Comments Add Comment

पाकिस्तान आम निर्वाचनको बारेमा थाहा पाउनुपर्ने ५ तथ्य

पाकिस्तानमा आउँदो २५ जुलाईमा आम निर्वाचन हुँदैछ । पञ्जाब, सिन्ध, खाइबर पक्तुनख्वा र बलुचिस्तान गरी पाकिस्तानको चारवटै प्रान्तका प्रान्तीय सभा र पाकिस्तानको राष्ट्रिय सभाको लागि हुने निर्वाचनमा १० करोड पाँच लाख मतदाताले मतदान गर्नेछन् ।

निर्वाचनमा ८४९ सिटको लागि ११ हजार ८ सय ५५ उम्मेदवारले भाग लिएका छन् । पाकिस्तान मुस्लिम लिग, पाकिस्तान पिपुल्स पार्टी र पाकिस्तान तेहरिक-ए-इन्साफ बीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

पाकिस्तानको राष्ट्रिय सभाको ३४२ सिटमध्ये २७२ सिटमा प्रत्यक्ष निर्वाचन हुनेछ भने ६० सिट महिलाको लागि र १० सिट धार्मिक अल्पसङ्ख्यकको लागि आरक्षण गरिएको छ ।

यसपटकको निर्वाचनमा धेरै यस्ता कुराहरु भइरहेका छन् जुन पाकिस्तानमा यस अगाडि कहिल्यै भएका थिएनन् । पाकिस्तान निर्वाचनको बारेमा थाहा पाइराख्नुपर्ने तथ्यहरु

१. पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन् । पाकिस्तानमा सैन्य विद्रोहको इतिहास रहेको छ । यहाँ पहिलो आम निर्वाचन सन् १९७० मा भएको थियो ।

यसपटकको चुनाव पाकिस्तानको इतिहासमा यस्तो दोस्रो मौका हुनेछ जब एक निर्वाचित सरकारले कुनै असैन्य सरकारलाई सत्ता सुम्पिनेछ ।

२. यसपटकको आम निर्वाचनमा तीनपटक प्रधानमन्त्रीको कुर्सी सम्हालिसकेका नेता नवाज सरिफले चुनाव लड्न पाउँदैनन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिगले सन् २०१३ को निर्वाचनमा धेरै मतसहित जितेको थियो ।

तर, अघिल्लो वर्षमात्रै अदालतले भ्रष्टाचार मुद्दामा दोषी देखाउँदै सरिफलाई प्रधानमन्त्री पदको लागि अयोग्य भएको ठहर गरेको थियो । अदालतले उनलाई १० वर्षको कैदको सजाय सुनाएको छ ।

तीन दिन अघिमात्रै बेलायतबाट स्वदेश र्फकने क्रममा पाकिस्तानी सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको छ । सरिफले यी आरोपहरुलाई अस्वीकार गर्दै अप्रत्यक्ष रुपमा यसको लागि सेना जिम्मेवार भएको बताउँदै आएका छन् ।

३. पाकिस्तानको यसपटकको आम निर्वाचनमा धेरै सङ्ख्यामा अति दक्षिणपन्थी र अतिवादी उम्मेदवारहरु चुनाव लडिरहेका यसलाई धेरै महत्वपूर्ण मानिएको छ ।

पाकिस्तानी मिडियामा उग्र समूहहरुलाई मूलधारको राजनीतिमा आउने मौका दिइएको भन्दै चिन्ता व्यक्त गरिएको छ । यो निर्वाचनमा ईश्वर निन्दा धेरै ठूलो मुद्दा भएको छ जसको लागि पाकिस्तानमा मृत्यदण्डको सजाय दिने प्रावधान छ ।

४. यस निर्वाचन यस अर्थमा पनि विशेष छ किनभने यसपटक पहिलेको तुलनामा धेरै महिलाले चुनाव लडिरहेका छन् । संसदको प्रत्यक्ष निर्वाचन हुने २७२ सिटमा देशभरीबाट १७१ महिला उम्मेदवार मैदानमा आएका छन् । यसमा अलि बेगमको नाम पनि रहेको छ जो पुरुष प्रधान कबायली इलाकाबाट चुनाव लड्दै गरेकी छन् ।

यस्तै पाकिस्तान निर्वाचन आयोगको एक नियमका अनुसार कुनै पनि चुनावी क्षेत्रमा १० प्रतिशत भन्दा कम महिलाले मतदान गरेमा निर्वाचन प्रक्रिया नै रद्द गरिनेछ ।

५. यसपटकको निर्वाचनमा तेस्रो लिंगीहरुलाई पनि राजनीतिमा प्रवेश गर्ने मौका मिलेको छ । पाँच तेस्रो लिंगी उम्मेदवारहरुले आम निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

पाकिस्तानमा पहिलोपटक अल्पसंख्यक तेस्रो लिंगीहरुलाई चुनाव लड्ने अनुमति प्राप्त भएको हो । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार यस पटक स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नको लागि तेस्रो लिंगीहरुको सहयोग पनि लिइने छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment