Comments Add Comment

कैलाली भन्सारमा ६२ करोडको निर्यात, आयात करिब ८ अर्बको


१ साउन, कैलाली । प्रदेश नम्बर सातको प्रमुख व्यापारीक नाका कैलाली भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । पछिल्लो तथ्यांकले कैलाली भन्सार कार्यालयबाट आयात बढ्दै गएको र निर्यात घट्दै गएको देखाएको हो ।

आर्थिक वर्ष २०७४/७५ को असार २९ गतेसम्म यस भन्सार नाकाबाट ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात भएको भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए ।

उप्रतीका अनुसार आयात भने सोही अवधिमा सात अर्ब ८८ करोड मूल्य बराबरको वस्तुहरु आयात भएको छ । जसका कारण कैललाी नाकामात्रै व्यापारघाटा करिब ७ अर्ब २६ करोडको व्यापारघाटा देखिएको छ ।

भारततर्फ क्वारेन्टाइन चेकपोष्ट नरहेकाले वस्तु निर्यातमा बढोत्तरी हुन नसकेको भन्सार अधिकृत उप्रती बताउछन् ।

भारतले गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट बनाउने तयारी भइरहेको भन्दै उक्त चेकपोष्ट तयार भए पश्चात निर्यातमा वृद्धि हुने उनले बताए ।

यस नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । कुल आयातको ४५ प्रतिशत पेट्रोलिम पदार्थले ओगटेको छ । असार २९ गतेसम्म डिजेल चार अर्ब ३० करोड, पेट्रोल ८१ करोड १६ लाख, ग्याँस ४४ करोड २७ लाख मूल्य बराबरको आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

यसैगरी, विस्कुटले ७ प्रतिशत, पेपरले ३ देखि ४ प्रतिशत, दालमोठ, पापड, नमकिन, भुजियाले २ देखि ३ प्रतिशत, स्प्रिटले १ देखि २ प्रतिशत कुल आयातको स्थान ओगटेको छ । त्यसैगरि चामलले कुल आयातको डेढ प्रतिशत ओगटेको छ ।

आर्थिक वर्ष २०७४/०७५ को असार २९ गतेसम्म ८२ करोड ५३ लाख मूल्य बराबरको १७ लाख ४ सय ५७ मेट्रिकटन चामल आयात भएको कैलाली भन्सारले जनाएको छ । सो कार्यालयले चामल आयातबाटमात्रै पाँच करोड ३१ लाख राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ को वैशाखसम्म ७४ करोड मूल्य बराबरको १२ हजार ७ सय २० मेट्रिकटन चामल आयात भएको थियो । आव २०७४/०७५ को वैशाखसम्म १२ हजार ६ सय ८० मेट्रिकटन चामल आयात भएको छ ।

कैलाली भन्सार नाका भएर काठमाडौंका लागि तयारी मनसुली र यहाँ सञ्चालित मिलका लागि चामल आयात हुने गरेको भन्सार अधिकृत उप्रेतीले जानकारी दिए ।

यसैगरी सूर्ती आयातबाट चार करोड ६९ लाख राजस्व सङ्कलन भएको छ भने १७ करोड १२ लाख रुपैया बराबरको ११ हजार ८ सय २४ मेट्रिकटन कोइला आयात भएको छ । कोइला आयातबाट तीन करोड ३२ लाख रुपैया राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

कैलाली भन्सार नाका भएर आयात बढ्दै गएकाले राजस्व सङ्कलनको लक्ष्य पनि बढ्दै गएको उप्रेतीले बताउछन् । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४० प्रतिशत बृद्धि गरेर यो भन्सार कार्यालयका लागि पाँच अर्ब ३७ करोड रुपैया राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सारले लक्ष्यको ८ प्रतिशत बढी चार अर्ब २० करोड रुपैया राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

कैलाली भन्सारले आर्थिक वर्ष २०७३/०७४ मा दुई अर्ब ७ करोड रुपैया लक्ष्य पाएकोमा लक्ष्यभन्दा बढी दुई अर्ब ९२ करोड रुपैया राजस्व सङ्कलन गरेको थियो ।

तरकारी, फलफूलबाट करिब ४६ लाख राजश्व संकलन

कैलाली भन्सार नाका भएर एक वर्षको अवधिमा भारतबाट खसार ८ गतेसम्ममात्रै ४५ करोड ९४ लाख रुपैयाँ बराबरको तरकारी र फलफूल आयात भएको छ ।

यद्यपि, अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा तरकारी र फलफूल आयात केहि घटेको भन्सार अधिकृत उप्रेतीले जानकारी दिए । उनका अनुसार भारतबाट आलु, प्याज, टमाटर, हरियो साग लगायत आयात हुँदै आएको छ ।

यसैगरी, फलफूलमा स्याउ, सुन्तला, आँप, अङ्गुर भारतबाट आयात हुँदै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १३ करोड ८ लाख रुपैया बराबरको दुई हजार ४ सय १२ मेट्रिकटन फलफूल आयात भएको छ । जसबाट ६५ लाख रुपैया राजस्व संकलन भएको भन्सारले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा १३ करोड ५६ लाख मूल्य बराबरको तीन हजार २ सय ७४ मेट्रिकटन फलफूल आयात भएको थियो । अघिल्लो वर्षमा फलफूल आयातबाट ७१ लाख ४८ हजार रुपैया राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment