Comments Add Comment

‘असारे विकास’: महिना दिनमै सकियो २ सय अर्ब

हेटौंडा–६ हात्तिलेटमा गरिएको गुणस्तरहीन पिच उप्काउँदै स्थानीय

३२ असार, काठमाडौं । वर्षभरी विभिन्न बहानामा अड्काउने र आर्थिक वर्ष सकिन लाग्दा बजेट सक्ने ‘असारे विकास’ले यस पनि निरन्तरता पाएको छ ।
यो वर्ष असारमा मात्र झण्डै २ खर्ब बजेट खर्च भएको छ ।

जबकी चालु आर्थिक वर्षमा आइतबारसम्म सरकारले १० खर्ब ५८ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असारको सुरुआतमा यो ८ खर्ब ६२ मात्रै थियो ।

सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । जसको ८६.३७ प्रतिशत खर्च भएको छ । तर, समग्र बजेटको झण्डै २० प्रतिशत असारमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विकास बजेटको ठूलो हिस्सा असारमै आएर सकिएको छ । असार ३१ गते -आइतबार)सम्म सरकारले विकास निर्माणमा २ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ खर्चेको छ । यस्तो खर्च असारको सुरुवातमा १ खर्ब ६२ अर्ब मात्रै थियो ।

तर, असारे भेलमा यसरी काम भयो कि सरकारलाई भुक्तानी गरेर फुर्सद नै भएन ।

कतिपय सडकहरु त पिच गर्दा-गर्दै मान्द्रो पल्टाएर जसरी उप्किए । ११ महिना काम नगरी हात बाँधेर बसेका ठेकेदारहरु यही बेला फिल्डमा फर्किए र विकासे अड्डाका हाकिमसँग मिलेमतो गरेर अर्बौं रकम निकासा गरेका छन् ।

चालु आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा आइतबारसम्म सरकारले ७७ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्ने देखिएको छ । जसमा झण्डै एकतिहाई बढी विकास खर्च असारमै भएको छ । यो वर्ष ३ खर्ब ३५ अर्ब विकास बजेट छुट्याइएको थियो ।

असारमा चालु खर्चको दर पनि स्वभाविक छैन । यो महिना मात्रै ७७ अर्ब रुपैयाँ खर्च भएको छ ।

असारको सुरुआतमा ६ खर्ब ७७ अर्ब खर्च भएको चालु बजेट आइतबारसम्म ६ खर्ब ९४ अर्ब पुगेको छ । यो चालु खर्चका लागि विनियोजित बजेटको ८७ प्रतिशत रकम हो ।
यो शीर्षकमा ८ खर्ब ३ अर्ब रुपैयाँ बजेट विनियोजन थियो ।

वित्तीय खर्च पनि असारमै २५ अर्ब रुपैयाँ बढी भएको छ । आइतबारसम्म वित्तीय खर्च १ खर्ब ९ अर्ब नाघेको छ । वित्तीय खर्च पनि ७७ प्रतिशत मात्रै भएको छ । यो वर्षका लागि १ खर्ब ४१ अर्ब वित्तीय बजेट विनियोजन भएको थियो ।

सरकारले आइतबार मात्रै झण्डै ३४ अर्ब बढी भुक्तानी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment