Comments Add Comment

वाम सरकारको ‘वार्मअप’ सकियो, अब ओलीले के गर्लान् ?

नेकपाका महासचिव भन्छन्- अब सरकारलाई कसैले 'डिस्टर्ब' गर्न सक्दैन

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको चार महिना पूरा भएको छ । यसवीचमा सरकार केही अल्मलिएको र गोलचक्करमा रुमलिएजस्तो देखिएता पनि अब ओली सरकारको ‘वार्मअप’ सकिएको छ । त्यसैले अब सरकारको कामले गति लिने सत्तापक्षका नेताहरुले विश्लेषण गरेका छन् ।

प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारमा केही समय खर्च गरे । त्यसपछि भारत भ्रमणमा समय खर्च भयो । त्यहाँबाट फर्किएपछि पार्टी एकताका लागि प्रधानमन्त्रीको समय खर्च भयो । पार्टी एकतालगत्तै चीन भ्रमणको कार्यक्रम तय भयो ।

चीनबाट फर्केपछि प्रधानमन्त्री ओलीले दुई चरणमा गरी शनिबारमात्रै सम्पूर्ण मन्त्रालयहरुको बि्रफिङ लिइसकेका छन् । यही अवधिमा सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । र, अब त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बेला भएको छ ।

तर, यही समयावधिमा दुईतिहाई बहुमत प्राप्त सरकार केही विवादमा समेत फसेको छ । जस्तो- निशेधाज्ञा घोषणा, चिकित्साशास्त्र विधेयक, डा. गोविन्द केसीको अनसनलगायतका विषयहरुमा सरकारमाथि आलोचनाका स्वरहरु बढिरहेका छन् । ओली सरकार अधिनायकवादी बाटोमा लागेको आरोप जबर्जस्त ढंगले सतहमा आएको छ । ओली सरकारले सोचेजस्तो काम नगरेको जनगुनासो आउन थालेको छ ।

सिण्डिकेट तोड्ने प्रयास, काम नगर्ने ठेकेदारमाथिको कारवाहीको चेतावनी अनि सुन तस्करमाथिको कारवाही जस्ता विषयलाई लिएर यसअवधिमा सरकारको प्रशंसा पनि भएकै हो । तर, यी सबै विषयहरु अहिले ओझेलमा पर्न थालेका छन् । महंगी र कालोबजारी नियन्त्रणमा सरकार सफल नभएको स्वयं प्रधानमन्त्रीले स्वीकार गर्न थालेको अवस्था छ ।

अबको यो परिस्थितिलाई नेकपा नेतृत्वको सरकारले कसरी ग्रहण गर्ला ? सरकारको आगामी कदम कस्तो होला ? यसबारेमा राजनीतिक चासो बढेको छ ।

दुई दिन लगाएर सबै मन्त्रालयको बि्रफिङ सुनेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मन्त्रालयको बि्रफिङ सुनिसकेका प्रधानमन्त्रीले अबको बैठकमा कस्तो नयाँ कार्ययोजना ल्याउलान् ? त्यो सोमबार नै थाहा विषय हो ।

सबै मन्त्रालयको बि्रफिङ लिनुपूर्व प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठकसमेत बोलाएका थिए, जहाँ सरकारको काम प्रभावकारी नभएको भन्दै आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्री र मन्त्रीहरुको आलोचना गरेका थिए । सो बैठकमा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही र चनौतीहरुबारे पार्टी नेतालाई जानकारी गराएका थिए ।

अब प्रधानमन्त्रीले स्थायी कमिटी बैठकको स्पिरिटलाई कसरी सम्वोधन गर्लान्, त्यो पनि हेर्न बाँकी छ ।

अब सरकार अघि बढ्छ, कसैले डिस्टर्ब गर्न सक्दैनः पौडेल

ओलीको नेतृत्वमा सरकार बनेको चार महिने अवधिमा उत्पन्न यस्तो परिस्थितिबारे केपी ओली नेतृत्वको सरकार र नेकपाका नेताहरुले कसरी लिएका होलान् ? यो आम मानिसको चासोको विषय हो । यही चासोलाई आधार बनाएर हामीले नेकपाका महासचिव विष्णु पौडेललाई सोध्यौं- तपाईहरुको पार्टीले नेतृत्व गरेको सरकारले किन प्रभावकारी काम गर्न नसकेको ?

जवाफमा नेकपा महासचिव पौडेलले भने- ‘पहिलो कुरो त सरकार बनेको समयावधि नै कति भयो ? सरकार बनेकै केही महिनामात्रै भएको छ । दोस्रो कुरो, यसवीचमा गर्नुपर्ने केही कामहरु भएका पनि छन् । जस्तै- योजना निर्माणको काम भएको छ । बजेट निर्माणको काम भएको छ । नीति कार्यक्रम निर्माण भएको छ । अब त्यो कार्यान्वयनको चरणमा गतिका साथ लाग्ने काम हुन्छ ।’

सरकार गठन भएको सुरुको चार महिना कतिपय मन्त्रीहरुलाई मन्त्रालयको काम बुझ्न र अध्ययन गर्न समय लागेको महासचिव पौडेलले बताए । अनलाइनखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने- ‘सुरुको समय अलिकति अध्ययन र योजनाको समय पनि रह्यो । कतिपय साथीहरु प्रारम्भिक दिनमा मन्त्रालयका बारेमा जानकारी लिने र योजना निमार्श्ण गर्ने चरणमा पनि रहनुभयो । भारत भ्रमण र चीन भ्रमणजस्ता कार्यक्रममा पनि सरकार लाग्यो ।’

तर, यसवीचमा सरकारको चर्को आलोचना पनि त सुरु भएको छ नि ? अनलाइनखबरको प्रश्नको जवाफमा पौडेलले भने- ‘आलोचना त हुन सक्छ, आलोचनालाई हामी अन्यथा ठान्दैनौं ।’

तथापि विरोधका स्वरहरु बढ्दै जाँदा सरकारलाई डिस्टर्ब हुने र कर्मचारी प्रशासनले पनि असहयोग गर्ने स्थिति आउला कि भन्ने अर्को प्रश्नमा महासचिव पौडेलको जवाफ छ- ‘सरकारलाई डिस्टर्ब भइरहेको छ म भन्दिनँ । सरकारको काम, गति र परिणामलाई प्रभावित गर्ने गरी कसैले डिस्टर्ब गर्न सक्ने म अवस्था देख्दिनँ । अब सरकार गतिका साथ अगाडि बढ्छ ।’

चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक राखिसकेको र मन्त्रालयहरुको बि्रफिङ लिएर कामलाई प्रभावकारी ढंगले अघि बढाउन पहल लिएको पौडेलले बताए । ‘अब योजनावद्ध र प्रभावकारी ढंगले कामलाई अगाडि बढाउने तयारीमा प्रधानमन्त्रीजी हुनुहुन्छ,’ महासचिव पौडेलले भने, ‘सबै मन्त्री र मन्त्रालयका कामलाई प्रभावकारी ढंगले अगाडि लैजानका लागि प्रधानमन्त्री आफैंले पनि पहलकदमी लिइरहनुभएको छ, त्यसैको सन्दर्भमा उहाँले मन्त्रालयको ब्रिफिङ लिनुभएको हो ।’

नेकपाका महासचिव पौडेलले अनलाइनखबरसँग भने- ‘स्थायी कमिटीको बैठकलाई प्रधानमन्त्रीजीले सरकारका काम कारवाहीका बारेमा जानकारी दिनुभएको छ । मन्त्रालयका बारेमा लिनुपर्ने जानकारीहरु लिइसकियो । त्यसैले अब कामलाई गतिका साथ अघि बढाउने विषयमा केन्द्रित हुन खोजिएको छ । र, स्वाभावैले अब हामी अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment