा पनि नर्सको भूमिका रहने गरेको पाईन्छ । नेपालमा प्रमोटिभ तथा पि्रभेन्टिभ स्वास्थ्यका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु चलाउने गरेको हुन्छन् ।

यी कार्यक्रम मार्फत स्वास्थ्य शिक्षा दिने, पोषणयुक्त खाना तयार गर्न तथा खान प्रेरित गर्ने, खोपका कार्यक्रमहरु चलाउने, परिवार नियोजन सेवा सम्बन्धि कार्यक्रमहरु गाउघरमा लैजाने, महिला स्वास्थ्य र गर्भपतन सम्बन्धि जानकारी र शिक्षा दिने प्रमुख स्वास्थ्यकर्मीका रुपमा स्थापित हुदै गएका छन् नेपालका नर्सहरु ।

स्वास्थ्यका लागि नेतृत्वको विकाश गर्ने, कुलतबाट बच्न तथा छुटाउन उचित परार्मश सेवा दिने जस्ता चुनौतिपुर्ण काममा पनि नर्सका पाईलाहरु पछि परेका छैनन् ।

नर्सः एक उत्प्रेरक

नेपालमा रिहृाविटेसन्का लागि धेरै केन्द्रहरु स्थापित भएका छैनन् । लामो समय बिमारी परे पछि, कुलत वा दुव्र्यशनमा फसे पछि तथा केहि दिर्धरोगहरुले मानिसलाई शारिरीक, मानसिक वा समाजिक रुपमा बिस्थापित गरिदिने हुन्छन् । यस्ता अवस्थाहरुमा पुर्णरुपमा शारिरीक, मानसिक तथा समाजिक रुपमा सबल बन्न सजिलो बनाउनमा पनि नर्सको भूमिका प्रमुख रहने हुन्छन् ।

शारिरीक रुपमा असक्त भएकाहरु जस्तै हाथ, खुट्टा नराम्ररी भाचिएका, पारालासिस् भएका, मुटुका रोगीहरु आदिलाई लामो समय सम्म सहयोगी भएर उपचार गर्नु पर्ने हुन्छ । त्यस्तै लागुऔषधिका दुब्र्यसनीमा फसेकाहरुसंगै बसेर काम गर्नु पनि चुनौतिपुर्ण हुन्छ ।

त्यस वातावरणमा रहेर त्यस्ता व्यक्तिहरुलाई जीवनप्रति मोह देखाएर बाच्न चाहने ईच्छा जगाएर यस्ता भूमरीबाट निकाल्न सक्ने काम कुशल नर्सले मात्र गर्न सक्छ भन्दा फरक नपर्ला । दिर्धरोगले सताएका बृद्धहरुमा पनि एक किसिमको डिप्रेसनले जरा गाडेको हुन्छ । उनीहरुमा पनि मर्न पाए हुन्थ्यो भन्ने ईच्छा जाग्न थालेको हुन्छ । त्यस अवस्थामा पुगेका युवा, बृद्ध जो सुकैलाई पनि उचित परामर्श दिएर पुनः बाच्न खोज्ने चाहना जगाउने मानवीय कार्य कुशल नर्सहरुले गर्ने गरेका प्रसस्तै उदाहरणहरु हाम्रो समाजमा पाईन्छ ।

नेपालमा नर्सिङ र नर्स

नेपालमा मात्र होईन संसारका हरेक मुलुकहरुमा नर्सको उति नै महत्व रहेको पाईन्छ । नेपालको ईतिहासमा राजपरिवारमा प्रसुति सेवाको लागि नर्सको तालिम वा शिक्षा भित्रियाएको देखिन्छ । तर आज नर्सिङ्ग शिक्षा, सेवा र भूमिका निकै ठुलो परिर्वतन आएको छ ।

नेपालमा नै नर्सिङ्ग शिक्षामा डिग्रीसम्मको अध्ययन सम्भव छ र नेपालमा अध्ययन गरेका नर्सहरु विश्वका अति बिकशित मुलुकहरुमा पनि सेवा दिईरहेका पाईन्छ । सन् २०१२ को मार्च सम्मको तथ्याङ्क अनुसार नेपालमा सैतिस हजार भन्दा बढि स्वदेशी तथा बिदेशी नर्सहरुले सेवा दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment