Comments Add Comment

ब्राजिलियन गोलरक्षक एलिसन कीर्तिमानी मूल्यमा लिभरपुल जाँदै


३ साउन, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकममा इटालियन क्लब एएस रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाई भित्र्याउने भएको छ ।

रोमाबाटै गत सिजन लिभरपुल आएका इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहको उत्कृष्ट प्रर्दशनसँगै चौंथो स्थानमा रहँदै सिजन सकेको लिभरपुलले उपाधि जित्ने अभियानलाई सार्थक बनाउन उत्कृष्ट गोलरक्षक आवश्यक परेकाले उनलाई आवद्ध गर्न लागेको बताएको छ ।

हालै सम्पन्न विश्वकपमा समेत ब्राजिलले खेलेका सबै पाँच खेल खेल्दै तीन खेलमा कुनै पनि गोल नखाएका यी गोलरक्षकको लागि ६७ मिलियन पाउण्ड अर्थात ७५ मिलियन यूरो खर्च गर्न लिभरपुल तयार भएको हो ।

यो रकम गोलरक्षकको लागि कुनै पनि क्लबले तिरेको हालसम्मकै उच्च रकम हो । सन् २००१ मा जियानलुइजी बफोनको लागि युभेन्ट्सले पार्मालाई ५३ मिलियन यूरो तिरेको थियो ।

त्यस्तै गत सिजनमात्रै पि्रमियर लिग क्लब म्यानचेस्टर सिटीले बेनिफिकाबाट ब्राजिलियन गोलरक्षक एडरसनलाई भित्र्याउन ४० मिलियन यूरो खर्चिएको थियो ।

गत सिजन च्याम्पियन्स लिगको फाइनल खेलमा रियलमडि्रड विरुद्ध ३-१ को हार बेहोर्दा लिभरपुलले गोलरक्षक कौरियसको गम्भीर त्रुटीको कारण दुई गोल खाएको थियो । अन्य खेलहरुमा पनि जर्मनीका गोलरक्षक कौरियसले राम्रो प्रर्दशन गर्न नसकेपछि प्रशिक्षक जर्गेन क्लोप नयाँ गोलरक्षकको खोजीमा थिए ।

रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एलिसनले गत सिजन रोमामा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए त्यसैकारण क्लोप उनको लागि महंगो मूल्य चुकाउन तयार भए ।

लिभरपुलले यो सिजन प्रिमियर लिग जित्ने लक्ष्यको साथ खेलाडीहरु भित्र्याइरहेको छ । एलिसन भन्दा अगाडि नै नेबी केटा, फाबिन्हो र जेर्डान साकिरी एनफिल्डमा आइसकेका छन् । एलिसनले लिभरपुलसँग पाँच वर्षको लागि सम्झौता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment