Comments Add Comment

फिल्म समिक्षा :धोती खुस्किएको ‘पण्डित बाजेको लौरी’

फिल्म- पण्डित बाजेको लौरी

निर्देशक- दीपक वली

कलाकार– प्रविन खतिवडा, सन्ध्या केसी, विजय बराल, भोलाराज सापकोटा, प्रमोद अग्रहरी आदि ।

जनरा- सोशल ड्रामा

अवधी- दुई घण्टा

केही समययता नेपाली फिल्म प्रदर्शनको क्रम जसरी बढेको, उसैगरी चुपचाप थन्को पनि लाग्दै आएको छ । यो सिलसिला हरेक सुक्रवार जारी छ । अघिल्लो केही साता बलिउड फिल्म ‘सञ्जु’ले ठाउँ ओगटेको थियो, जसको रफ्तार अहिले धिमा भइसकेको छ । र, आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘धडक’ले नेपाली फिल्मको ‘स्पेश’ खाइदिन्छ भन्ने छैन, जो जान्भी कपुरको पहिलो फिल्म हो ।

श्रीदेवी पुत्री जान्भी र ईशान खट्टरलाई लिएर किशोर पुस्ताका लागि करण जौहरले निर्माण गरेको ‘धडक’ बलिउडको औसत फिल्म हो । तर, यो फिल्मसँग जुधेर आज (सुक्रबार)देखि प्रदर्शनमा आएका तीन नेपाली फिल्मले घरेलु दर्शक तान्ने सामथ्र्य राख्छ ?

कुरा गरौं, पण्डित बाजेको लौरी ।

यो फिल्ममा एउटा गजब अन्र्तसंघर्ष निर्माण गरिएको छ, बादी समुदाय र पण्डितबीच । फिल्मको परिकल्पना जसरी गरिएको छ, त्यो निकै घतलाग्दो छ । वादी समुदाय, जो १४ औ शताब्दीतिर भारतबाट नेपाल भित्रिएका थिए । ठूलाबढाका खातिर नाचगान गरेर, आफ्नो तन सुम्पिएर मनोरञ्जन दिलाउने परम्पराबाट गुज्रिदै आएका तिनै बादी समुदायको मर्मबाट फिल्मको तानाबाना बुनिएको छ ।

कस्तो छ कथा ?

फिल्मको कथा पण्डित ग्याङको आपसी द्वेष, दम्भबाट सुरु हुन्छ । पण्डित बाजे (प्रविण खतिवडा) द्वैध चरित्रका छन् । आवरणमा उनी गाउँकै प्रतिष्ठित पण्डित, भित्री रुपमा भने बादी मञ्जरी (सन्ध्या केसी)का नियमित ग्राहक ।

पण्डित घाम अस्ताउनु अघिसम्म पण्डित्याईं गर्छन्, घाम डुबेपछि मञ्जरीको ओछ्यानमा घुस्रिन पुग्छन् । उनको रात्री-चरित्र समाजलाई थाहा छैन ।
बादी मञ्जरी आफ्नै पतिको सामुन्ने पण्डितलाई शरीर सुम्पन्छन्, पैसाका लागि । मञ्जरीका पति बादी कान्छा (विजय बराल) मादल बनाउने, माछा मार्ने काम गर्छन् । अर्थात उसलाई जसरी हुन्छ पैसा कमाउनु छ । त्यही पैसाको चक्करमा उनले पत्नीको सौदावाजी गर्छन् । उनी चाहन्छन्, पत्नी सधै जवान रहोस् र परपुरुषसँग ओछ्यान साझेदार गरेर पैसा आर्जन गरिरहोस् । बादी मञ्जरी चाहन्छिन्, देहलाई पैसा छाप्ने मेशिन बनाइरहने होइन । बरु त्यसलाई मानविय मूल्य र मान्यता अनुरुप भोग गर्न गर्न पायोस् ।

एकातिर पति र पत्नीबीच यहि अन्र्तद्वन्द्व छ । अर्कोतिर पण्डित ग्याङ उनै मञ्जरीलाई भजाएर आफुभन्दा नामी पण्डितलाई फसाउने दाउपेचमा छन् । उता प्रवासबाट आएका एक झिल्के तन्नेरी (प्रमोद अग्रहरी) बादी उन्मुलनको नारा दिदै मञ्जरीलाई फसाउँने कृत्यमा लागेका छन् । यसरी सुरु हुने त्रिकोणात्मक द्वन्द्वसँगै फिल्म उत्कर्षमा पुग्छ ।

के छ राम्रो ?

फिल्मले उठान गरेको विषय घतलाग्दो एवं सुरुचीपूर्ण छ । अधिकांश कलाकर्मी माझिएका छन्, अभिनयमा प्रश्न गर्ने ठाउँ छैन । अन्य फिल्ममा देखिने एउटा कमजोरी यसमा छैन, गीत । फिल्ममा जम्माजम्मी दुई गीत छ, जसले कथालाई वेगवान बनाउन सहयोग गरेको छ । उपयुक्त सन्दर्भ जोडेर गीत पेश गरिएको छ । पाश्र्व ध्वनी र सिनेम्याटोग्राफीमा दोष दिने ठाउँ छैन ।

किन खुस्कियो धोती

‘पण्डित बाजेको लौरी’ जसरी परिकल्पना गरिएको छ, त्यस अनुरुप चोटिलो ढंगले प्रस्तुत गर्न सकिएको छैन । यहाँ आइपुगेपछि निर्देशक पोख्त नभई अभ्यासकै चरणमा छन् भन्ने प्रष्ट हुन्छ । फिल्मको सपाट कथालाई घतलाग्दो बनाउन जे-जति तानाबाना बुनिएको छ, त्यो कुनैपनि विश्वसनिय छैन । फगत हल्का मनोरञ्जन मात्र छ ।

बादीको कथा जोडेपनि त्यसको संवेदनालाई जुन तहमा गएर उधिन्न सकिन्थ्यो, त्यो पटक्कै गरिएको छैन । बादीको विवशता, आँशु, आकंक्षालाई दर्शकले भावनात्मक रुपमै अनुभूत गर्न सक्दैन । अन्य नेपाली फिल्मले झै यसले पनि पात्रलाई सही ढंगले स्थापित सकेको छैन । चरित्र अनुरुपको मनोविज्ञान एवं प्रवृत्ति पेश गर्न सकिएको छैन । सबै पात्रले स्क्रिप्ट राइटरकै भाषा बोल्छ, न कि आफुले निर्वाह गरेको चरित्रको । मञ्जरीको मेकअप हेर्दा, डायलग सुन्दा र बिचार बुझ्दा उनी बादी महिला भएर एउटा कमजोर पतिको आदेश कसरी शिरोधर गरिरहेकी छिन् ? आश्चर्यको कुरा हो ।

पण्डित बाजेको लौरी भनेर ‘लौरी’, ‘होम’ आदिलाई द्विअर्थी भाषामा प्रयोग गरी जसरी हँसाउने चेष्टा गरिएको छ, परिस्थिती भने सोही अनुरुप बुनिएको छैन । त्यसैले हास्नुपर्ने दृश्यमा पनि हाँसो फुत्किदैन ।

कथाका स-सना अवयवहरुलाई वेवास्ता गरिदिदा फिल्म खल्लो बन्न पुगेको छ । सुरुवातीमा हसाउँने र उत्कर्षतिर गंभिर बनाउने तानावान बुन्ने प्रयास त्यती शसक्त छैन ।

फिल्मको सेट, ड्रेसअप कृतिम लाग्छ । घरलाई थप लिपपोत गर्ने, नफाटेको लुगामाथि टालो टाल्ने झन्झट नगरेको भए अझ बेश हुने थियो ।
फिल्म एकदमै सतही छ । यसले न विषयवस्तुको गहिराई छुन्छ, न विश्वसनिय ढंगले कथालाई पेश नै गर्छ । बरु बढी नौटंकी देखाइन्छ । समग्रमा भन्नुपर्दा यो फिल्मले नेपाली फिल्मको संख्या थप्ने बाहेक अरु केही गर्नेवाला छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment