४ साउन, नयाँदिल्ली । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेका छन् । झण्डै एक घन्टा मोदीविरुद्ध खनिएका उनले सम्बोधन सकेपछि भने प्रधानमन्त्रीलाई अंकमाल गरेका छन् ।
लोकसभामा मोदीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि शुक्रबार भएको छलफलमा भाग लिँदै राहुलले प्रधानमन्त्रीले झुट मात्र बोलेको आरोप लगाए ।
चुनावका बेला २ करोड युवालाई रोजगारी दिन्छु भनेको तर, ५० हजारले मात्र पाएको उनले बताए । चीनले २४ घन्टामा ५० हजार युवालाई रोजगारी दिँदा मोदीले ४०० लाई मात्र दिन सकेको उनले बताए ।
उनले डिमोनिटाइजेशनको आलोचना गरे । उनले मोदीले आफूसँग आँखा जुधाएर हेर्नसमेत नसकेको बताएपछि भारतीय जनता पार्टीका सांसदहरुले हल्ला गरेका थिए ।
१० मिनेटको स्थगनपछि फेरि सुरु भएको बैठकमा उनले महिला सुरक्षामाथि पनि प्रश्न उठाए ।
सम्बोधन अन्त्यमा उनले भने, ‘तपाईमा मप्रति रिस छ । तपाईंका लागि म पप्पु हुँ, गाली दिन सक्नुहुन्छ । तर, ममा तपाईविरुद्ध रत्तिभर पनि रिस वा घृणा छैन किनकी म कांग्रेस हुँ ।’
मोदीको मनमा रहेको आक्रोस र घृणालाई निकालिछाड्छु भन्दै सम्बोधन अन्त्य गरेका उनी प्रधानमन्त्री नरेन्द्र मोदी भएको ठाउँमा गए र अंकमाल गरे । फर्किएर उनले भने, ‘हिन्दु हुनुको अर्थ हुन्छ कि तपाईममाथि जे सुकै हान्नुस् … म तपाईलाई अंकमाल गर्छु ।’
लोकसभाकी स्पीकर सुमित्रा महाजनले भने मोदीलाई अंकमाल गर्नुको अर्थ नबुझेको बताइन् । संसदको आफ्नो गरिमा हुने भन्दै त्यसमा बस्न आग्रह गरिन् ।
प्रतिक्रिया 4