Comments Add Comment

ओली र प्रचण्डको नाक थेप्चियो, उपचार गराउन्

'डा. केसीको जीवन ओलीले रक्षा गरिरहनुपर्दैन'


गोविन्द केसीको माग आम जनताको माग हो । यो सरकारले बुझेर पनि बुझ पचाइरहेको छ । याद रहोस्- लोकतन्त्रका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ठूला ठूला लडाइँ लडेर आएका व्यक्ति हुन् । उनीहरुले ज्ञानेन्द्रको सत्ताविरुद्ध लडे । तर, आफैँले त्यो भन्दा बढ्ता तानाशाहीको अभ्यास गर्न खोज्दैछन् । यो शाही सरकार ज्ञानेन्द्रको फौजी शासनभन्दा फरक रहेन ।

अहिले डा. केसीको सत्याग्रहलाई कांग्रेसको ट्याग लगाइँदैछ । हामी कसैबाट सञ्चालित छैनांै । इतिहासका ठूला-ठूला जनअधिकारका लडाइ लडेर आएकाहरुले यो बुझ्नुपर्छ, म डा.केसीको जीवन रक्षाको भिख माग्न आएको होइन । केसी सन्त हुनुहुन्छ । उहाँ अमर भइसक्नुभयो । कसैले भिख माग्न परेको छैन । उहाँ भयभन्दा माथि हुनुहुन्छ ।

मेरा पुराना कमरेडहरुलाई विगतका नाक जोगाउ भन्न आएको हुँ । यो सरकार ४ महिना बित्न नपाउँदै ज्ञानेन्द्रको फौजी शासनभन्दा कम भएको छैन ।

डा. केसी सन्त हुनुहुन्छ । सामाजिक मुद्दाका लागि लडिरहनुभएको छ । केसीले अगाडि सारेका जे-जति मागहरु छन् । ती वास्तवमा नेपालीहरुका माग हुन् । ती मागहरु समाजवादतर्फ डोर्‍याउने मागहरु हुन् । तर, आफूलाई समाजवादी भन्नेहरु केसीको मागलाई अपराधका रुपमा लिइरहेका छन् । अस्पतालमाथि आक्रमण गरिन्छ । अस्पतालमा गोली चलाइन्छ । र सत्याग्राही सन्त केसीलाई अपहरणको शैलीमा पक्राउ गरिन्छ । के सरकार मरेको देख्न चाहन्छ ? वास्तवमा यो सजिलो कुरा होइन ।

डा. केसीको जीवन ओलीले रक्षा गरिरहनुपर्दैन । उहाँ त्यसै अमर हुनुहुन्छ । ओली र पुष्पकमल दाहालको नाक नैतिकरुपमा धेरै नै थेप्चिएको छ । त्यसैले डा. केसीको माग पूरा नभई यो आन्दोलन रोकिँदैन

बितेको एक महिनाको बीचमा ओली सरकार आम नेपालीको बीचमा जति लोकपि्रय थियो, त्यसबाट निक्कै खस्किएको छ । बदनाम भएको छ । इतिहासमा ओली सरकारजति यति छिटो बदनाम अरु कुनै भएको थिएन । र, हुँदैनन् पनि ।
ओली भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्नुहुन्थ्यो । तर, योबीचमा के गरिरहनुभएको छ ? सबैले देखेका छन् । उहाँ अहिले आफूलाई राजाजस्तो ठानिहनुभएको छ । ओली सरकारका मन्त्रीहरुको बदनाम त्यस्तै छ ।
हामीलाई अवज्ञा आन्दोलन गर्ने अधिकार छैन । हामीलाई मण्डलामा उभिने अधिकार छैन । यस्तो त ज्ञानेन्द्रको तानाशाही फौजी शासनमा मात्रै भएको थियो ।

मेरो निवेदन के हो भने ओली र प्रचण्डले आफ्नो इतिहासलाई याद गरुन् । चुनावमा जाँदाखेरि जनताले गरेका आशा र आफूले गरेका प्रतिवद्धता सम्भिmउन् । अहिले आफैं माफियाको दलालका रुपमा नउभिउन् । आफैं चिकित्सा क्षेत्रमा व्यापारीकरणका लागि उभिएर यसरी नाक ताछ्ने काम नगरुन् । ओलीजी र प्रचण्डजीले पहिले आफ्नो नाकको उपचार गरुन् ।

कदाचित केसीको ज्यान तलमाथि भयो भने के हुन्छ ? मलाई थाहा छैन । महाराज ज्ञानेन्द्रलाई थाहा छ । केसीका मागप्रति वेवास्ता गरिरहँदा ओली र पुष्पकमल दाहालको सरकारले सर्वसत्तावाद लाद्ने चेष्टा गरिरहेको देखिन्छ । सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर राणा शासन हाँक्न खोज्दैहुनुहुन्छ । ज्ञानेन्द्रको के नियति भयो, ओलीजी को पनि त्यही हुनेछ ।

डा. केसीको जीवन ओलीले रक्षा गरिरहनुपर्दैन । उहाँ त्यसै अमर हुनुहुन्छ । ओली र पुष्पकमल दाहालको नाक नैतिकरुपमा धेरै नै थेप्चिएको छ । त्यसैले डा. केसीको माग पूरा नभई यो आन्दोलन रोकिँदैन ।

(शनिबार नयाँ बानेश्वरमा आयोजित नागरिक अगुवाहरुको कार्यक्रममा लेखक संग्रौलाले गरेको संक्षिप्त भाषणको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment